News 24 Television
‘जनताको राउन्ड किक’ ओलीले देख्लान् ? सरकारविरुद्ध संघर्षमा माओवादी

काठमाडौँ । सत्ताबाट अप्रत्याशित रुपमा च्युत भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय अनेक तानाबाना बुनिरहेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट नराम्रोसँग धोका पाएका प्रचण्ड अहिले ओलीविरुद्ध खरो उत्रिएका छन् । गत असारमा प्रचण्ड सरकार ढालेर आफू प्रधानमन्त्री बनेका ओली पनि एक–दुई महिना प्रचण्डप्रति नरम नै देखिएका थिए । तर पछिल्लो समय ओली प्रचण्डविरुद्ध आक्रामक देखिएका छन् । शनिबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई १७ हजारको हत्या आफूले नगरेको भन्दै आफूलाई उपदेश या चेतावनी नदिन प्रचण्डलाई जवाफ दिएका थिए । नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था आउने भन्दै अघिल्लो दिन प्रचण्डले सरकारलाई चेतावनी दिएका थिए ।
 
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले बंगलादेश र श्रीलङ्काको घटनाबाट पाठ सिक भनेर अर्ती, उपदेश दिएकोमा ओली आक्रोशित देखिन्थे । उनले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? भन्दै प्रचण्डतिर नै प्रश्न फर्काए । आफूले लुटपाट पनि नगरेको र बंगलादेशको शासकजस्तो भाग्नुपर्ने अवस्था पनि नरहेको ओलीको भनाइ थियो । उनले उल्टै प्रचण्डलाई नै बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक्न आग्रह गरे । नेपालमा बेथिति चलाउन नसकिने भन्दै ओलीले बंगलादेशमा जे भयो त्यही नेपालमा नहुने, नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताए । माओवादीहरूले हिंसा गरेको भन्दै उनले अब कुनै पनि प्रकारको हिंसा नेपालमा सम्भव नभएको बताएका थिए ।

ओलीले पार्टी पोटिलब्युरो बैठकमा ठगी, बेइमानी र जालझेलबाट जोगाउन प्रचण्डलाई ‘राउन्ड किक’ हानेर सरकारबाट लखेटेको अभिव्यक्ति दिएपछि प्रचण्ड झन् चिढिएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै प्रचण्डले अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनीहरूले देख्नेछन् भनेर ओलीलाई जवाफ फर्काएका छन् । प्रचण्डको नेतृत्वमा भएको १० वर्षे माओवादी सशस्त्र संघर्षलाई ओली र एमाले नेताहरूले ‘हिंसा’ भन्दै होच्याइरहेका छन् । यस कुराको समेत प्रचण्डलगायत माओवादी नेताहरूले प्रतिवाद गर्दै आएका छन् । प्रचण्डले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधान विपरीत तथा जनयुद्धको अपमान हुने खालका अभिव्यक्तिहरूको भण्डाफोर गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । शहिदहरूको बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानपूर्ण सङ्घर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको भन्दै त्यस्ता क्रियाकलापको भण्डाफोर गर्न उनले निर्देशन दिएका हुन् ।

जनयुद्धलाई संविधानले नै ‘सशस्त्र सङ्घर्ष’ भनी स्वीकारेकाले संविधानको व्याख्या विपरीत बोल्ने छुट एमाले नेताहरूलाई नभएको प्रचण्डको भनाइ छ । त्यही संविधानमा हस्ताक्षर गर्ने ओली लगायत नेताहरूले अहिले जनयुद्धलाई हिंसा, हत्या, आतङ्क भनेर होच्याएपछि यस विषयलाई जनतामा लैजानुपर्ने उनले बताए । माओवादीले ओली नेतृत्वको सरकार झनै भ्रष्ट रहेको निष्कर्षसहित संघर्ष चर्काउने तयारी समेत गरिरहेको छ । संसदमा प्रमुख प्रतिपक्ष रहेको माओवादीले सरकारविरुद्ध सदन र सडकबाट संघर्ष गर्ने तयारी भइरहेको बताएको छ । मंगलबार पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा ओली सरकार लागिपरेको जिकिर गर्दै त्यसविरुद्ध सदन र सडक दुवै संघर्षलाई चर्काउने बताएका थिए । संविधान संशोधनका नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोस्ने चेष्टा गरेकाले त्यसको विरुद्ध जनस्तरबाटै प्रतिवाद गर्ने नीति पार्टीले लिएको उनको भनाइ थियो ।

उता, एमाले–काँग्रेसका नेताहरूले भने प्रचण्डमा सत्ताच्युत हुनुपर्दाको छटपटी र कुण्ठा देखिएको भन्दै उनका गतिविधिले सत्ता गठबन्धन नहल्लिने बताइरहेका छन् । टीआरसी विधेयक पारित गराउँदा सम्म एक–अर्काप्रति नरम देखिएका ओली–प्रचण्ड पछिल्लो समय भित्तामै पु¥याउनेगरी कुर्लन थालेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update