News 24 Television
मेयर बालेनलाई एमाले सांसदको आग्रह- 'जनतालाई मर्का पर्ने काम नगर्नुस्'

काठमाडाैँ । सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडांै महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले जनताको हितमा काम गर्न मेयर शाहलाई सुझाव दिए । काठमाडौंमा थुप्रै विद्यालयहरुको नाम अंग्रेजीमा रहेकामा त्यसलाई नेपालीमा राख्ने भनी मेयर साहले शुरु गरेको अभियान कहाँ पुग्यो ? भनी सांसद पन्तले प्रश्न समेत गरे ।

काठमाडौंका विद्यालयहरुको नाम अंग्रेजीमा राखिनु कानून विपरित भएकाले त्यसलाई नेपालीमा राख्ने अभियान राम्रो भए पनि मेयर शाहले त्यसलाई निरन्तर रुपमा अघि बढाउन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । साथै सांसद पन्तले काठमाडाैँको नदी किनारमा थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसला पुनरावलोकनमा जाने सरकारको तयारीको स्वागत पनि गरे । 

उनले भने, ‘काठमाडौं महानगरपालिकाका मेयरजीलाई पनि के आग्रह गर्न चाहन्छु भने–जनताको हितमा कदम चाल्नुस् । राम्रो कुरा गर्नुहोस् न । काठमाडाैँ महानगरपालिकाको मेयरले राम्रो काम गर्नुभयो भने त राम्रै भनिन्छ नि । उहाँले एउटा काम शुरु गर्नुभएको थियो–कहाँ पुग्यो थाहा छैन कि यो पेन्टागन जस्ता अनेकथरी नाम राख्ने थुप्रै स्कुलहरु छन । तिनीहरुको नाम नेपालीमा राख्नुपर्यो भनेर । कानून अनुसार गर्नुपर्ने त त्यही हो । त्यसलाई लागू गर्ने भनेको सुनिएको थियो । त्यो कहाँ पुग्यो ? त्यस्ता कुराहरुलाई पूर्णतामा पुर्याउनुस् । राम्रो छ । त्यो गर्नुपर्ने काम हो । तर यो जुन काम गर्दा जनतालाई मर्का पर्छ, त्यो काम गर्नुहुँदैन ।’
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update