काठमाडाैँ । सत्तारुढ दल नेपाली काँग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ । बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैँ राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बैठकले सत्तारुढ दलहरुको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताए । उनले अनधिकृत रुपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरुलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राजदूतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निस्कर्ष निकालेको बताए ।
अर्को देशको राजदुतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गरेकाेले उपसभामुख आफैँले राजीनामा दिनुपर्ने काँग्रेसको निस्कर्ष छ । उपसभामुखले पत्र लेखेर कुटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ले र गर्नैपर्ने भए सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने घिमिरेले बताए ।
'संसदको उपसभामुख जस्तो पदमा बसेर त्यो व्यवहार गर्नु अत्यन्तै अनुचित थियो,' प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले भने, 'यो फागुनतिर भएको हो, साउनमा बाहिरियो । त्यो बेला पनि कुरा उठेर सेलायो । अहिले जोडदार रुपमा प्रश्न आयो । त्यो विषयमा छलफल गर्नुपर्ने आवश्यकता प¥यो र हामीले पनि छलफल गरेका छौँ । यो विषयमा कसरी जाने भन्नेकुरा संसदीय दलको बैठक बसेर हामी पार्टीको निर्णय लिन्छौँ । सत्तारुढ दलहरुसँग छलफल गरेर पनि सत्तारुढ दलहरुबाट साझा धारणा बनाउँछौँ । उहाँले आफैँले राजीनामा दिनुपर्छ । उहाँमाथि गम्भीर प्रश्न उठेको हो । यो चानचुने प्रश्न होइन । एउटा अर्को देशसँगको सम्बन्ध, अर्को देशको राजदुतावासको सम्बन्धका विषयलाई लिएर उहाँले गर्नै नहुने काम गर्नुभयो । उपसभामुखले लेखेर कुटनीतिक नियोगलाई त्यस्तो सिफारिस गर्नै मिल्दैन । गर्नैपर्ने भएदेखि उहाँको सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने हो । यसले संसदलाई नै अपमानित गरेको छ । यो विषय गम्भीर छ, यसले मुलुकको शिर झुकाएको छ । मुलुकलाई पनि अपमानित गरेको छ भन्ने काँग्रेसको बुझाइ छ । यो सबै प्रक्रियामा जानु भन्दा उहाँले आफैँले बुझेर मार्ग प्रशस्त गर्नु, बहिर्गमनको बाटो रोज्नु जायज हुन्छ ।'
प्रमुख सचेतक घिमिरेले काँग्रेस उपसभापति धनराज गुरुङको विषयमा पनि बैठकमा कुरा भएकाे बताए । उनले छानबिनबाट दोषी ठहर भए कारबाही भोग्ने र त्यसको छानविन गराउन काँग्रेस तयार रहेको बताए ।
