काठमाडाैँ । गत भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको 'हिंसा' भन्ने शब्द असंसदीय शब्द नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने भएको छ । तर उक्त शब्द नहटाएपछि माओवादी सांसदहरुले संसद अवरोध गरेका छन् ।
संविधानले नै जनयुद्धलाई सशस्त्र संघर्ष भनेको छ तर संसदमा उक्त जनयुद्धलाई ‘हिंसा’को रुपमा व्याख्या गरिएको भन्दै माओवादीले बुधबार संसद बैठक अवरुद्ध गरेको हो ।
विपक्षी दल माओवादीले संसद बैठक अवरुद्ध गर्दा सभामुख देवराज घिमिरेले बैठक सञ्चालनमा सहयोग गर्न पटक पटक आग्रह गरे । तर माओवादीले हिंसा शब्द रेकर्डबाट हटाउन माग गर्दै अवरोध कायम राखेपछि सभामुखले बैठक स्थगित गरेका छन् । अब अर्को बैठक भदौ ३० गते बस्नेछ ।
सभामुख घिमिरेले सांसद भट्टराईले भाद्र १२ गते बोलेको हिंसा भन्ने शब्द अंसदीय नभएको ठहर भएको र हटाउन जरूरी नरहेकाे बताए । उनले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताए ।
सभामुखले भने, ‘२०८१ साल भाद्र १२ गतेको प्रतिनिधि सभा बैठकमा माननीय योगेश कुमार भट्टराईले विशेष समयमा बोल्ने क्रममा हिंसा भन्ने शब्द प्रयोग गर्नुभएकोमा सो शब्द असंसदीय रहेकोले संसदको अभिलेखबाट हटाइयोस् भनि नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक माननीय हितराज पाण्डेसहितका माननीय सदस्यहरुले विषय उठान गर्नुभएकोमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई बिचार गर्दा उक्त हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा संसदको अभिलेखबाट हटाउनु नपर्ने व्यहोरा जानकारी गराउँछु । साथै पछिल्ला बैठकहरुमा कतिपय सन्दर्भमा प्रतिकात्मक शब्द प्रयोग गर्दापनि नियमापत्ति गर्ने र शब्दमा बहश हुने गरेको पाइएको छ । माननीयज्युहरुलाई संसदमा प्रश्तुत हुँदा शब्द चयनमा सचेतता अपनाउन आग्रह गर्दै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ को व्यवस्था स्मरण गराउन चाहन्छु ।’
उनले पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरुलाई संसदमा प्रस्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङ समेत गरेका छन् ।
