News 24 Television
सुवास नेम्वाङको नाममा प्रतिष्ठान बनाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् ।

बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । उनले सुवाषचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरुलाई पछ्याएर उनको सम्झनामा केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने बताए ।

प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पारे । प्रतिष्ठान बनायो छोड्यो गर्ने नभएर नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशील इच्छा-आकंक्षा र प्रवृत्तिअनुरुप हुनुपर्नै बताए । नेताहरुका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि उनले बताए ।

पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजी सम्पत्तिझैँ लगेको उनकाे भनाइ छ । उनले पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेताहरुको नाममा प्रतिष्ठान, विद्यालयहरु खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने समेत बताए । उनले प्रतिष्ठानहरु कसैलाई कब्जा गर्न नदिइने बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update