काठमाडौं । वर्षायायाममा फैलने किटाणुजन्य रोगको जोखिम पछिल्लो समय ह्वात्तै बढेको छ । हाल डेंगी संक्रमणसंगै जापानीज इन्सेफलाइटिस जे.ईको चुनौति पनि थपिएको छ ।
लामखुट्टेको टोकाइबाट नै लाग्ने जेको संक्रमणका कारण ज्यान गुमाउँनेको सख्या पनि बढेको देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष संक्रमित संख्या कम देखिएपनि मृत्यु हुनेको सख्ंया भने बढेको छ । मनसुनको समयमा देखापर्ने जापानीज इन्सेफलाइटिसको संक्रमण कस्तो रोग हो ? र, जोगिन के गर्ने त ?
जापानिज इन्सेफलाइटिस जे.ई मानिसको मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक गम्भीर रोग हो । संक्रमित सुँगुरलगायतका जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई पनि टोकेपछि जापानीज इन्सेफ्लाइटिस सर्ने गर्छ । विश्वमा हरेक वर्ष ५० हजार भन्दा बढीलाई यो संक्रमण हुने गरेको तथ्यांक छ ।
संक्रमितमध्ये १० देखि १५ हजारको बर्सेनि ज्यान जाने गरेको तथ्यांकले देखाउँछ । नेपालमा पनि पछिल्लो समय यसको संक्रमणबाट मृत्यु हुनेको सख्ंया बढेको देखिन्छ । गत वर्ष संक्रमित संख्या १ सय ७ हुदाँ मृत्यु हुनेको संख्या ७ रहेको थियो । तर यो वर्ष वर्ष मनसुन सुरु भएयता मात्रै यो संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । सरकारी तथ्यांक अनुसार भदौे २७ गतेसम्म यसका संक्रमितको संख्या ६१ रहेको छ ।
नेपालमा धेरैजसो जापानिज इन्सेफलाइटिसविरुद्धको खोप नलिएकाहरू प्रभावित भएका देखिन्छन् । यो रोग लागिसकेपछि निको नहुने र लागेकामध्ये ३० प्रतिशतको मृत्यु हुने जोखिम हुन्छ । तर यो रोगविरुद्धको खोप लिएमा यो रोगको जोखिम भने रहदैन । नेपालमा यो संक्रमणविरुद्धको खोप नलगाएकाहरु संक्रमित भएको र मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयको भनाई छ । संक्रमित हुनेमा बढिजसो १५ वर्ष भन्दा कम उमेरका छन् । जापानीज इन्सेफ्लाइटिस रोग क्युलेक्स जातको पोथी लामखुट्टेबाट सर्ने गर्दछ ।
जापानिज इन्सेफलाइटिसबाट स्वास्थ्यमा पर्ने असर :
- यसको भाइरसले मुख्यतया मस्तिष्कलाई असर गर्छ
- ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखिने
- गम्भीर असर पारेमा कोमामा जाने
- जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुने दर २२.९५ %
बच्ने उपायहरु :
- जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाउँने
- लामखुट्टेको टोकाइबाट बच्ने
- घरवरपर सरसफाई गर्ने तथा पानी जम्न नदिने
- लामखुट्टेको वृद्धि विकास रोक्ने
सरकारी तथ्यांक अनुसार हाल यो संक्रमणबाट मृत्यु हुने जिल्लाहरुमा कैलाली, कपिलवस्तु, सुनसरी, सर्लाही, पाल्पा, चितवन, सिन्धुली, लगायत १० जिल्ला रहेका छन् ।
