News 24 Television
प्रधानमन्त्री ओलीको ‘ठट्यौंली, झोक र भोक’ को प्याकेज  

काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर शक्तिशाली बन्ने प्रयासमा छन् । सत्ताको नेतृत्व गरिरहेका ओलीले ‘मिसन ०८४’ भन्दै प्रतिपक्षमाथि खरो टिप्पणी गरिरहेका छन् । आफूविरुद्ध आवाज उठाउनेमाथि निर्मम पेश हुने ओलीले एकल बहुमतको चर्चामा समेत  समय खर्चिन थालेका छन् । 

नेकपा एमाले मिसन ०८४ भन्दै चुनाव सम्पन्न भएको केहि समयमै देश दौडाहामा निस्कियो । पार्टीलाई एकल बहुमत ल्याउने गरि तयार गर्नुपर्ने भन्दै आएको एमालेका नेताहरु प्राय आक्रामक पेश हुने गर्छन् । 

त्यसमा पनि अध्यक्ष केपी ओलीले सामान्य विषयमा समेत आफै छुद्र टिप्पणी गर्नेदेखि स–साना विषयमा समेत अभिव्यक्ति दिन्छन् । यो क्रम ओलीले शनिबार पनि निरन्तरता दिए । उनी पुनः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनबारे रोचक टिप्पणीमा उत्रिए ।

ओलीले बालेनलाई कटाक्ष गर्दै अराजक केटो भनिदिएका छन् । अनेक विषयमा ज्ञान राख्ने ओली टिप्पणीमा भने छुद्र व्यवहार देखाउने व्यक्ति भएको टिप्पणी राजनीतिक वृतमा चर्को नै हुने गर्छ । तरपनि, प्रतिपक्षीविरुद्ध कुनै कसर बाँकी नराखि निर्धक्क बोलिदिन्छन् ओली । 

माओवादी केन्द्रलाई ४÷५ लाख मत ल्याएर राष्ट्रिय पार्टी बन्नसक्ने भविष्यबाणी समेत गरिदिएका ओली राजतन्त्रको पक्षमा चल्ने बहस हुन् वा राजनीतिक गतिविधि नै किन नहुन, आफुलाई लागेको बोल्छन् । पछिल्लो समय राजतन्त्रबारे अनौठा गतिविधि हुन थालेको भन्दै उनले दिक्दारी समेत पोखेका छन् । 

ओली र एमाले पंक्ति प्रतिपक्षलाई हदैसम्मको टिप्पणी गर्ने गरि अघि बढ्दा पछिल्लो समय माओवादी केन्द्रसँग सम्बन्धमा ठूलो दरार सिर्जना हुन पुगेको छ । एमाले पंक्तिले माओवादी १० वर्षे सशस्त्र युद्धलाई हिंसा भनिदिएपछि माओवादी थप क्रुद्ध बनिरहेको छ । माओवादी केन्द्रले हिंसा भन्ने शब्दलाई संसदको रेकर्डबाट हटाउने बटम लाइन नै बनाएको छ । 

ओलीले कांग्रेससँगको सहकार्यलाई घनिभूत बनाउन उपसभामुखमाथि राजनीतिक कारबाहीदेखि अन्य विषयमा निशाना ताक्न थालेपछि राजनीति तरङ्गित बनेको छ । तर, ओलीले पुरा शक्ति लगाएर भएपनि एमाले र आफूलाई स्थापित गराउने गरि प्रयास भने थालेका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update