News 24 Television
सहकारी ठगीबारे प्रतिवेदन लेखन अन्तिम

काठमाडौं । सहकारी ठगीबारेमा छानबिन गर्न भन्दै गठन भएको संसदको विशेष समितिले प्रतिवेदनको कामलाई अन्तिम रुप दिने तयारी गरेको छ । छानबिनको समय गुज्रिएपछि थप एक साताको समय पाएको समितिले प्रतिवेदन लेखनको कामलाई अन्तिम रुप दिन लागेको हो । 

सहकारीको वचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले प्रतिवेदन लेखनको कामलाई अन्तिम रुप दिने तयारी गरेको छ । विभिन्न २९ वटा सहकारी संस्थाहरुको बारेमा अध्ययन गर्ने कार्यादेश पाएको समितिले ती सहकारीसँग सम्बन्धित ब्यक्तिहरुका साथै विभिन्न पक्षसँग छलफल गरी प्रतिवेदन लेखनको काम अघि बढाएको हो । 

सरकारबाट समस्याग्रस्त घोषित गरिएका शिवशिखर, लालिगुराँस, कान्तिपुर सेभिङ लगायत २० वटा सहकारी संस्थाका साथै छानबिनको दायरामा ल्याएका थप ९ वटा सहकारीकोबारेमा अध्ययन गर्ने कार्यादेश समितिलाई छ । तर कतिपय सहकारी ठगीमा संलग्न भनिएकाहरु विदेशमा रहेकाले उनीहरुकोबारेमा समिति अनभिज्ञ छ । 

त्यसैले समितिले गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दवाडी र प्रहरी प्रमुख बसन्त कुवँरलाई बोलाएर फरार ब्यक्तिको खोजी कार्यको प्रगति विवरण पनि मागेको छ । 

रास्वपा सभापति लामिछानेसँग जोडिएका जिबी राई, भरत महर्जन लगायत २७ जना विदेशमा फरार रहेको गृह प्रशासनले जनाएको छ । समितिले पूर्व गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसँग पनि झण्डै चार घण्टासम्म सहकारीबारे सोधपुछ गरेको थियो । लामिछाने मुछिएको सहकारीमा भएको रकम अपचलनबारेसमेत अध्ययन गरेर प्रतिवेदन तयार गर्ने कार्यादेश भएकाले समितिले सोधपुछ गरेको हो । 

सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा पैसा आएको बारेमा तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले इन्कारी बयान दिएका छन् । तर त्यससम्बन्धमा पनि प्राप्त कागजात उल्लेख गरेर समितिले प्रतिवेदन तयारीको काम गर्दैछ । प्रतिवेदनलाई अन्तिम रुप दिनकै लागि शुक्रबार पनि समितिमा छलफल भएको थियो । 

समितिले भदौ ३१ गते प्रतिवेदन बुझाउने गरी तयारी गरिरहेको छ । प्रतिवेदनलाई अन्तिम रुप दिनकै लागि शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि समितिले छलफल गरेको छ । सहकारी ऐन २०७४ जारी भएपछि सरकारले समस्याग्रस्त सहकारी ब्यवस्थापन समिति गठन गरेको थियो । 

समिति अध्यक्षहरु पटक पटक फेरिए पनि समस्या समाधान हुन सकेको छैन । तर सहकारीमा रविको संलग्नता जोडिएपछि मात्रै राजनीतिक दाउपेचकै कारण दलहरु संसदीय समिति बनाएर छानबिनमा जुटेका हुन् । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update