झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीलाई जोगाउन रातारात षड्यन्त्रमूलक ढंगले आफू नेतृत्वको सरकार ढालेको बताएका छन् ।
आईतवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसारमा सामान्य रुपमा हुँदै नहुने कुरा गरेर रातारात सरकारबाट आफूलाई हटाएको बताए । उनले संसारमा कतै पनि संसदका दुई ठूला दल मिलेर सरकार बनाउने परिपाटी नरहेकाे भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि काँग्रेस र एमाले मिलेको आरोप लगाए ।
उनले नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरुलाई पक्राउ गरेपछि र गिरिबन्धु टि-स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको जिकिर गरे ।
उनले भने, ‘जब नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरु फरार थिए, ति फरार अभियुक्तहरु गिरफ्तार गरिएपछि र गिरिवन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु, सुई बुढानिलकण्ठ र बालकोटतिर सिधै सुझियो । दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बुढानीलकण्ठतिर । र रातारात षड्यन्त्रमुलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो ।’
पूर्व प्रधानमन्त्री प्रचण्डले गिरिबन्धु टिस्टेटमा केही दिनसम्म नेकपा एमाले र नेपाली काँग्रेसबीच आरोप-प्रत्यारोप लगाइएको भए पनि भ्रष्टाचारीलाई बचाउन दुई दल रातारात मिलेको दाबी गरे ।
