News 24 Television
अप्पर कर्णाली बन्ने भयो, नेपाललाई हुने छन् यस्ता फाइदा

काठमाडौं । लामो समयदेखि निर्माण गरिने भनिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण हुने आशा पलाएको छ । भारतीय नीजि कम्पनी ग्रान्धी मालिकार्जुन राव जिएमआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि दुई भारतीय सरकारी कम्पनीलाई पनि आवद्ध गराएको छ । 

जिएमआरले माथिल्लो कर्णाली निर्माणका लागि सेयर साझेदारका रूपमा भारतीय सरकारी कम्पनीहरू सतलज जलविद्युत् निगम र इन्डियन रिन्युएबल इनर्जी डेभलपमेन्ट एजेन्सीलाई साझेदार बनाएसँगै यो आयोजना निर्माणले सार्थकता पाउने देखिएको हो । 

दुवै सरकारी कम्पनीलाई जिएमआरमार्फत् लगानी गर्न भारतको विद्युत मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । करिब १ दशककदेखि आयोजना निर्माण कुनै उल्लेखनीय प्रगति हुन नसकेको माथिल्लो कर्णालीमा भारतीय सरकारी कम्पनी नै साझेदार बनेपछि यसले नेपालमा सकरात्मक चर्चा पाएको छ । 

अछाम जिल्लाको कर्णाली नदिमा ९ सय मेगावाटको यो वृहत आयोजनामा लगानी जुटाउन, भारत हुँदै बंगलादेश निर्यात गर्न र केही विद्युत भारतलाई नै बेच्ने भन्नेमा निष्कर्षमा पुग्न नसक्दा निर्माण कार्यमा अलमल हुँदै आएको थियो । यो आयोजनाबाट उत्पादन हुने विद्युत मध्ये ५ सय मेगावाट बंगलादेश निर्यात गर्ने जिएमआरको तयारी छ । 

आयोजनाबाट नेपाललाई के फाइदा ? 

अप्पर कर्णाली आयोजनाका लागि सन् २०१४ मा नेपाल सरकार र जिएमआरबीच पीडीए अर्थात परियोजना विकास सम्झौता भएको थियो । तर पिडिए भएको दुईसम्म पनि जिएमआरले लगानी जुटाउन नसकेपछि सरकारले २०१८ सेप्टेम्बरसम्मका लागि म्याद थपि दिएको थियो । 

यसरी पटकपटक म्याद थप हुँदै आएको आयोजनामा जिएमआरले लगानी जुटाउन साझेदार भित्राएपछि भने यो आयोजना निर्माणको चरणमा पुगेको हो । आयोजनाबाट नेपाल विद्यूत प्राधिकरणले २७ प्रतिशत निशूल्क सेयर स्वामित्व पाउनेछ भने अतिरिक्त सेयरका रुपमा १२ प्रतिशत उर्जा अर्थात १ सय ८ मेगावाट विद्यूत पनि निशूल्क पाउने छ । 

दुई भारतीय सरकारी कम्पनी समेत आवद्ध भएपछि अप्पर कर्णालीमा जिएमआरको ३४ प्रतिशत, सतलज जलविद्युत् निगमको ३४ प्रतिशत र इन्डियन रिन्युएबल इनर्जी डेभलपमेन्ट एजेन्सीको ५ प्रतिशत सेयर स्वामित्व हुनेछ । 

यस आयोजनाबाट उत्पादिन विद्युतमध्ये जिएमआरले ५ सय मेगावाट बंगलादेश निर्यात गर्नेछ भने बाँकी ४ सय मेगावाटमध्ये २ सय ९२ मेगावाट भारत निर्यात हुनेछ । आयोजनाको संशोधित लागत एक खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ । जिएमआरले २०८१ साल माघ ३ गतेभित्र आयोजनाको वित्तीय व्यवस्थापन र पिपिए गरि सक्नुपर्नेछ । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update