काठमाडौँ । गत वैशाख २८ गतेबाट प्रारम्भ भएको संसदको संसदको चौंथो अधिवेशन १ सय ३० दिन चलेर अन्त्य भएको छ । यो अवधिमा प्रतिनिधिसभाबाट उत्पत्ति भएको ५ र राष्ट्रियसभामा उत्पत्ति भएका ६ वटा विधेयक पारित भएका छन् । सोमवारको संसद बैठकसँगै संसदको चालु अधिवेशन पनि अन्त्य भएको छ । यो अधिवेशनका क्रममा संघीय संसदको दुवै सदनको उपलब्धी के रह्यो ?
गत बैशाख २८ गतेदेखि प्रारम्भ भएको संघीय संसदको चौथो अधिवेशन सोमवारदेखि अन्त्य भएको छ । १ सय ३० दिन सम्म चलेको संसदको यो अधिवेशनमा महत्वपूर्ण चालु आर्थिक वर्ष २०८१/८२ बजेट पारित भयो । यस्तै, बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) संघीय संसदको दुवै सदनबाट पारित भएको छ । संक्रमणकालिन न्याय सम्बन्धिको यो विधेयक पारित हुनुलाई प्रमुख राजनीतिक दलहरुले महत्वपूर्ण उपलब्धीका रुपमा लिएका छन् ।
प्रतिनिधिसभामा ८ वटा सरकारी र १ गैरसरकारी विधेयक दर्ता भएको मध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित हुनुका साथै ३ वटा विधेयक समितिमा विचाराधिन अवस्थामा रहेको छ । राष्ट्रियसभाबाट प्राप्त १० वटा विधेयक मध्ये ४ वटा विधेयक पारित गरी फिर्ता पठाइनुका साथै विधायन विधेयक सम्बन्धि समितिको प्रतिवेदन सभामा पेश भएको छ भने ४ वटा विधेयक सम्बन्धित समितिमा विचाराधिन रहेको छ । राष्ट्रियसभा सम्बन्धि विधेयक सभामा प्रस्तुत मात्रै भएको छ ।
संसदको चौंथो अधिवेशन अन्तर्गत राष्ट्रियसभामा १० वटा वैठक बसेको छ । यस अधिवेशन अवधिमा राष्ट्रिय सभामा दर्ता भएका मिडिया काउन्सिल विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ भने सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई पारित गरी प्रतिनिधि सभामा पठाएको थियो ।
यसै अधिवेशन अवधिमा नेपाल विश्वविद्यालय विधेयक २०७९ र सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ दुवै सभाबाट पारित भई प्रमाणीकरणको लागि पठाएको छ । यस्तै, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९, विनियोजन विधेयक, २०८१, आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक २०८१ संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरण भएको छ ।
१४ सांसद लगातार १० पटक अनुपस्थित
प्रतिनिधिसभाको वर्षे अधिवेशनमा १४ जना सांसद भने लगातार १० पटक सम्म अनुपस्थित रहेका छन् । सांसदहरु गीता बस्नेत, मनोरम शेरचन, अम्बिका बस्नेत, राजु थापा, नारायण खड्का, प्रकाशमान सिंह, सुनिलकुमार शर्मा, कान्तिका सेजुवाल, बसन्तकुमार नेम्वाङ, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्ट, दीपक बोहोरा कालुराम राई र एनपी साउद लगातार १० पटकसम्म अनुपस्थित रहेको सभामुख घिमिरे जानकारी दिए । लगातार अनुपस्थित हुने सांसदहरूले स्वास्थ्य उपचार, विदेश भ्रमण लगायतका कारण पेस गरेका छन् ।
