काठमाडौं । नेपालमा ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको ९ वर्ष पुगेको छ । तर २०७२ सालमा संविधान जारी हुँदा नै मधेसले अहसहमति जनाएको थियो ।
मधेसवादी दलहरुले एउटै मोर्चा बनाएर संविधान विरुद्ध आन्दोलन छेडेका थिए । प्रदेशको दुई वटा निर्वाचन भइसक्दा पनि असन्तुष्ट रहेको मधेस सरकारले समेत संविधान दिवसलाई कहिल्यै पनि उत्सवका रुपमा मनाउन सकेन । तर यो पटक भने मधेस प्रदेश सरकारले नै औपचारिक रुपमा संविधान दिवस मनाएको छ ।
संविधानप्रति सबैभन्दा रुष्ट बनेको भनेकै मधेस हो । मधेसीमुलका एवम् नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले नै संविधानसभाबाट जारी गरेको संविधानप्रति मधेसवादी दलहरु नै सन्तुष्ट हुन सकेनन् ।
संविधानविरुद्ध पटक पटक आन्दोलन गर्दै आएका मधेसवादी दलहरुले एउटै मोर्चा बनाएरसमेत आन्दोलन गरे । सरकारले संविधान दिवसका दिन दिपावली गरिरहँदा मधेसवादी दलहरुले कालो दिनको रुपमा मनाए ।
संविधान जारी भएको ९ वर्ष वितिसक्दा पनि मधेसले अपनत्व लिन नसकिरहेकोबेला यो वर्ष भने मधेस सरकारले औपचारिक रुपमा नै संविधान दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाएको छ ।
कुनै बेला यहि संविधान र राष्ट्रप्रति नै असन्तुष्टि जनाउँदै राष्ट्र विखण्डनको एजेण्डा बोकेका सीके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वको मधेस प्रदेश सरकारले औपचारिक रुपमा संविधान दिवस मनाएको हो ।
मधेस प्रदेशको राजधानी जनकपुरमा विद्यार्थीहरुसहितको ¥यालीसमेत निकालेर भब्य रुपमा दिवस मनाइएको छ । प्रदेश सरकार स्थापनाको ८ वर्षपछि मधेस सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मधेसवादी नेताहरु संविधानमा भएको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिने भनी लचिलो रुपमा प्रस्तुत भएका छन् ।
सत्तामा हुँदा उत्सव, सत्ता बाहिर हुँदा विरोध
मधेसवादी दलहरुले मधेसको अधिकारका लागि कुनै बेला एउटै मोर्चा बनाएर संघर्ष गरेका थिए । मधेसका लागि अधिकारका लागि भन्दै मधेसवादी नेताहरु कुनै न कुनै रुपमा अहिले पनि छिटफुट रुपमा संघर्ष गरि नै रहेका छन् ।
मधेसका चर्चित नेता राजेन्द्र महतो अहिले पनि मधेस मुक्ति क्रान्ति भनेर आन्दोलनको तयारी गरिरहेका छन् भने सीके नेतृत्वकै जनमत पार्टी तेस्रो जनआन्दोलनको गर्ने बताइरहेको छ । तर मधेसवादी नेताहरु कुनै न कुनै रुपमा सत्ताको वरिपरि रहिरहेकै छन् ।
संविधानको विरोध गर्ने तर यहि संविधान अनुसार सरकारमा रहने द्वैध चरित्र पनि मधेसवादी नेताहरुको छ । लामो समयसम्म सत्तामा रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकार बाहिर छन् ।
विगतमा मन्त्रीको हैसियतमा संविधान उत्सवमा सरिक उपेन्द्र यो वर्ष भने संविधान दिवसको विरुद्ध कार्यक्रम अघि सारेका छन् । आफूलाई मधेसको मसिहा ठान्ने जुनसुकै मधेसवादी दलहरुले संविधानबारे स्पष्ट दृष्टिकोण राख्दै अघि बढ्नुको विकल्प छैन । तरमारा प्रवृत्ति त्याग्न जरुरी छ ।
