काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।
ओलीले महासभामा गर्ने सम्बोधन र उनले त्यहाँ भेट्ने विश्वका अन्य नेताहरुको तुलनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन्छ कि हुँदैन भन्ने विषयले नेपालमा बढि प्राथमिकता पाइरहेको छ ।
ओली र मोदीले समिट अफ द फ्यूचरमा सम्बोधन गर्दैछन् र त्यसैको सेरोफेरो पारेर भेटवार्ताका लागि प्रस्ताव गरिएपनि मोदीले ग्रीन सिग्नल नदिदाँ भेटवार्ता अन्यौल बनेको छ ।
थाइल्याण्डमा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन स्थगित नभएको भए दुई महिना अघि सत्तामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण थाइल्याण्ड हुने थियो । तर आफ्नो पछिल्लो प्रधानमन्त्री कार्यकालमा ओली चौथो पटक संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने गरी पहिलो विदेश भ्रमण अमेरिकाबाट गर्दैछन् ।
ओलीको यो भ्रमण महासभामा गरिने संवोधनका विषयले भन्दा पनि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटका लागि गरिरहेको प्रयासमा केन्द्रीत जस्तो देखिएको छ । यसलाई जानकारहरुले उचित मानेका छैनन् ।
ओली र मोदीको कार्यतालिका
राष्ट्रसंघको ७९ औँ महासभामा प्रधानमन्त्री ओलीले समिट अफ द फ्यूचर सम्मेलनलाई सेप्टेम्बर २२ मा संबोधन गर्दैछन् । त्यसबाहेक सेप्टेम्बर २६ मा महासभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
सेप्टेम्बर २४ देखि सुरु हुने महासभाको उद्घाटन सत्रमा अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका नेताहरुका लागि आयोजना गर्ने भोजमा प्रधामन्त्री ओली सहभागि हुनेछन् ।
त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२ मा न्युयोर्कमा भारतीय समुदायलाई संवोधन गर्ने कार्यक्रम छ भने मोदीले सेप्टेम्बर २३ मा समिट अफ द फ्यूचरमा सम्बोधन गर्दैछन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार यसकै आसपासमा मोदीले विश्व नेताहरुसँग छलफल समेत गर्नेछन् । तर नेपालले भने सेप्टेम्बर २२ मै मोदीसँग साइडलाइन वार्ताको प्रयास गर्दै प्रस्ताव गरेको छ । तर भारतको तर्फबाट सकरात्मक सन्देश नआई सकेका कारण यसपटक ओली र मोदीबीचको भेटवार्ता अन्यौल देखिएको हो ।
मोदीको अरुची किन ?
नेपालमा नयाँ संविधान जारी भएयता मोदी भारतको सत्तामा छन् । संविधान जारी भएकै बेला पनि असन्तुष्टि जनाउँदै भारतले नेपालमा लामो समय अघोषित नाकाबन्दी गरेको थियो ।
भारतले कालापानी समेत समेटेर नक्सा सार्वजनिक गरेपछि त्यसलाई काउन्टर दिदै नेपालले समेत लिम्पियाधुरा, लिपुलेक लगायतका भूभाग समेट्दै नक्सा जारी गरेको थियो । यसमा समेत भारतीय संस्थापन पक्ष चिढिएको थियो । त्यस्तै पछिल्लो समय प्रधानमन्त्री ओलीले इपीजी प्रतिवेदनका विषयलाई निरन्तर उठाइ रहेका थिए ।
ओलीको यस्तो अभिव्यक्तिमा पनि भारतले असन्तुष्टि जनाएको हुन सक्ने विज्ञहरुको तर्क छ । यद्यपी महासभामा ओली र मोदीबीच भेट नभएकै कारण भारत र नेपालबीचको सम्बन्ध तिक्ततापूर्ण अवस्थामा पुगेको आंकलन गर्न नमिल्ने पनि कतिपय जानकारहरुको छ । न्यूयोकमा मोदी जम्मा एकदिन मात्रै रहने कार्यक्रम छ ।
यही व्यस्त कार्यतालिकाका कारण पनि मोदीले ओलीसँगको भेटवार्तालाई नकारिरहेको हुन सक्ने परराष्ट्रविदको तर्क छ ।
तर यस्तो अवस्थामा पनि मोदीसँगको भेटका लागि मरिहत्ते गरिरहेको अवस्थाले भने अन्तराष्ट्रिय कुटनीतिको क्षेत्रमा नेपालको नराम्रो सन्देश जान जाने अवस्था सिर्जना भइरहेको छ ।
