News 24 Television
रविलाई साच्चै कारबाही हुन्छ ? कहिले ? 

काठमाडौं । सहकारी वचत रकम अपचलनबारे प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदन सार्वजनिक भएसँगै विभिन्न विषय छताछुल्ल बनेका छन् । 

लाखौं सहकारीका वचतकर्ता ठगीमा परेको विषय समेत रास्वपा सभापति रवि लामिछाने केन्द्रीत बन्दा छायाँमा परेको छ । आखिर किन छन् त रवि सहकारी ठगीको केन्द्रमा ? 

सहकारीबाट लाखौं वचतकर्ताले अर्बाैं रकम डुबाएका छन् । सहकारीलाई विश्वास गर्नेहरु आर्थिक संकटमा परेका छन् । सहकारी ठगी गरेर विदेश जानेदेखि पक्राउ नै नपरेकाको सूची समेत लामो छ । 

यस्तोमा सहकारी प्रकरणको मुख्य केन्द्रमा छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । ९ घण्टा लामो बयान दिएका रविले के भने ? सहकारी वचत रकम अपचलनसम्बन्धि छानविन गर्न बनेको समितिले के निष्कर्ष दियो ? यस्ता प्रश्नले आम मानिसको चासो तानेको देखिन्छ । सहकारी सम्बन्धि समितिले रविलाई विभिन्न ५१ वटा प्रश्न गरेको छ । 

यसमा रविले आफ्नो दलील पेश गर्दै सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । तर, सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे भने कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राई (जीबी)लाई नै थाहा हुने जानकारी दिएका छन् ।

सहकारी छानविन समितिमा रविले दिएको बयानका अनुसार उनले सामान्य कर्मचारीको रुपमा काम गरेको दाबी गरेका छन् । गोरखा मिडिया आफू कर्मचारीको रुपमा एमडीको भूमिका निभाएको दाबी गरेका रविले सहकारीबाट आएको ठूलो रकम प्रयोगमा भने एकल हस्ताक्षर गरेर भुक्तानी दिएका छन् । 

उसोतः यो विषयमा पनि रविले कर्मचारीको तलव नदिएर के गर्ने त भन्दै आफ्नो वचाउ भने गर्दै आएका छन् । विभिन्न प्रश्नको सामना गरेका रविले अधिकांश प्रश्नमा जीबी राईलाई नै दोष दिएका छन्  भने आफूले सहकारीको एक पैसा पनि नलिएको दाबी गरेका छन् ।  अन्तिममा केहि भन्नु छ भन्ने समितिको प्रश्नमा भने दिल खोलेर आफ्नाविरुद्ध लागेको भन्दै आक्रोश पोखेका छन् । 

रविले अन्तिम प्रश्नमा लिएका केहि जिकिर यस्ता छनः

१. मलाई दोषी देखाउन सहकारी समस्यालाई एकदमै जटिल बनाइयो ।

२. सहकारी ठगीलाई राजनीतिक विषय बनाउदा अर्थतन्त्रमा ठुलो धक्का लाग्यो र सहकारीप्रतिको विश्वास गुम्यो ।

३. मेरो संलग्नता पुष्टी नहुँदा पनि राज्य र मिडिया मेराविरुद्ध लागे ।

४. राज्यको बल म केन्द्रित बन्दा पीडितको न्याय कठिन बन्यो ।

५. मैले ऋण लिएको भए ऋणी हुन्थे, ऋणी कसरी ठग हुन सक्छ ?

६. मेराविरुद्ध सहकारी ठगीको एक त्यान्द्रो पनि प्रमाण भेटिएन । 

७. साझेदारले गरेको गल्ति अर्को व्यक्तिले भोग्नु पर्ने हो ?

८. गोरखा मिडियामा मेरोे विज्ञताबाहेकको कार्यमा संलग्नता छैन । 

९. मेरो पेटमा सहकारीको एक रुपैया परेको छैन । 

१०. म निर्दोष छु ।

रविले यस्तो जिकिर लिएपनि कुमार रम्तेलले भने सहकारी ठगीमा रविको संलग्नता रहेको ठोकुवा गरेका छन् । ग्यालेक्सी टेलिभिजन डुब्नुका पछाडी पनि रविको हात रहेको भन्दै समितिमा बयान दिएका रम्तेलले आफ्नो नाममा कृत्रिम खाता खडा गरि गोरखा मिडियामा रकम जानुले पनि रविको संलग्नता पुष्टी हुने जिकिर लिएका छन् । 

समिति भन्छ, कारबाही गर

संसदीय समितिले रविले सहकारीको रकम सिधै आफ्नो खातामा ल्याएको वा ठगी गरेको नदेखिएपनि गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको रकम अपचलन गरेको ठहर गरेको छ । 

समितिमा सर्वसम्मतिबाट पारित भएको प्रतिवेदनले सहकारीबाट गोरखा मिडियामा गएको रकममा रविको एकल हस्ताक्षरमा काटिएका चेकदेखि उनले व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दा सहकारीको रकम अपचलन भएन भन्ने तथ्यलाई काट्ने आधार नभएको दाबी गर्दै रविविरुद्ध प्रचलित कानून अनुसार कारबाही सिफारिश गरेको छ । तर, सरकारले यो प्रतिवेदनलाई कहिले र कसरी कार्यान्वयनमा लैजान्छ भन्ने विषय अहिले नै खुलिसकेको छैन । तर, सरकारी उच्च अधिकारीहरु प्रतिवेदनले कारबाही सिफारिश गरिएकालाई कानूनको दायरामा ल्याउने बताइरहेका छन् । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update