News 24 Television
पार्टीमा झन्झन् हाबी हुँदै गगन, देउवा पनि सकारात्मक !

काठमाडौं । संसदको सबैभन्दा ठूला दल नेपाली काँग्रेसको नेतृत्वमा युवा पुस्ताको माग बढ्दो छ । तर पछिल्लो महाधिवेशनमा पनि पार्टी नेतृत्वमा शेरबहादुर देउवा नै दोहोरिए । काँग्रेसको १४औँ महाधिवेशनमा पार्टी नेतृत्वका लागि देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र नीधि र कल्याण गुरुङले पनि उम्मेदवारी दिए । तर देउवालाई अन्तिमसम्म टक्कर दिनेमा शेखर कोइराला मात्रै थिए । 

शेखर बाहेक अन्य नेताहरु पहिलो चरणको निर्वाचनबाटै बाहिरिँदा दोस्रो चरणको निर्वाचनमा ‘देउवा–शेखर’ भिडन्त भयो । यद्यपि देउवासामु शेखरको जोर चलेन ।

यसकारण पनि देउवालाई काँग्रेसमा सबैभन्दा शक्तिशाली नेताको रुपमा लिइन्छ । यद्यपि युवा नेतृत्वको मागलाई मध्यनजर गर्दै ०७९ को आम निर्वाचनपछि संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले सभापति देउवाविरुद्ध प्रतिस्पर्धा गर्ने आँट गरे । जसलाई काँग्रेसभित्र युवा पुस्ताको हस्तक्षेपका रुपमा रुपमा लिइएको छ । 

गगन पार्टी भित्रै पनि फरक धारणा राख्ने र नेतृत्वलाई खबरदारी गर्ने नेताका रुपमा परीचित छन् । उनी  आफ्नै दलको नेतृत्वसँग मात्रै होइन, संसदमै पनि प्रतिपक्षीसँग खरो ढंगले उत्रिने गरेका छन् । 

सहकारी प्रकरणमा रविविरुद्ध चर्को आवाज उठाएका गगनले पार्टी नेतृत्वलाई पनि सन्तुलित बनाउने काम गरिरहेका छन् । गगन पार्टी महासमिति बैठकमा भावि निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव पेश गरेर पारित गर्नसमेत सफल भए । गगन बेलाबखत संसदमै उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध टिप्पणी गर्दै काँग्रेस सम्मेलित गठबन्धन सरकारलाई पनि चुनौति दिने गर्छन् ।  

   यसअर्थमा गगन पार्टी नेतृत्व र गठबन्धनलाई पनि खबरदारी गर्दै राजनीतिक भविष्य फराकिले बनाउने रणनीतिमा देखिन्छन । 
यसमा उनी केही हदसम्म सफल पनि बनेका छन् । यही प्रभावलाई निरन्तरता दिन गगनले पछिल्लो पटक मन्त्री बन्न अस्वीकार गरे । 
मन्त्री बन्न आएको प्रस्तावलाई उनले प्रधानमन्त्री बन्नका लागि दलको नेतामा प्रतिस्पर्धा गरेकोे भन्दै मन्त्री पद अस्वीकार गरेका थिए । पछिल्लो समय पार्टी भित्रै र बाहिर पनि राम्रो ‘फाइट’ गरिरहेका गगनलाई देउवाले नै विश्वास गर्न थालेको छ ।  

विगतमा एकअर्कामा आलोचक गगन–देउवा सम्बन्ध पनि पछिल्लो समय सुधारोन्मुख अवस्थामा पुगेको छ । सहकारी ठगी प्रकरणको विषयमा गगनले खेलेको भूमिकाको प्रशंसा गर्दै देउवाले गगनमाथि विश्वासको जग बसालेका छन् । दलको नेतृत्वसँगै प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरिरहेको अवस्थामा देउवाको यो साथ महत्वपूर्ण हुनसक्छ । 

केही दिन अघि मात्रै सभापति देउवाले आफ्नो उमेरको कारण देखाउँदै नेतृत्वका लागि तयार हुन अन्य नेताहरुलाई आह्वान गरेका थिए । त्यस्तै मन्त्री हुन नमानेका गगनलाई देउवाले सरकारको काम कामकारवाही निर्धारण र निर्देशित गर्न अग्रमोर्चामा पनि खटाएका छन् ।

जनताबाट मुलुकको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने उच्च ‘डिमाण्ड’ आइरहेका बेला सभापति देउवाको पछिल्लो अभिव्यक्ति र गतिविधि गगनको ‘फेवर’ देखिन्छ । यसर्थमा देउवाले आगामी पार्टी नेतृत्व र प्रधानमन्त्रीमा गगनलाई अघि सार्नसक्ने आंकलन पनि गर्न थालिएको छ । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update