News 24 Television
ओलीको अमेरिकामा भाषणले विश्व हल्लाउन सक्ने !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अमेरिकाको दुई विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रियबारे सम्बोधन गर्ने कार्यक्रम छ । तत्कालीन माओवादी र सात दलबीच भएको विस्तृत शान्ति सम्झौता र शान्ति प्रक्रियाको टुंगो लाग्नै लाग्दा देखिएको माहोलबारे ओलीले सम्बोधन गर्ने भएका हुन् । तर, ओलीले माओवादी युद्धलाई हिंसाको रुप दिदै गर्दा उनले गर्ने सम्बोधन कस्तो होला त ?

माओवादीले तत्कालीन समयमा गरेको १० वर्षे लामो सशस्त्र युद्धलाई एमाले पंक्ति हिंसाको रुप दिन तम्सिएको छ । तत्कालीन नेकपा स्थापनामा माओवादी युद्धलाई जनयुद्धको रुपमा स्वीकार गरेको एमाले र तत्कालीन अध्यक्ष केपी ओली फेरि माओवादी युद्धलाई हिंसा भन्न थालेका हुन् । 

ओलीले मात्रै नभएर एमाले सांसद योगेश भट्टराईले प्रतिनिधिसभामै माओवादी युद्धलाई हिंसा भनेपछि स्थिति थप बिग्रिन पुगेको छ । योगेशले कुनै समय आफैले माओवादी युद्धको प्रशंसा गर्दै दिएका अभिव्यक्तिलाई वेवास्ता गर्दै संसदमा हिंसा भनेका थिए । 

एमालेले यसरी माओवादी युद्धलाई हिंसा भन्न थालेपछि माओवादी केन्द्र प्रतिनिधिसभामा आक्रामक पेश भइरहेको छ । प्रतिनिधिसभाको वर्षे अधिवेशन अन्त्य भइसकेपनि एमालेले माओवादी युद्धलाई हिंसा भनेको शब्द फिर्ता नलिएसम्म प्रतिकार गरिरहने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दाबी गरिरहेका छन् ।

माओवादी र एमाले फेरि शब्दको युद्धमा होमिने देखिन्छ । सत्ता सहकार्य टुटेपछि उनीहरुबीचको विवाद तीब्र बनिरहेको बेला प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका छन्, भने उनले त्यहाँका दुई विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

ओलीको सम्बोधनमा चासो

प्रधानमन्त्री केपी ओलीले अमेरिकाको हार्वर्ड युनिभर्सटी र कोलम्बिया युनिभर्सिटीमा सम्बोधन गर्ने छन्् । शान्ति प्रक्रियाबारे ओलीको सम्बोधन नेपालमा चासोको विषय बनिरहेको छ । नेपालले भर्खरै शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पु¥याउन कानून बनाएर अघि बढिसकेको स्थिति छ । तर, माओवादी युद्धलाई हिंसा भन्दै आएका प्रधानमन्त्री ओलीले अमेरिकामा हुने सम्बोधनमा कस्तो अभिव्यक्ति दिन्छन् भन्ने चासो स्वभाविक देखिन्छ । 

कुनैबेला अमेरिकाले समेत माओवादीलाई आतंककारीको सूचीमा राखेको थियो । तर, अहिले माओवादी शान्ति प्रक्रियामा आइसकेको र अमेरिकासँग समेत राम्रो सम्बन्ध विस्तार गरिसकेको पार्टी हो ।

विश्व शक्ति राष्ट्रहरुले नेपालको आन्तरिक मामलामा समेत मिहीन हस्तक्षेपका श्रृङ्खला थोपर्न खोज्दा नेपालका दलहरु उपयोग हुने गरेको आरोप लाग्दै आएको छ । 

नेपालको संविधान र विस्तृत शान्ति सम्झौताले माओवादी युद्धलाई स्वीकार गरिसकेको बेला हिंसा भन्दै एमालेले गरिररहेको राजनीतिले समाजको अमनचयनमा खलल त आउने होइन भन्ने शंका समेत उब्जिने गरेको छ । 

यस्तोमा ओलीले अमेरिकाका विश्वविद्यालयमा गर्ने सम्बोधनमा समेत भाषा, शब्द चयन र शान्ति प्रक्रियाबारे दिने अभिव्यक्तिले नेपालको राजनीतिलाई धेरै हदसम्म असर पार्ने देखिन्छ । 

यि सबै परिस्थितिका बीच प्रधानमन्त्री ओलीले नेपालमा शान्तिको  वातावरण कस्तो छ भनि विश्वसमुदायलाई सन्देश देलान् ? र उनको सम्बोधनले नेपालमा कस्तो स्थिति सिर्जना गर्ला ? यो प्रतिक्षाको विषय बनेको छ । 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update