बुडापेस्ट । मित्र राष्ट्र हंगेरिको मैत्रीपूर्ण भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले हंगेरीयन संसदका विदेश मामिला समितिका सभापति ज्सोल्ट नेमेथसंग शिष्टाचार भेट गरेका छन् ।
हंगेरीयन संसद भवनमा भएको भेटमा दुई मित्र राष्ट्रको आपसी हित, नेपाल र हंगेरीको संसदबीच आदान प्रदान र समान चासोको बिषयमा सहकार्यबारे छलफल भएको सांसद ढकालको सचिवालयले जनाएको छ।
भेटमा सांसद ढकालले अध्यक्ष ज्सोल्ट नेमेथलाई नेपालको भ्रमण गर्न आग्रह पनि गरेका छन् । सांसद ढकालको आग्रहलाई ग्रहण गर्दै उपयुक्त समयमा हंगेरीका सांसदहरुले नेपाल भ्रमण गर्ने बिश्वाश दिलाए ।
सांसद ढकालले प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राज किशोर यादवको शुभकामना संदेश पनि अध्यक्ष ज्सोल्ट नेमेथलाइ दिएका थिए।
हंगेरीयन संसदका विदेश मामिला समितिका सभापति ज्सोल्ट नेमेथको मैत्रीपूर्ण निमन्त्रणामा ३ दिने भ्रमणको लागि बुडापेस्ट पुगेका सांसद ढकालले हंगेरीका सांसदहरुसंग अन्तरक्रिया गर्नुको साथै संसद भवनको पनि अवलोकन गरेका थिए।
हंगेरीको संसद भवन विश्वकै एक सुन्दर, कलात्मक र बिशाल मानिन्छ। हंगेरी संसद भवनको उद्घाटन सन् १९०४ मा भएको थियो र यस भवनको डिजाइन इमरे स्टाइन्डलले गरेका थिए।
