News 24 Television
समावेशितालाई अझ बढी पारदर्शी र उत्तरदायी बनाउनुपर्छ : देउवा

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश समावेशी, समानुपातिकको आधारमा समाजलाई लैजाने दिशामा अघि बढिरहेको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा बोल्दै उनले  देश समावेशी समानुपातिक दिशामा अघि बढिरहेको र नेपाली काँग्रेसले यसको नेतृत्व गर्नुपर्ने बताए । समानुपातिक र प्रत्यक्ष निर्वाचनको सम्बन्धमा केही समस्या रहेको भए पनि समावेशी अति आवश्यक रहेको उनकाे भनाइ छ ।  देशमा समावेशी प्रणाली मात्रै नभएर समावेशी समाज रहेको पनि उनले बताए । समावेशितालाई अझ बढी पारदर्शी र उत्तरदायी बनाउनुपर्ने उनकाे भनाइ छ । 

उनले भने, 'समानुपातिक र प्रत्यक्ष चुनावको सम्बन्धमा केही समस्या छन् । कसैले प्रत्यक्ष चुनाव लड्नुपर्ने, कसैले नाम राखेबापत एकै पटक समानुपातिकमा आउनुपर्ने । अर्को कुरा समावेशी अति आवश्यक पनि छ । यो देशमा समावेशी प्रणाली मात्रै होइन, समावेशी सोसाइटी छ । समावेशितालाई अझ बढी पारदर्शी मात्रै होइन, उत्तरदायी बनाउनु पर्छ । हामीले भोलिका दिनमा अझ बढी उत्तरदायी व्यवस्था बनाउनु छ । उत्तरदायी व्यवस्थाका निम्ति उत्तरदायी पार्टी बनाउनु छ । यो काममा हाम्रा पार्टीका नेताहरु सबै जना हुनुहुन्छ । अब बहसको शुरुवात भएको छ । यो बहसले सबै क्षेत्र, सासाइटीको सबै तप्कामा यस्तो बहसले सार्थकता पाउनेछ । हाम्रो देश एउटा समावेशी, समानुपातिकको आधारमा समाजलाई लैजाने दिशामा अघि बढिरहेको छ । हाम्रो पार्टीले यसको नेतृत्व गर्नुपर्छ । अझ बढी जवाफदेही बनाउँदै हाम्रो पार्टीलाई भोलिका दिनमा काँग्रेस पार्टीले मात्रै सबैकुरा गर्नसक्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । त्यसलै जनता महत्वपूर्ण कुरा हो । जनता यो देशको मालिक हो । त्यसैले सार्वभौम सम्पन्न जनता भनिएको हो । जनताको समर्थन अत्यन्त आवश्यक हुन्छ ।'

सभापति देउवाले काँग्रेसलाई अझ बढी जनताको पार्टी, उत्तरदायी पार्टी बनाउने काममा अहिलेदेखि नै लागेमा भोलिका दिनमा एक्लैले पनि बहुमत ल्याउन सक्ने बताए । उनले थपे, 'मलाई विश्वास छ, हाम्रो पार्टीले गर्नेछ । अहिलेको अवस्थामा एउटै पार्टीको बहुमत आउन धेरै गाह्रो छ । यो वास्तविकता हो । तर यसका बाबजुत पनि हाम्रो पार्टीलाई बहुमत ल्याउन हामी सबैले काम गरे सफल हुनेछौँ ।'

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update