काठमाडाैँ। सत्तारुढ दल नेपाली काँग्रेस र एमालेले प्रतिपक्षी दल रास्वपाका सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपा कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । रवि तत्कालीन गृहमन्त्री भएको बेला गत चैतदेखि जेठसम्म काँग्रेसले रविलाई सत्ताच्युत गरेर सरकार ढाल्ने योजनाअनुरुप उनीमाथि संसदीय छानबिनको माग राख्दै संसद तताएको थियो । सुरुमा त्यसबेला सत्तामै रहेको एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले रविको खुबै बचाउ गरे । उनका लागि संसदीय छानबिन समिति बन्नै नसक्ने एमालेको अडान थियो । पछि घुमाउरो पाराले छानबिन समिति गठन गरियो । असारमा सत्ता फेरबदल भएर काँग्रेसको आडमा ओली नै प्रधानमन्त्री भए ।
अहिले एमाले–काँग्रेसको सरकारले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई आइतबार पक्राउ गरिसकेको छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविलाई पनि जुनसुकै बेला पक्राउ गर्न सक्ने देखिएकाले रास्वपा नेता कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
एमाले, काँग्रेस, माओवादी र रास्वपाका प्रतिनिधि सम्मिलित संसदीय छानबिन समितिले रवि सहकारी ठगीमा संलग्न रहेको नदेखिएको प्रतिवेदन सरकारलाई बुझाएको छ । तर त्यही प्रतिवेदनमा रविले गोर्खा मिडियामा रहेका बेला भएको कारोबारको उत्तरदायित्व बहन गर्नेगरी कारबाही गर्न सिफारिस गरेको छ । प्रतिवेदनले करिब ४० वटा सहकारीमा गरी बचतकर्ताहरुको करिब ८८ अर्ब रूपैयाँ अपचलन भएको निष्कर्ष निकालेको छ । रवि कुनै पनि सहकारीको सदस्य, सञ्चालक, बचतकर्ता र ऋणी नभएको निष्कर्ष पनि निकालेको छ । तर फेरि त्यही प्रतिवेदनले घुमाउरो पारामा रविलगायत गोर्खा मिडियाका सञ्चालकहरुलाई कारबाही सिफारिस गरेको छ । यस्तो विरोधाभासी प्रतिवेदन दिएर सत्तारुढ दल काँग्रेस–एमालेको इशारामा रविलाई सिध्याउने खेल भएको प्रस्टै देखिन्छ ।
सरकारले पनि वास्तविक सहकारी ठगलाई कारबाही गरेर सहकारी पीडितहरुलाई न्याय दिनेतर्फ खासै ध्यान दिएको देखिन्न, बरु जसरी हुन्छ रविलाई दोषी ठह¥याएर, पक्रेर, डामेर कलंलित तुल्याउने नियत राखेको देखिन्छ । छानबिन प्रतिवेदनले सहकारी ठगीमा संलग्न रहेको नदेखिएको कुरा औँल्याएपछि रास्वपामा खुसी छाएको थियो र रविले क्लिन चिट पाएको बताइरहेका थिए । रवि स्वयंले पनि काँग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै प्रमाण छ भनेर नभनेको र प्रणाम छ भनेको भन्दै उडाएका थिए ।
यद्यपि रविमाथि छानबिनको चर्को माग उठाउने र ठगीको प्रमाण छ भन्दै संसद अवरोध गर्ने काँग्रेस महामन्त्री थापाले अहिले बोली घुमाएका छन् । छानबिनबाट रविले सहकारी ठगेको नदेखिएकोले उनले सहकारी बाहिरै बसेर ठगी गरेको आरोप थापाले लगाइरहेका छन् । गत बुधबार थापाले सहकारी भित्र बसेर भन्दा पनि बढी रकम बाहिरबाटै रविले ठगी गरेको दाबी गरे । रविले सहकारीको करिब ६५ करोड ठगी गरेको पनि संसदीय छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको थापाको दाबी छ ।
तर, प्रतिवेदनमा उल्लेखित ६५ करोड रकम विभिन्न सहकारीबाट गोर्खा मिडियामा ऋण लिइएको देखाएको छ, रविले सोझै व्यक्तिगत रुपमा ऋण लिएका होइनन् । गोर्खा मिडियाका खास हर्ताकर्ता जीबी राईले उक्त रकम सहकारीबाट गोर्खा मिडियामा लिएको बताइन्छ । उनी विदेश फरार रहेकाले पनि यो विषय थप गोलमाल भएको देखिन्छ ।
आइतबार गोर्खा मिडियाका पूर्व साझेदार छवि पक्राउ परेदेखि नै रास्वपामा तनाव थपिएको छ । रातभरि रविलाई घेरामा राखेर कार्यकर्ताहरु पार्टीको केन्द्रीय कार्यालयमा भेला भएका थिए । सोमबार पनि रवि लगायत सबै उच्च तहका नेता र कार्यकर्ता पार्टी कार्यालयमै बसे । आफूलाई दुई तिहाइको सरकारले षड्यन्त्रपूर्वक पक्रेर जेल हाल्ने र रास्वपालाई कमजोर बनाउने हर्कत भइरहेको बताउँदै रविले आफ्ना कार्यकर्तालाई हरक्षण अलर्टमा रहन निर्देशन दिएपछि रास्वपा काठमाडौँ र पोखरामा जागा बसेको देखिन्छ । प्रधानमन्त्री ओली देशबाहिर रहेको बेला सत्ताको आडमा राजनीतिक प्रतिशोध साँध्न उद्यत काँग्रेसी कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले सहकारी ठगीका मूल नाइके मानिएका जीबी राईलाई पक्रेर स्वदेश ल्याउनेबारे भने पहलसम्म गरेको देखिँदैन ।
