News 24 Television
सहकारी ठगीमा धनराज जोगिएलान् ? अनुसन्धान कता ? 

काठमाडौं । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ सार्वजनिक भएपछि कार्यान्वयनका लागि सभामुखले सरकारलाई रुलिङ गरेका थिए । 

दुई दिन अगाडि मात्रै गृहमन्त्री रमेश लेखकले प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देश गरे । गृहमन्त्रीको निर्देशन लगत्तै गोरखा मिडियाका तत्कालिन सञ्चालन छविलाल जोशी पक्राउ परे । 

जोशी पक्राउपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पक्राउ पर्ने भन्दै खैलाबैला मच्चियो । तर सहकारी अपचलनमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको विषय भने मौन छ । 

सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तीन महिना भन्दा बढी समय लगाएर तयार पारेको प्रतिवेदन सार्वजनिक हुनु भन्दा केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति धनराज गुरुङ पनि सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा उजुरी परेको कुरा सार्वज्निक भएको थियो । 

गुरुङको पनि सहकारीमा भएको ठगीबारे छानबिन हुनुपर्ने विषय संसदमा उठ्यो । तर कांग्रेस उपसभापति गुरुङले भने पत्नी ज्योति गुरुङसँग सम्बन्ध विच्छेद भइसकेकाले त्यसलाई अतिरञ्जित गरिएको भदौ २५ गतेको संसद बैठकमै प्रष्टिकरण दिएका थिए ।   
 
समितिको प्रतिवेदनमा भने सहकारी ठगी प्रकरण विकराल रहेको उल्लेख छ । संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले पनि संसदमा प्रतिवेदन पेश गर्दै गर्दा सो कुरा उल्लेख गरेका थिए । सम्बन्ध विच्छेद लगायतका कागजी प्रक्रियासमेत नक्कली रहेको थापाले नै स्पष्ट गरेका छन् । 

आफ्नो विषयमा कुरा उठिसकेपछि आफूले स्पष्टीकरण दिने मौका पाएको बताएका कांग्रेस नेता गुरुङले सहकारी ठगीमा आफ्नो संलग्नताबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन समेत सरकारलाई संसदबाटै चुनौति दिएका थिए । 

नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको सभापतित्वमा गठन भएको समितिले एक सय दिन लगाएर तयार पारेको प्रतिवेदनमा भने कांग्रेस नेता गुरुङको नाम कहिँकतै उल्लेख छैन । तर ‘मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालिन प्रबन्ध निर्देशक ज्योति गुरुङले १२ करोड ९४ लाख ८९ हजार ३ सय ५७ बचत रकम संकलन गरी सोको जानकारी संस्थालाई समेत नगराई रकम हिनामिना गरेको’ उल्लेख छ । 

‘उक्त बचतको हालसम्मको जम्मा रकमसमेत गरी रु १४ करोड ८१ लाख बराबरको रकम सम्बन्धनमा आवश्यक छानबिन गरी प्रचलित कानून बमोजिम कारबाही अगाडि बढाउन समितिले निर्देश गर्ने गरी निर्णय गरेको छ ।’– प्रतिवेदनमा भनिएको छ ।   

सहकारी रकम अपलचनबारे समितिको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेस नेता एवम् गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिएलगत्तै गोरखा मिडियाका तत्कालिन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरी अनुसन्धान जारी राखिएको छ । 

जोशीसँगै रास्वपा सभापति लामिछाने पनि तानिने देखिएको छ । तर मितेरी सहकारीमा भएको बचत अपचलनमा संलग्नताबारे धनराज स्वयम्ले अनुसन्धान गर्न आग्रह गरे पनि त्यसतर्फ अनुसन्धानको सुई भने तेर्सिएको छैन । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update