काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको नेतृत्वबाट बाहिरिएको तीन महिना पनि पुगेको छैन । तर उनमा सत्ताच्युत हुँदाको छटपटी र आफूलाई धोका दिएर एमाले–काँगेस मिली चलाएको सरकारविरुद्धको रोष सतहमै देखिएको छ । सत्ताका लागि र स्वार्थका लागि जे पनि गर्न पछि नपर्ने नेताको छवि बनाएका प्रचण्ड मंगलबार रवीन्द्र मिश्रसँगको भेटका कारण थप विवादमा आएका छन् । काँग्रेस सम्मिलित केपी ओली नेतृत्वको सरकारलाई अपवित्र गठबन्धनको संज्ञा दिँदै आएका प्रचण्डले पूर्व राजसंस्थाको प्रशंसा गरेको भनी मिश्रद्वारा प्रचार भएपछि सत्ता गठबन्धनमा समेत हलचल पैदा भएको हुनुपर्छ । राजावादी शक्तिसँग मिल्न लागेको छनक दिँदै प्रचण्डले काँग्रेस–एमालेलाई दबाबमा राख्न खोजेको कतिपयको बुझाइ छ ।
राजा फर्काउने अभियानमा सक्रिय रवीन्द्र मिश्रले मंगलबार फेसबुकमार्फत प्रचण्डको अभिव्यक्ति भन्दै अर्थपूर्ण रुपमा ७ बुँदा सार्वजनिक गरेका थिए । जसमा प्रचण्डले राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ रहेछन् भनेको, पूर्वराजा ज्ञानेन्द्र २०६२/०६३ को आन्दोलनताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो भनेको र अहिलेको स्थितिबाट देश चल्दैन भन्ने निष्कर्षमा प्रचण्ड पुगिसकेको र निरन्तरतामा क्रमभङ्गता खोजिरहेको दाबी गरिएको छ । यद्यपि प्रचण्डको सचिवालयले उक्त कुराको खण्डन गरेको छ तर प्रचण्ड र रवीन्द्रको भेटवार्तामा के कुराकानी भएको हो भन्नेबारे स्पष्ट पारेको छैन । यसले पनि प्रचण्डप्रति अन्य दल सशङ्कित हुनुपर्ने अवस्था देखिएको छ । मिश्रले बुधबार थप अर्को स्टाटस लेख्दै गणतन्त्रका नायक प्रचण्ड नै भएको र काँग्रेस–एमाले सबै प्रचण्डगामी भएको बताएका छन् । आफ्ना कार्यालयमा प्रचण्डको फोटो टाँस्न उनले सुझाव दिएका छन् । उनको स्टाटको आशय प्रचण्डलाई खुसी पार्ने हो या अन्य दलहरुप्रति व्यंग्य हो, बुझ्न मुश्किल पर्ने खालको छ । यो कुरालाई लिएर पूर्व प्रधानमन्त्री एवं प्रचण्डका पूर्व सहयात्री डा. बाबुराम भट्टराईले समेत व्यंग्य गर्दै प्रचण्ड अवसरवादका लागि जे पनि गर्न पछि नपर्ने बताएका छन् ।
प्रचण्डले भने काँग्रेस–एमाले साना दलको अस्तित्व समाप्त पार्न तम्सेको, समानुपातिक समावेशी व्यवस्था मास्न खोजेको र प्रतिगमनतिर जानेगरी संविधान संशोधन गर्न खोजेको आरोप लगाउँदै आएका छन् । एकातिर पूर्वराजा र राजसंस्थाविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका प्रचण्डले रवीन्द्र मिश्रलाई भेट्नु र अर्कातिर काँग्रेस–एमालेको सरकारविरुद्ध रास्वपा, एकीकृत समाजवादी लगायत साना दलहरुको मोर्चाबन्दी कस्नुले प्रचण्ड सत्तारुढ दलहरुविरुद्ध अर्को गोटी चाल्न खोजिरहेका छन् भन्ने बुझिन्छ । सुरुमा ओलीलाई प्रधानमन्त्री बन्न नदिनेगरी आफूले हार निश्चित हुँदा पनि विश्वासको मत लिएर सर्वोच्चमा मुद्दा दायर गराउन पुगेका प्रचण्ड पछिल्लो समय ओली सरकारलाई दबाबमा राखेर सत्ता उलटपुलट गर्न सकिन्छ कि भन्नेतर्फ लागेका छन् । हुनत प्रचण्डले विश्वासको मत हारेकै दिन गत असार २८ गते एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनामै परिस्थिति प्रचण्डको अनुकुल बन्नसक्ने बताएका थिए । प्रतिनिधि सभा बैठकमा बोल्दै चौधरीले वर्तमान सत्ता गठबन्धन भत्किनुमा काँग्रेस सभापति देउवालाई दोष नदिन र देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन सुझाव दिएका थिए । चार महिनापछि नै काँग्रेस–एमाले सहकार्यमा फेरबदल आउन सक्ने र परिस्थिति प्रचण्डका लागि अनुकुल हुने उनको दाबी थियो ।
पछिल्लो समय प्रधानमन्त्री ओली आफ्नै कारण र काँग्रेस मन्त्रीहरुको असहयोगका कारण कमजोर मात्र नभई विवादमा समेत पर्दै आएका छन् । राजनीतिक स्थिरता दिने, अर्थतन्त्र लयमा ल्याउने लगायत एजेण्डासहित दुई ठूला दल मिले पनि सरकार गठनको तीन महिना हुनलाग्दा समेत परिवर्तनको कुनै संकेत देखिएको छैन । बरु सुरुमा आशाको नजर फिँजाएका निजी क्षेत्र, पुँजी बजारका लगानीकर्ता तथा आम जनतामा थप निराशा छाएको छ ।
यसै क्रममा काँग्रेस नेता शेखर कोइरालाले दुई तिहाइको सरकारले पनि जनतामा आशा जगाउन नसकेको अभिव्यक्ति दिएका छन् । काँग्रेस–एमाले गठबन्धन भत्काउन दक्षिणी छिमेकी लगायत शक्तिहरुको चलखेल समेत बढेको भन्दै केही समयअघि काँग्रेस सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि पोखेका थिए । काँग्रेसभित्रै गगन, विश्वप्रकाश, मिनेन्द्र रिजालजस्ता प्रभावशाली नेताहरु पनि ओली नेतृत्वको सरकारप्रति सकारात्मक देखिँदैनन् । यी सबै गुनासो, असन्तोष, अन्तरविरोध र शक्तिकेन्द्रका स्वार्थ समेतको नाडी छामिरहेका प्रचण्ड आफू पुनः कसरी सत्तामा पुग्न सकिन्छ भन्नेतर्फ चाल चलिरहेको बुझ्न सकिन्छ । केही समयअघि उनले आफू सत्ताको जोड–घटाउमा नलाग्ने बताउँदै सरकार बनाउन कुनै दिन आफूलाई खोज्दै आउने बताएका थिए । यसको आशय अहिलेको काँग्रेस–एमाले गठबन्धन जुनसुकै बेला भत्किन सक्ने र नयाँ समीकरणका लागि उनीहरु प्रचण्डको साथ खोज्दै आउने भन्ने थियो । सत्ताको खेलमा नलाग्ने बताए पनि बेलाबेला प्रचण्डभित्र सत्ताबाहिर हुनुको कुण्ठा र छटपटी भने राम्रैसँग छचल्किने गरेको देखिन्छ ।
