काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको रिक्त पदमा हुने उपनिर्वाचनको तयारी तीब्र पारेको छ । उक्त निर्वाचन प्रयोजनका लागि विहीबारदेखि दल दल शुरु भइसकेको छ भने आयोगले विहीबार नै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आगामी मंसिर १६ गते ३ स्थानीय तहका प्रमुखसहित ३९ पदमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका पदाधिकारीहरुको परामर्शमा भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर १६ गते स्थानीय तहको रिक्त पदमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णयपछि आयोगले पहिलो निर्वाचन तालिकाअनुसार विहीबारदेखि दल दर्ता शुरु भइसकेको छ । असोज १० देखि असोज १६ गते कार्यालय समयभित्र दल दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ ।
हाल मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख पद रिक्त छ । यस्तै, दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष तथा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख पद रिक्त छ ।
यस्तै, विभिन्न पालिकाका ३० वटा वडाका वडाअध्यक्ष पद रिक्त छ भने मंगलबार मात्रै कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष तिलकराम यादवको निधन भएको छ ।
ओखलढुंगा र कैलाली जिल्लामा जिल्ला समन्वय समिति प्रमुखको पद पनि रिक्त छ । जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरी पदपूर्ति गर्ने ब्यवस्था अनुसार उपनिर्वाचन गर्न लागिएको हो ।
आगामी मंसिर २ गते उम्मेदवार मनोनयन दर्ता
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरी आयोगले विहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । उक्त कार्यक्रम अनुसार
- २०८१ मंसिर २ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता ।
- २०८१ मंसिर २ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन ।
- २०८१ मंसिर ३ गते विहान १० बजदेखि ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने ।
- २०८१ मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन ।
- २०८१ मंसिर ५ गते विहान ९ बजेदेखि १ बजेसम्म उम्मेदवार फिर्ता लिन सकिने ।
- २०८१ मंसिर ५ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन ।
- २०८१ मंसिर ५ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान ।
- २०८१ मंसिर १६ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने ।
मंसिर १६ को स्थानीय तहको उपनिर्वाचन भन्दा ४८ घण्टा अगाडि अर्थात मंसिर १३ गते राती १२ बजेपछि प्रचारप्रसाद निषेध अवधि लागू हुने पनि निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताएका छन् ।
अघिल्लो पटक संघको निर्वाचनमा मात्रै भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरिसकेको हुँदा उपनिर्वाचनमा आफ्नो सिट सुरक्षित गर्न मुलधारका राजनीतिक दलहरुलाई चुनौति थपिएको छ ।
