News 24 Television
फेरि सत्ता उल्ट्याउने दाउमा प्रचण्ड, अर्को उथलपुथलको तयारी ! 

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर र गतिशील पात्रका रुपमा परीचित छन् । राजनीतिमा छिनभरमै जो कोहीसँग पनि सहकार्य गर्न तयार रहने प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्री कार्यकालमा काँग्रेस र एमालेसँग पटक पटक काँध फेरे । 

जसलाई उनी उथलपुथलको रुपमा संज्ञा दिन्थे । तर आफ्नो तेस्रो कार्यकालको १८आँै महिना पुग्दा प्रचण्डको उक्त उथलपुथलले काम गर्न छाड्यो । प्रचण्डबाट पालो–पालो प्रयोग भएका काँग्रेस एमालेले नै गठबन्धन गरेपछि प्रचण्ड नचाहँदा नचाहँदै प्रतिपक्षी कित्तामा पुगे । जबकी काँग्रेस–एमालेको नयाँ गठबन्धन हुनुभन्दा केही दिनअघि मात्रै आफ्नो जादुयी नम्बरले सरकार नढल्ने प्रचण्डले जिकिर गरेका थिए ।  

दुई ठूला दलहरुको मिलनसामु प्रचण्डको उथलपुथल र जादुयी नम्बरको जोर चलेन । जसकै कारण प्रचण्ड प्रतिपक्षमा हुत्तिन पुगे । सरकारमा रहँदा भ्रष्टाचार तथा सुशासनको सवालमा चालेको कदमकै कारण आफूलाई सत्ताच्युत गरिएको प्रचण्डको बुझाइ छ । 

सोही बुझाइका कारण पनि प्रचण्डले सदन र सडकबाटै वर्तमान सरकारलाई भ्रष्ट र विचौलियाको आरोप लगाइरहेका छन् । 

पछिल्लो समय एमाले–काँग्रेसले संविधान संशोधन नै गर्नेगरी थालेको तयारीलाई भने प्रचण्डले विदेशी शक्तिको चलखेलको रुपमा परिभाषित गर्न थालेका छन् । 

माओवादी सत्ताच्युत भएको ३ महिना पुग्न लाग्यो, अर्कोतर्फ संसदको सबैभन्दा ठूला दलहरु काँग्रेस र एमाले मिलेर बनेको सरकारले सय दिन पार गर्न लागेको छ । यद्यपि प्रतिपक्षको नजरमा सत्ता पक्षको लयमा सुधार भएको छैन । जसैका कारण पनि सरकारमाथि प्रतिपक्षले बारम्बार भ्रष्टाचार र दलालीको आरोप लगाइरहेको छ । 

प्रमुख प्रतिपक्षी दल माओवादीले सरकार गिराउने र बनाउने खेलमा नलाग्ने दावी गर्दै जनतामा जाने निर्णय गरेको थियो । तर चाहेको अवस्थमा केही महिनामै परिस्थिति परिवर्तन गर्न सकिने पनि प्रचण्डले अभिव्यक्ति दिने गरेका छन् । 

प्रचण्डबाट समीकरण बदल्न सकिने आशाय व्यक्त भइरहँदा सरकार परिवर्तन भइहाल्ने त होइन ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ । तर प्रचण्डले दावी गरेजस्तै वर्तमान समीकरण तत्काल परिवर्तन भइहाल्ने अवस्था भने छैन । काँग्रेस तथा एमालेकै नेतृत्वले यो समीकरणलाई पूरापूर पक्षपोषण गरिरहेको छ । जसका कारण पनि तत्काल सरकार ढाल्न सकिने प्रचण्डको दावी मेल खाने देखिँदैन । 

सरकारको स्थायित्व, संविधान संशोधन र अन्य विभिन्न राजनीतिक एजेन्डामाथिको बलियो समझदारीले काँग्रेस एमालेको गठबन्धन मजबुदीकासाथ कसिएको छ । जसका कारण पनि प्रचण्डको यसपटकको दावी तथ्यगत देखिँदैन छ । 

यदी सत्ताकै खेलका लागि प्रचण्ड नयाँ समीकरणको गठजोडमा लागे उक्त कदम उनी आँफैका लागि हानिकारक हुने पक्का छ । 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update