काठमाडौं । नेपाली कांग्रेसमा शेरबहादुर देउवापछिको सभापति को भन्ने विषय पेचिलो बन्दै गएको छ । विभिन्न गुटमा विभक्त कांग्रेसमा गुटहरु समेत छिन्नभिन्न हुनेक्रम चलेको छ । यस्तोमा देउवालाई विश्वासमा लिएर पार्टी सभापति पद आफ्नो हातमा लिने संघर्ष समेत चर्किने संकेत थप बलियो बन्न थालेको छ ।
नेपाली कांग्रेसको विधानअनुसार कसभापति शेरबहादुर देउवा अब अर्को कार्यकाल सभापति बन्न पाउँदैनन् । त्यसैले कांग्रेसको १५ औं महाधिवेशन समयमै हुन्छ त भन्ने प्रश्न अहिलेदेखि उठ्न थालेको छ । तर, १५ औं महाधिवेशन जुन समयमा भएपनि सभापति बन्नेहरुको राजनीतिक लाइन भने रोचक मोडमा पुगेको छ ।
यसका लागि कांग्रेसमा रहेका पुराना गुटहरु समेत तितरवितर बन्न थालेका छन् । पार्टी नेतृत्वको हानाथपमा केहि नेताहरु गम्भीर अपराधका आरोपले पछि पर्ने देखिएको छ भने केहि नेताहरु देउवालाई रिझाएर पार्टी नेतृत्व लिने होडमा पुगेका छन् ।
को–को छन त नेतृत्वका लागि दौडमा ?
कांग्रेसमा पार्टी नेतृत्व लिने लाइनमा अग्रपंक्तिमा छन्, गएको महाधिवेशनमा देउवासँगै पराजित डा. शेखर कोइराला । कोइरालासँगै नेताहरु प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, धनराज गुरुङ, बिमलेन्द्र निधि, गगन थापा लगायत पनि सभापतिको आँकाक्षी हुन् ।
यी नेताहरुमध्ये कसले पार्टी नेतृत्व लिने भन्ने आन्तरिक दौड थप चर्किने सम्भावना बढि देखिन्छ । उसोतः पार्टी देउवा पक्षबाट पार्टी नेतृत्वको प्रमुख दाबेदार मानिएका बालकृष्ण खाँणविरुद्ध नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलिरहेकाले उनी करिब करिब यो सूचिबाट बाहिर नै छन् ।
को के गर्दैछन ?
कांग्रेस सभापति पार्टीको सर्वोच्च पद हो । सभापति कसले लिने भन्ने प्रतिष्पर्धा तीब्र र पेचिलो बन्नु स्वभाविक पनि हो । यस्तोमा पार्टी नेतृत्व लिने दौडमा डा. शेखर कोइराला अग्रपंक्तिमा छन् ।
पार्टीमा नेतृत्व लिन छटपटीमा रहेका उनी सत्ता समिकरणमा हलचल ल्याउनेदेखि आफ्नो गुटको संरक्षणमा खटिन्छन् । तर, उनको पारिवारिक माहोलले नै उनलाई साथ नदिएकाले नेतृत्वको सवाल पेचिलो बन्ने गर्छ । कोइराला परिवारमा सुजाताले शेखरलाई सघाउने दाबी गरेपनि शशांकले आफै उम्मेदवारी दिने तयारी थालेका छन् ।
जसले उनीहरुको परिवारभित्रै मिलाप देखिन्न । त्यसपछि पार्टी नेतृत्व लिने लाइनमा पूर्णबहादुर खड्का, प्रकाशमान र बिमलेन्द्र निधि पनि अग्रपंक्तिमा छन् ।
उसोतः उनीहरु उम्मेदवार बनेपनि अन्तिममा सम्झौतामा जाने भएकाले पनि बलिया उम्मेदवारको रुपमा भने लिइएको देखिन्न । पार्टी नेतृत्वको आकांक्षीमा धनराज गुरुङ पनि देखिन्छन्, तर, सहकारी प्रकरणमा नाम आएपछि उनी नैतिकरुपमा कमजोर भइसकेका छन् ।
केही समयअघि देउवाका समकालिन कांग्रेस नेताहरुले आफुहरुमध्ये एकजनालाइ भावी सभापतिको रुपमा तोक्न देउवालाई सामूहिक दबाब नै दिइसकेका छन् । तर यी सबैलाई जिल्याउँदै गगन थापा थप जोडबलका साथ पार्टी नेतृत्वको पर्खाईमा छन् । यसले पनि कांग्रेसमा नेतृत्वको सवाल पेचिलो बन्ने देखिन्छ ।
देउवाको इशारा
पार्टी सभापति देउवाले कसलाई नेतृत्वमा साथ दिन्छन, यो महत्वपूर्ण विषय बन्नेछ । देउवाले पत्नी आरजु राणा देउवालाई उपसभापतिसम्म बनाउने गरि नेतृत्वको सौदाबाजी गर्ने कांग्रेस वृत्तमा चर्चा छ । यस्तोमा गगन थापाले देउवासँग दूरी कम बनाउने प्रयास थालेका छन् ।
आगामी दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्ने सार्वजनिक रुपमै बोल्न थालेका गगनले देउवाप्रति आक्रामक शैली अपनाउने सम्भावना कम बन्दै गएको छ ।
यता, देउवाले पनि आफ्नो पक्षबाट गतिलो उम्मेदवार पाउने स्थिति छैन । खाँण नक्कली शरणार्थी प्रकरणका आरोपी भएकाले उनको प्यानलबाट विश्वासिलो पात्र देखिन्न ।
यता शशांक पनि देउवासँग सफ्ट कर्नर राखिररहेका छन् । तर पछिल्लो घटनाक्रम हेर्दा र पार्टी पंक्तिमा चलिरहेको चर्चालाई मान्ने हो भने देउवाले आरजुलाई सेटल गराउने गरी गगनसँग सम्झौता गर्न सक्ने सम्भावना पनि छ । तर, अहिले नै के हुन्छ भन्न सकिने स्थिति छैन ।
महाधिवेशन सर्ने सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन समयमै नहुने सम्भावना बलियो छ । देउवाले प्रधानमन्त्रीको नेतृत्व लिइरहेको बेला विधानमै भएको अधिकार प्रयोग गर्दै महाधिशेन पर धकेल्न सक्छन् ।
यस्तै, उनले नक्कली शरणार्थी प्रकरणको छिनोफानो समेत कुर्न सक्छन् । त्यतिबेलासम्म खाँण निर्दोष सावित भए भने देउवाले उनलाई नै अघि सार्ने धेरैको विश्लेषण छ । तर, यस्तो हुन नसकेमा पनि उनले राजनीतिक हिसाब मिलान नगरी महाधिवेशन गराउने सम्भावना भने क्षीण छ ।
