काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी ओलीले नेपालकोतर्फबाट सम्बोधन गरेका छन् । सम्बोधनमा ओलीले नेपालको शान्ति प्रक्रिया, विश्व राजनीति र जलवायु परिवर्तनबारे प्रष्ट पारेका छन् । अमेरिकामा रहेका ओलीको भ्रमण र सम्बोधनले विश्व समूदायमा कस्तो प्रभाव पार्ला त ?
संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी ओलीले इजरायल प्यालेस्टाइन युद्धबारे बोलेका छन् । दुई राष्ट्रलाई नेपालले मान्यता दिएको भन्दै ओलीले द्वन्द्ध समाधानमा समेत सोहि अनुसार गर्नुपर्नेमा नेपालको धारणा राखेका हुन् ।
नेपालको असंलग्न परराष्ट्र नीतिबारे बोलेका ओलीले रुस–युक्रेन युद्धबारे समेत बोलेका छन् । विश्वमा हतियार निर्माणको होडबाजी, सैन्य बजेट र नियन्त्रणबाहिर गइरहेको आणविक हतियारको विकासले विश्व शान्तिलाई खलल पु¥याउने आशंका समेत ओलीको छ ।
शान्ति र समृद्धिको यात्रा थाल्न सबैको पहल आवश्यक रहेको जिकिर गरेका प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाबारे समेत धारणा राखेका छन् ।
पीडितलाई न्याय र संक्रमणकालीन न्याय प्रणालीलाई नेपालले उच्च प्राथमिकतामा राखेर काम गर्ने दाबी गरेका ओलीले द्वन्द्धका घाउलाई मल्हम लगाउन मेलमिलापमा समेत जोड दिएका छन् ।
विभिन्न विषयमा नेपालको धारणा राखेका प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनबारे समेत धारणा राखेका छन् । ओलीले हिमाल जोगानुपर्नेमा जोड दिँदै खाद्य सुरक्षा र अधिकारबारे समेत व्यापक छलफल बहस र निष्कर्षको आवश्यकता रहेको जिकिर समेत गरेका छन् ।
ओलीको सम्बोधनले विश्व समुदायमा कस्तो पार्ला प्रभाव ?
महासभामा सम्बोधनका क्रममा ओलीले नेपालकोतर्फबाट आफ्नो भनाई राखेपछि यसको प्रभावकारिता र विश्वले नेपाललाई लिने धारणा समेत फेरिन सक्ने विश्वास गरिएको छ ।
नेपालको शान्ति प्रक्रियामा विश्व समूदायको ध्यान रहेको र संयुक्त राष्ट्र संघको समेत विशेष चासो रहेका बेला ओलीले संक्रमणकालीन न्यायबारे राखेको धारणा र कार्यान्वयनको पक्षमा देखाएको दृढताले समेत विश्व समूदायको ध्यान तानेको बताइन्छ ।
धनी र गरिबबीचको भिन्नता, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाश आजको जस्तो चर्को अवस्था कहिल्यै नभएको बताएका प्रधानमन्त्री ओलीले भावी पुस्ताका लागि समेत नयाँ संकल्प गर्नुपर्ने बेला आएको जिकिर गरेका छन् ।
इजरायल र प्यालेस्टाइन युद्धबारे समेत ओलीले दुबै देशलाई नेपालले मान्यता दिएको भन्दै विवाद समाधानमा कूटनीतिक पहलको आवश्यकता रहेको जिकिर गरे ।
यता, रुस–युक्रेन युद्ध समेत कुटनीतिक माध्यमबाट समाधान गरिनुपर्नेमा ओलीले नेपालकोतर्फबाट धारणा राखेका छन् । यि सबै पक्ष हेर्दा नेपाल विश्वशान्तिको पक्षमा रहेको र युद्धरत कुनै पक्षलाई नेपालले प्रत्साहन नगर्ने प्रष्ट सन्देश प्रवाह भएको देखिन्छ ।
