News 24 Television
विपत्तिले मच्चायो वितण्डा, सरकारले के गर्दैछ सहयोग ? 

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबान समस्यामा परेका नागरिकप्रति जिम्मेवार ढंगले उद्दार तथा राहतमा जुट्ने सरकारले निर्णय गरेको छ । 

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यतामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो । सरकारले गरेको तयारीमाथि अनेक प्रश्न मात्रै उठेका छैनन्, वेपत्ता र मृतकको संख्या गन्दै बसेको भन्दै आक्रोश समत पोख्न थालिएको छ । 

अविरल वर्षापछि दर्जानौं नागरिकले ज्यान गुमाइसकेका छन् भने केहिको अवस्था अज्ञात छ । उद्दार र राहतको पर्खाईमा समेत उत्तिकै नागरिकहरु छन् । 

सरकारले राहत तथा उद्दारमा तदारुकता देखाउन नसकेको भन्दै आरोप लागिरहेको बेला कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले ढिला गरि बैठक डाकेर विभिन्न निर्णय गराएका छन् । 

सरकारले बाढी पहिरो र डुबानमा परेर घाइते भएकाको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

सरकारले योसँगै अहिले चलिरहेका सबै परीक्षा केहि समयका लागि स्थगित गरेको छ भने अवरुद्ध भएका सडक खुलाउन पहल गर्ने निर्णय गरेको छ । 

मृतकका परिवारलाई राहत र विद्युत तथा टेलिफोनमा आएको समस्या समेत समाधान गर्ने निर्णय गरेको सरकारले जनाएको छ ।

सरकारले आकस्मिक भनेको बैठक नागरिक हताहतिको चरम सीमामा पुगेपछि मात्रै भएकाले सरकारमाथि आक्रोश चुलिदै गएको छ । जन्मदिनमा केक बोक्ने हेलिकप्टर खोई भन्दै सामाजिक सञ्जालदेखि सार्वजनिक रुपमै प्रश्न गर्न थालिएको छ । 

सरकारले उद्दार तथा पूर्वतयारीमा गरेको बिलम्बका कारण नागरिकले व्यहोरेको क्षतिको समेत चर्चा चुलिन थालेको छ । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update