काठमाडौं । दुई तिहाई बढि मतसहित प्रधानमन्त्री बनेका केपी ओली रक्षात्मक देखिन्छन् । निर्देशन दिने र जनतालाई सेवा दिनेभन्दा पनि सुझाव दिनेमा जोड दिइरहेका छन् । यतिमात्रै नभई देश यति ठूलो विपत्तिमा पर्दा समेत उनी विदेशमा सयर गरिरहनुले तीब्र आलोचना हुन थालेको छ ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो र दोश्रो ठूलो दल मिलेर सरकार बनाए । जसमा एमाले कांग्रेसको गठबन्धन बन्यो । संसदीय अभ्यास गर्ने मुलुकमा सामान्यतया यस्तो गठबन्धन उचित ठानिदैन् ।
चुनावका मुख्य प्रतिष्पर्धि नै मिलेर सरकार गठन गरे किन छुट्टै दल बन्नु प¥यो ? यस्ता प्रश्नहरु गरिन्छन् । तर, पनि स्थिरता, विकास निर्माणमा एकरुपता र साना दलले च्याँखे थाप्ने कामलाई बन्द गर्न बलियो गठबन्धन बनेको जिकिर गरियो । यतिमात्रै नभई ओलीले साना दललाई पनि समेटेर दुई तिहाई बढि मत पनि प्राप्य गरे । तर, कमजोर प्रतिपक्ष हुँदा समेत उनी सत्ता सञ्चालनमा भने रक्षात्मक बन्नु परिरहेको छ । प्रधानमन्त्री नेपालमा कार्यकारी पद हो ।
कार्यकारीले मुलुक सञ्चालन गर्ने र दैनिक प्रशासनलाई समेत सञ्चालन गर्ने काम गर्छ । राज्य संयन्त्रमाथि नियन्त्रण राख्ने कार्यकारी पद किन रक्षात्मक बनिरहेको छ ? शैलीले पनि आक्रामक पेश हुने ओली दुई तिहाई बढिको मत हुँदा पनि किन आक्रामक हुन सकेनन् ? यस्ता कयौं प्रश्नहरु सतहमा छन् । जसको उत्तर सर्वसाधारणले नै खोज्न थालेका छन् ।
देश विपत्तिमा, ओली अमेरिकामा
अविरल वर्षापछि देश विपत्तिमा फसेको छ । सयौं नागरिकले ज्यान गुमाएका छन भने सयौं वेपत्ता छन् । घाइतेको अवस्था समेत उस्तै छ । तर, देशमा ठूलो विपत्ति पर्दा पनि प्रधानमन्त्री ओली विश्व शक्ति राष्ट्र अमेरिकामा औपचारिक कार्यक्रम नभएपनि मुलुक फर्किने तयारी गर्दैछु भन्दै नियमित तालिकामा राजनीति गरिरहेका छन् ।
अमेरिकाबाट ओली असोज १४ गते फर्किने कार्यतालिका मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको विषय हो । तर, ओलीले यहि मितिलाई टार्गेट गर्दै देश फर्किने तयारी गर्दैछु भनेर निम्छरो जिम्मेवारी निभाउन खोजेको जस्तो देखिन्छ ।
यतिमात्रै नभई मौसन पुर्वानुमान महाशाखाले जारी गरेको रेड अलर्ट र सरकारी तयारीमा चुकेको सिंगो राज्य संयन्त्रमाथि चौतर्फी प्रश्न उठिरहेको छ । तर, ओली फेसबुकमा कहिले विश्वविद्यालयको कार्यक्रममा जान लागेको जिकिर गर्छन, त कहिले देश फर्किने तयारीमा छु । सचेत रहनू भन्दै पोस्ट गर्छन् । यसरी ओलीले निरिहता किन देखाइरहेका छन ? यो विषय सर्वसाधारणको चासोमा छ ।
विपत्तिमा सुस्त ओली
मुलुक प्राकृतिक विपत्तिमा फस्दा पनि ओलीको सक्रियता अत्यन्तै सुस्त छ । विकास निर्माणदेखि नागरिकलाई गरिबीबाट बाहिर निकाल्ने भन्दै सुखी नेपाली समृद्ध नेपालको नारा जप्ने ओली विपत्तिमा किन अमेरिकामै घुमाघाममा रमाइरहेका छन् ? दुई तिहाईको बहुमतको उपयोग जनताको पक्षमा किन गर्न चाहेका छैनन ? तमाम प्रश्नहरु छन् ।
मुलुक विपत्ति फसेपछि उनले आफ्ना सबै पुर्वनिर्धारित कार्यक्रम स्थगन गरेर स्वदेश फर्किनुपर्नेमा औपचारिक कार्यक्रम सकिएपनि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको समय पर्खिएर बसेपछि ओली विरोधको चरम सीमामा फसेका छन् ।
निर्देशनभन्दा सुझावमा ध्यान
विपत्ति होस् वा अन्य कुनै राष्ट्रको पक्षमा काम गर्नुपर्ने स्थिति नै किन नहोस्, ओलीले निर्देशन दिनेभन्दा पनि सुझाव दिन थालेका छन् ।
देशको कार्यकारीले निर्देशन दिएर जनताको पक्षमा काम गर्नुपर्नेमा सुझाव दिने गर्नाले पनि जनताले सरकारप्रति भरोसा गर्न सकेको देखिन्न ।
ओलीले हवाई भाडा कम गर्न निर्देशन नदिई सुझाव दिएका छन् भने उद्दार र राहतमा पनि आलेटाले भाषाको प्रयोग गरिरहेका छन् । जुन विषयले ओलीको सत्ता यात्रामा समस्या सिर्जना भएको त होइन भन्ने संसय उब्जिएको छ ।
टिम नै असक्षम
दुई तिहाईको सरकारको स्पीरिट र क्षमताको हिसाबले अब्बल हुनुपर्ने हुन्छ । तर, ओली क्याबिनेटका मन्त्रीहरु असक्षम देखिएका छन् ।
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका प्रकाशमान सिंहले उद्दारमा सरकारी संयन्त्रको परिचालनमै चुकेका छन् भने गृहमन्त्री सामान्य सूचनामा समेत पहुँच राख्न नसक्ने निम्छरो देखिन्छन् ।
राजनीतिक रुपले प्रतिवाद गर्नेबाहेक सरकारका मन्त्रीहरुको कार्यक्षमता कमजोर हुँदा सर्वदलीय बैठक समेत प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले बोलाउनुपर्ने स्थिति आइलाग्यो । त्यसपछि कार्यबाहक प्रधानमन्त्री सिंहले बैठक डाके ।
उसोतः दिनभर मान्छे हताहती बन्दा मौन रहेका सिंहले साँझ अबेर मात्रै आकस्मिक बैठक डाकेर उद्दारदेखि अन्य विषयमा निर्णय लिए । जसकारण हेलिकप्टर उड्न नै समस्या पर्यो ।
यस्तो टिम लिएर दुई तिहाईको सरकार चलाइरहेका ओलीले कस्तो शासन र सेवा देलान ? यो विषय रोचक मोडमा पुगेको छ ।
