News 24 Television
सर्वदलीय बैठकमा विपक्षीले गरे सरकारको आलोचना  

काठमाडौं । विहीबार रातीदेखि शनिबारसम्म परेको अविरल वर्षापछिको विपद्मा परि ठूलो धनजनको क्षति भएको छ, दर्जनौं बेपत्ता छन् । ठाउँ ठाउँमा सवारी साधनहरु पुरिएका छन्, केही सम्पर्कविहिन छन् ।

खोजी तथा उद्धार कार्य अझै पूर्ण हुन सकिरहेको छैन । विपद्मा सरकारको काम प्रभावकारी नभएको भन्दै सरकारको सवत्र्र आलोचना भइरहँदा सर्वदलीय बैठकमा पनि विपक्षी दलहरुले सरकारको आलोचना गरेका छन् । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भन्दै असोज ४ गते न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली विपद्पछि पनि स्वेदश फर्किएका छैनन् । विहीबार रातीदेखि दुई दिनसम्म लगातारको वर्षापछि बाढीपहिरोमा परि ठूलो धनजनको क्षति भएको छ । 

काठमाडौंभित्रैका विभिन्न खोलाहरुको आएको बाढी चपेटामा परेकाहरुको पनि समयमा उद्धार हुन सकेन । जसका कारण काठमाडौं उपत्यकामा मात्रै कम्तीमा ६८ जनाले मृत्युवरण गर्नुप¥यो । बाढीपहिरोका कारण संघीय राजधानी काठमाडौं जोडिने सबै सडकहरु ठप्प छन् । चितवन–काठमाडौं सडकका विभिन्न ठाउँमा पहिरोमा पुरिएका यात्रुहरुको अझै उद्धार हुन सकेको छैन । 

बाढीपहिरोले विभिन्न ठाउँका विद्युत प्रशारण लाइनहरु अवरुद्ध भएका छन् । त्यसैले विपद्को बेलामा सबै दलहरु एकजुट भई सहयोगमा जुट्नुपर्ने भन्दै कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आइतबार सिंहदरबारमा सर्वदलीय बैठक बोलाए । सर्वदलीय बैठकमा पनि विपक्षी राजनीतिक दलहरुले सरकारको निकै आलोचना गरे । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले विहिबार रातीदेखि अतिवर्षा हुने भन्दै सतर्कता अपनाउन यसअघि नै सचेत गराएको थियो । 

महाशाखाको अनुरोधलाई गम्भीरतापूर्वक लिइ उद्धारको पूर्व तयारी भएको भए धनजनको कम क्षति हुने थियो । तर सरकार तयारीमै चुकेको आरोप विभिन्न राजनीतिक दलका नेताहरुले लगाएका छन् । 
  
विपक्षी दलहरुको आलोचनाकाबीच सरकारले भने खोजी तथा उद्दार कार्यलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । 

बाढीपहिरोमा प्रभावित भएकाहरुलाई तत्काल उद्धार गरी उचित बासस्थान र राहत उपलब्ध गराउने लगायतका विभिन्न निर्णयहरु सरकारले गरेको छ । 

विपद्को घटनापछि सत्तारुढ नेपाली कांग्रेसको पनि आइतबार विहानै बसेको केन्द्रीय सम्पादन समितिको बैठकले बेपत्ताहरुको खोजिमा तीब्र ढंगले लाग्न सरकारको ध्यानाकर्षण गराउनुका साथै पार्टीको भ्रातृ, शुभेच्छुक संघटन सबैलाई नागरिक तहमा पुगेर उद्धार कार्यमा र राहत कार्यमा सक्रिय रुपमा लाग्न अपिल गरेको छ । साथै ५० लाख रुपैयाँ राहत कोषमा जम्म जम्मा गर्न पनि कांग्रेसले निर्णय गरेको छ । 

बाढीपहिरोका कारण काठमाडौं प्रवेश गर्ने सबै नाकाहरु ठप्प छन् । यात्रुहरु गन्तब्यमा पुग्न नसकी विभिन्न ठाउँमा अलपत्र परेका छन् । 

बाढीले पुल बगाउँदा काठमाडौं उपत्यकासँग रामेछापको सम्पर्क नै टुटेको छ । दशैंको मुखमा घर जान तयार भएर बसेकाहरु सडकको अवस्थाका कारण अन्यौलमा छन् । 

समयमा उद्धार गर्न चुकेको सरकारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न निजी क्षेत्र, आम नागरिक र संघसंस्थाहरुलाई अपिल गर्ने बताएको छ । 

सत्ताको छिनाझपटीमा रुपमल्लिएका सबैजसो राजनीतिक दलहरुले अब एकले अर्कोलाई हिलो छ्याप्ने नभई विपतको घडीमा एकीकृत प्रयासमा छिटो भन्दा छिटो उद्धार, राहत र पुनस्थापनाको काम गर्न जरुरी छ । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update