News 24 Television
ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर !

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं नजिकिएको छ । दशैंका लागि लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेकोमा यो वर्ष ‘सुकिला नोट’ मात्रै सटही थालेको छ । 

बैंकिङ सिष्टममा प्रशस्त मात्रामा सुकिला तथा चलनचल्तीमा प्रयोग गर्न योग्य नोट मौज्दात रहेकोले सुकिला नोट सटही गरिएको राष्ट्र बैंकका अधिकारीहरुको तर्क छ । तर नयाँ नोटको सट्टामा सुकिला नोट सटही गरिनुको चुरो कुरो भने अर्कै रहेको आशंका छ । 

हरेक वर्ष दशैंका लागि भन्दै नयाँ नोट सटही गर्ने ब्यवस्था मिलाउँदै आएको सरकारले यो वर्ष नयाँ नोटको सट्टामा ‘सुकिला नोट’ सटही थालेको छ । बैंकिङ सिष्टममा चलन चल्तीमा प्रयोग गर्न सकिने सुकिला नोट प्रशस्त रहेकाले यस्ता नोट सटही गरिएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । 

यस्ता नोटहरु प्रयोग गर्न सकिने भएपछि छपाई खर्च पनि कम हुने उनीहरुको भनाई छ । अझ दशैंको बेलामा नयाँ नोट बजारमा ल्याउँदा हिफाजत नहुने भएकाले दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकता हटाउनुपर्ने तर्क उनीहरुको छ । 

नयाँ नोट छपाइमा ‘चुच्चे’ नक्साको डर 

नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक नक्सा २०७७ जेठ ७ गते सार्वजनिक गरेको थियो । जसलाई चुच्चे नक्साको संज्ञा दिइयो । 

तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेपछि नेपालको संघीय संसद्ले अनुमोदन गरेको थियो । संसदबाट अनुमोदन भई नयाँ नक्सा प्रचलनमा आएको चार वर्ष भइसकेको छ । तर नेपालको पुरानै नक्सा रहेको नेपाली नोट अहिलेसम्म प्रचलनमा रहँदै आएको छ । 

त्यसैले अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० मा बसेको तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाको नोटमा नेपालको नयाँ नक्सा समावेश गरी छाप्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयप्रति भारतले तत्कालै आपत्ति समेत जनायो । 

सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएकोमा नेपालले स्थापित संयन्त्र विपरित एकपक्षीय ढंगबाट निर्णय गरेको भनी भारतले आपत्ति जनाएपछि नेपाली राजनीतिमा पनि तरंग मच्चिएको थियो ।

यहि विषयलाई लिएर पूर्वगभर्नर तथा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला विज्ञ चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिए । पूर्व गभर्नर चरञ्जीवीको अभिब्यक्तिलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति प्रति नै प्रश्न उठाएका थिए । 

ओलीले आफ्नो देशको नक्सा नोटमा छाप्ने कुरा नेपालको निर्णयमा भर पर्ने हुँदा कसैको टाउको दुख्न नहुने तर्क अघि सारेका थिए । तर, यहि कुरामा अहिले सत्ताको नेतृत्वमा पुगेपछि ओली मौन छन् । 

हुनतः भारतीय पक्षसँग नजिकको सम्बन्ध राख्न जस्तोसुकै काम गर्ने आरोप खेप्ने नेपालको राजनीतिले यस्ता विषय सामान्य बनाइन सक्छन तर, ओलीले यसरी गरेको दाबी नयाँ नोट छाप्ने समयमा आइपुग्दा भने रुमल्लिएको छ । 

एमाले अध्यक्ष ओली नेपाली कांग्रेससहितको वर्तमान सरकारको प्रधानमन्त्री छन् । तर अहिले दशैंमा समेत नयाँ नोट छपाइ नहुनुमा संशय देखिन्छ । हुनत हरेक वर्ष नै नयाँ नोट छापिने चाँही होइन । हरेक एउटा चक्रमा नोट छपाइ गरिन्छ, त्यो पनि विभिन्न देशमा लगेर । 

भारत रिझाउने खेल

नेपाल भारत सम्बन्ध खास राम्रो बन्न सकेको छैन् । ओलीको अमेरिका भ्रमणमा समेत भारतीय समकक्षी नरेन्द्र मोदीसँगको साइडलाइन वार्ता नै कठिन मोडमा पुगेर तय भएको थियो । यसमा पनि परराष्ट्रमन्त्री आरजु राणा देउवाले चाँजो मिलाएको बताइन्छ । भारतीय पक्ष ओलीसँग खास सन्तुष्ट नभएको दाबी गर्ने गरिन्छ । 

यस्तै, ओली मोदी भेटदेखि नेपालले मोदीलाई औपचारिक भ्रमणको निम्तो दिदा समेत स्पष्ट जवाफ नदिनुले पनि दुई देशको सम्बन्ध बिग्रिएको छनक मिल्छ । 

यस्तो स्थितिमा नेपालले नयाँ नोट छाप्ने निर्णय गरेर भारतलाई चिढ्याउनुको सट्टा सुकिला नोट भन्दै नयाँ अस्त्रको प्रयोग गरेको आशंका छ ।

नोटको स्थिति

आर्थिक वर्ष २०७८\७९ को सुरुमा केन्द्रीय ब्याङ्कसँग ११ अर्ब ९२ करोड रुपैयाँ बराबरका एक सय रुपैयाँका नोटहरू मौज्दात रहेका थिए । 

३० करोड ३९ लाख थान १०० रुपैयाँका नोटहरू चलनचल्तीमा रहेको नेपाल राष्ट्र ब्याङ्कको आर्थिक वर्ष ०७९÷८० को प्रतिवेदनमा नै जनाइएको थियो ।

राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार एउटा चक्रमा गर्दा तीनदेखि साढे तीन वर्षसम्म पुग्ने हिसाबले नोटको छपाइ गर्ने गरिन्छ । 

एक सय रुपैया नोटको प्रशस्त मौज्दात भएरै हो वा नेपालको राजनीतिक नक्सा सहितको नयाँ नोट छपाइमा भारतीय दबाब हो, त्यही केही समयमा खुल्ने नै छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update