News 24 Television
बसेरा होटेल र केपी ओली कनेक्सन 

काठमाडौं । बाढीपहिरो र डुबानले जनतामा फैलाएको त्रासदी, समसामयिक राणनीति र आवश्यक निर्णय लिन भन्दै नेकपा एमालेको सचिवालय बैठक विवादीत होटल बसेरामा बस्यो । 

एमालेकै नेतृत्वमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको भोलिपल्ट एमालेको बैठक बस्नुले यसबारे चौतर्फी चासो र शंका उब्जाएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । सरकारको नेतृत्व गरिरहेका ओली आफ्नै पार्टीका नेता दामोदर भण्डारीले नेतृत्व गरेको मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार मात्रै अत्यधिक महंगोमा सामान बिक्री गरेको भन्दै तीन लाख जरिवाना तिराएको बसेरा होटलमा सचिवालय बैठक बस्यो । 

एमाले बैठक सिंहदरबारको अघि रहेको विवादीत होटेल बसेरामा किन पुग्यो ? यसबारे चासो र आशंका उब्जिएका छन् । 

एमालेले पार्टी कार्यालय, सिंहदरबार र प्रधानमन्त्रीको कार्यालयलाई पन्छाउदै आफ्नै पार्टी नेतृत्वको मन्त्रालयले तीन लाख जरिवाना तिराएको होटलमा किन सचिवालय बैठक राख्यो ? यो सर्वाधिक चासोको विषय बनेको छ । 

उसोतः एमाले अध्यक्ष केपी ओली व्यापारीको पक्षमा खुलेरै वकालत गर्छन् । राज्यका नीति र कानूनले काम गर्ने सवालमा समेत प्रश्न गर्ने गर्छन् । यस्तोमा एमाले सचिवालय बैठक बसेरामै बस्नु अर्थपूर्ण रहेको टिप्पणी भइरहेको छ ।

महंगो मूल्य लिने होटलमा एमालेको बैठक

बसेरा होटेलले अत्यधिक महंगो मूल्य राखेर उपभोक्ता ठगेको आरोपमा तीन लाख जरिवाना तिर्नुपर्ने भएको छ । सोमबार मात्रै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यो होटललाई तीन लाख जरिवाना तिराएको हो ।

त्यही होटेलमा एमाले सचिवालय बैठक र त्यसको खर्च कस्तो निस्किएला ? यो समेत चासोमा छ । हुन त पार्टीको बैठक कहाँ गर्ने भन्ने अधिकार सम्बन्धित पार्टीको भएपनि हाइकमाण्ड बैठक कारबाहीको भोलिपल्टै त्यही होटलमा हुनुले आशंका स्वभाविक उब्जाएको छ । 

बसेरा र एमाले

एमालेले पटक–पटक बसेरा होटेलमा सचिवालय बैठक राख्दै आएको छ । तर, सरकारको नेतृत्व गरिरहेको एमालेले अहिले भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका व्यापारी विशाल पण्डितको होटलमा किन बैठक राख्यो ? यो सामान्य प्रश्न होइन । 

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने दाबी गर्दै आएका प्रधानमन्त्री ओली किन बसेरा रोज्छन् ? यो समेत रोचक विषय छ ।

उसोत, होटल मालिक विशालले एमालेसँगको सेटिङमा विभिन्न ठेक्का हात पार्ने आरोप समेत नलागेको होइन । होटल मालिन विशालविरुद्ध अख्तियारले मेडिकल सामाग्री खरिदमा अनियमितता गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जुन मुद्दा विचाराधीन अवस्थामा छ । 

तत्कालीन प्रचण्ड नेतृत्वको सरकारको बेला अख्तियारले विशालविरुद्ध मुद्दा दायर गरेको थियो । यस्तो स्थितिमा सरकार र विशाल वादी–प्रतिवादी भएपनि एमालेले बसेरा र विशाल रोज्नुको कारण र रहस्य भने खोज्न थालिएको छ। 

बसेराको मापदण्डमै विवाद

बसेरा होटल सिंहदरबारका लागि सुरक्षा चुनौति हुन सक्ने भन्दै अधिग्रहण गर्नुपर्ने प्रतिवेदन सरकार समक्ष बुझाइएको लामो समय वितिसकेको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई विस २०७६ सालमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको संयोजकत्वमा गठित समितिले होटल मापदण्डविपरित भएको प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदनमा भीआईपी कार्यालय तथा निवासबाट पेस्तोल वा राइफलको न्यूनतम प्रहार गर्न मिल्ने क्षेत्र वरपर ५ तलाभन्दा अग्ला भवन निर्माण गर्न नहुने उल्लेख छ भने यो होटलले मापदण्ड मिचेकाले अधिग्रहण गर्नुपर्ने प्रतिवेदनको सार थियो । तर, त्यहि बेला प्रधानमन्त्री रहेका ओलीले नै कारबाही अघि नबढाई पेन्डिङ बनाएको आरोप लाग्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update