News 24 Television
कमजोरी स्वीकार गर्नै नमान्ने ओली, सरकार ‘अब्बल’ रहेको जिकिर !

काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढीका कारण मुलुक क्षति–विक्षत अवस्थामा पुगेको छ । बाढी पहिरोका कारण हुनसक्ने क्षतिको बारेमा सरकार पूर्वतयारीमा नजुट्दा ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको भन्दै यतिबेला सर्बत्र आलोचना भइरहेको छ । 

यहाँसम्मकी राज्य आफ्नो भूमिका र समन्वयमा चुकेकोप्रति गृहमन्त्रीकै राजीनामासम्म माग भइरहेका छन्् । गत बिहीबार देखिको वर्षा आइतबारसम्म रहँदा मुलुकमा आरबौँको जनधनको क्षति भएको छ । 

बाढीमा परेर हालसम्म मुलुकभर दुई सय २८ जनाले ज्यान गुमाईकेका छन् भने २५ जना अझै बेपत्ता छन् । यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने माग जनस्तरबाट चर्को रुपमा उठिरहेको छ । त्यतिमात्रै होइन, बाढीबाट अति प्रभावित बनेका पीडितहरुले सरकारबाट कुनै राहत पाउन नसकेको गुनासो पनि गरिरहेका छन् ।

तर, सरकार भने नागरिकप्रति अनुत्तरदायी र गैरजिम्मेवार अभिव्यक्ति दिइरहेको छ । मुलुकमा बाढी र पहिरो गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने  अमेरिका भ्रमणमै थिए ।

बाढी पहिरोको जोखिम कम भइसकेपछि स्वदेश फर्किएका ओली जनतालाई अभिभावकत्व आभाष गराउनुको साटो उल्टै गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका हुन् । 

संयुक्त राष्ट्रिसंघको सभामा सरिक हुन अमेरिका पुगेका ओली मुलुकमा विपत्ति परेका बेला तत्काल स्वदेश फर्कने अपेक्षा गरिएको थियो । तर उनी तत्काल स्वदेश फर्किएनन् । केहि ढिलागरी आएका ओलीले जनभावनाविपरित अभिव्यक्ति दिएर सरकारको बचाउमा उत्रिएको देखिन्छ । 

प्रकृतिक प्रकोप र विपत्तिजस्ता घटना भवितव्य नै हुन् । तर यसलाई पूर्वसचेतना, सुरक्षाको तयारी र उचित समन्वयमार्फत सरकारले सम्भावित क्षतिलाई भने कम गर्नसक्ने अवस्था थियो । तर सरकार सुरक्षा संयन्त्रको प्रयोग र समन्वयमा चुक्दा धेरैमात्रामा जनधनको क्षति भएको प्रष्ट छ ।  

मुलुकको केन्द्रीय राजधानी काठमाडौं कै नख्खु क्षेत्रमासमेत उचित उद्धार र व्यवस्थापन हुन सकेन । त्यहाँका सर्बसाधारण केही मानिसको ज्यान बचाउन सफल हुँदा गृहमन्त्री भने सिंहदरबारमा क्षमा मागिरेका थिए । 

यो त, एक प्रतिनिधि घटना मात्रै हो । सरकारका यस्ता सयौँ कमजोरीका कारण पनि मुलुकमा ठूलो जनधनकोे क्षति हुन पुगेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने यी सबै वास्तविकतालाई भुलेर पूरापूर सरकारले उत्कृष्ट कार्य गरेको जिकिर गरिरहेका छन् । 

सरकारको अकर्मण्यता र अदुरदर्शीताका कारण जनतालाई विपत्तिको सामना गर्न कठिन भइरहेको अवस्था छ । तर सरकार भने आफ्ना गल्तीहरुलाई सहजरुपमा स्वीकार गर्न तयार देखिँदैन । 

यस्तोमा प्रधानमन्त्री ओलीले केही ठाउँमा भएका राम्रो प्रयासलाई ओझेलमा पारेर नराम्रो विषयलाई मात्रै उठान गरि गलत प्रचार भइरहेको दावी गरिरहेका छन् । तर समग्रमा सरकार यो विपत्तामा नागरिकको जनधनको सुरक्षा गर्न चुकेको निश्चय नै हो । तसर्थ सरकार यो यथार्थतालाई अस्वीकार गरेर जिम्मेवारीप्रति चुकेको तथ्यबाट पन्छिन कदापी मिल्दैन ।                                
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update