काठमाडौं । असोज ११ र १२ गतेको भारी वर्षापछिको विपद्को समयमा उद्धार र खोजीमा कमजोरी रहेको प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले स्वीकारेका छन् ।
मौसम विभागले भारी वर्षा हुने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरे पनि त्यो किसिमको पूर्वतयारी हुन नसक्दा संघीय राजधानी काठमाडौंमै ठूलो धनजनको क्षति भएको छ ।
ओली सरकारमाथि विभिन्न किसिमको दोषारोपण गरिरहेको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले यहि विषयलाई ओली सरकार पूर्ण रुपमा असफल भएको निश्कर्ष नै निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भन्दै असोज ४ गते न्यूयोर्क प्रस्थान गरेका थिए । ओली अमेरिकामै रहेकाबेला असोज ११ र १२ गते काठमाडौंसहित देशैभर भारी वर्षाले ठूलो विपद् निम्त्यायो । तर विपद् लगत्तै ओलीले स्वदेश फर्किएनन् ।
उनी निर्धारित कार्यक्रम अनुसार नै असोज १४ गते मात्रै स्वदेश फिर्ता भए । स्वदेश फर्किए लगत्तै विपद्का विषयमा प्रधानमन्त्री ओलीले दिएको प्रतिक्रियाले पनि नागरिकलाई चिढाएको छ ।
यसअघि एमालेकै समर्थनमा सरकारको नेतृत्व सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ताच्यूत भएदेखि नै राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति नै बिग्रिएको तथा भू राजनीतिक चेपुवामा परेको बताइरहेका छन् ।
यो पटक सरकारकै मातहतको मौसम पूवानुमान महाशाखाले अति वर्षा हुने पूर्वानुमान गर्दै ५८ जिल्लालाई रेड अलर्ट नै जारी गरेको थियो । तर सरकारले त्यो किसिमको पूर्व तयारी गर्न सकेन । विपद्पछिको दुई दिनमा प्रधानमन्त्री ओलीले गरेको पत्रकार सम्मेलनमा सरकारले २ दिनमै खोजी र उद्धार सम्पन्न गर्ने प्रतिवद्धता जनाएको थियो ।
मौसम पूर्वानुमानअनुसार सरकारले पूर्व तयारी नगर्दा राज्यले ठूलो धनजनको क्षति ब्यहोर्नु पर्यो । विपद्कै बेलामा पनि कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह र मुख्य सचिव अर्याल छुट्टाछुट्टै सम्मान थाप्ने कार्यक्रममा ब्यस्त रहेका थिए । त्यसैले प्रमुख विपक्षी दल माओवादी सरकारप्रति आक्रोशित छ ।
एमाले सहितको तत्कालिन माओवादी नेतृत्वको सरकारले पछिल्लो समय भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाएको थियो । त्यहीबेला नक्कली भुटानी शरणार्र्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि एकाएक राजनीतिक कोर्ष नै परिवर्तन भयो ।
सरकार छाड्नु परेको छटपटी भएका दाहालले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिमा पनि आर्थिक चलखेल गरेको आरोप प्रधानमन्त्री ओलीलाई लगाएका छन् । जसको ओली आफैले स्पट गरेका छन् ।
दशैंको मुखमा भएको विपद्ले सडकहरु अझै पनि पूर्ण रुपमा सञ्चालन हुन सकेका छ्रैनन् । काठमाडौं उपत्यकामै पनि खोजी र उद्धार गर्न नसकेको तथा काठमाडौं र धादिङ सीमा क्षेत्रको झ्याप्लेखोला पहिरोमा पनि कमजोरी भएको माओवादीको आरोप छ ।
राष्ट्रिय विपद् मात्र नभई अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा पनि सरकार पूर्ण रुपमै असफल भएको माओवादीले निश्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दलले लगाएको आरोपलाई चिर्दै दशैंतिहार जस्ता महत्वपूर्ण चाडमा सडक सुधार गरी यातायात सेवा सहज बनाउनुपर्ने सरकार सामु छ ।
