काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा जिम्मेवारी हेरफेरले विवाद निम्तिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवल शमशेर जबराको जिम्मेवारी खोसेको भन्दै राप्रपामा विवाद तन्किएको हो । राप्रपामा देखिएको कित्ताकाट र राजतन्त्रको मुद्दामा समेत यसले प्रभाव पार्ने विश्लेषण हुन थालेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा पूर्वपञ्चहरुको बाहुल्यता थियो । तर, विस्तारै त्यो कम हुदै गएपनि राजा मान्ने विषयमा पनि कट्टरपन्थी र नरमपन्थीहरुको गठजोडले ध्रुविकरण चलिरहन्छ । यस्तोमा पछिल्लो समय केहि शान्त देखिएको राप्रपामा महामन्त्री धवलशमशेर जबराको जिम्मेवारी विदेशमा उपचाररत हुँदा खोसिएको भन्दै आन्तरिक तनाव फेरि चुलिएको छ ।
राप्रपा अध्यक्ष रजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर जबराले सम्हालिरहेको संगठन विभाग प्रमुखको जिम्मेवारी खोसेका छन् ।
लिङ्देनले जिम्मेवारी हेरफेर गरेपछि धवल पक्षधर नेताहरुले चर्को असन्तुष्टी देखाउदै लिङ्देनमा मानवियता समेत नभएको टिप्पणी गरिरहेका छन् ।
कुनैबेला एकै समूहमा रहेका उनीहरुबीच पछिल्लो समय मतभेद चर्किन थालेको चर्चा समेत हुने गर्छ ।
कसले के जिम्मेवारी पाए ?
संगठन विभागको जिम्मेवारी खोसिएका धवललाई आन्दोलनको तयारी गर्नका लागि त्यसको प्रमुखमा सिमित राखिएको अध्यक्ष पक्षधरको दाबी छ । तर, नेताहरु यो मान्न तयार देखिन्नन् ।
अध्यक्ष लिङ्देनको कार्यशैलीमाथि नियमित प्रहार गरिरहने र प्रतिपक्षमा जसरी धवल बोल्ने भएकाले यो जिम्मेवारी हेरफेरलाई राप्रपाभित्र कारबाहीको रुपमा समेत हेरिएको छ । यो विषयमा पार्टीको निर्देशक समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले चर्को असन्तुष्टि व्यक्त गर्दै अमानवीय र अविवेकी निर्णय भएको सार्वजनिक टिप्पणी नै गरेका छन् ।
लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्, ’राप्रपाका सांसद तथा महामन्त्री धवल शमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ ।
यस्तो बेलामा उहाँलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु ।’
लिङ्देनको असन्तुष्टि
राप्रपा अध्यक्ष लिङ्देन र धवल तत्कालीन समयमा कमल थापाविरुद्ध लड्दा एकै ठाउँ उभिएका थिए । उनीहरुले मिलेर थापालाई नेतृत्वबाट पराजित गरेपछि पार्टीभित्र केहि समय उनीहरु मिलेर रहेको चर्चा राप्रपाभित्र व्याप्त छ । तर, पछिल्लो समय पार्टीका वरिष्ठ नेताहरु लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीको साथ लिएर आफुविरुद्ध धवल शमसेरले गुटबन्दी गरेको आरोप लिङ्देनले लगाउदै आएका छन् ।
धवलले पार्टी बैठकमा समेत लिङ्देनको चर्को आलोचना गर्ने र मुद्दाका आधारमा पार्टी चल्नुपर्ने दबाब दिदै आएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा गएको विषयमा समेत यो समूहले गलत कदम चालेको रुपमा अथ्र्याउने गरेको बताइन्छ ।
राजतन्त्रको वकालतमै तछाडमछाड
राजेन्द्र लिङ्देन निर्वाचन जित्न एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग सहकार्य गर्दै आएका नेता हुन् ।
राजतन्त्रको वकालत पनि गर्ने र चुनाव जित्न ओलीजस्ता वामपन्थी नेताहरुसँग सहकार्य गर्ने भनेर उनको पार्टीभित्रबाटै आलोचना हुने गरेको छ । यस्तो स्थितिमा राजतन्त्रको वकालत गर्नेहरुमा लोहनी, चन्द र पशुपतिले नयाँ ढंगले वकालत गर्ने गरेको चर्चा चल्ने गर्छ ।
राजतन्त्रको पक्षमा कडा पेश हुने पक्ष र नरम पेश हुने पक्षबीचको विवादले राप्रपामा प्रष्ट दुई धार देखिन पुगेको र पूर्चपञ्चहरुले नयाँ शीराबाट राप्रपालाई राजतन्त्रसँग जोड्न खोजेको दाबी समेत गर्दै आएको पाइन्छ ।
लिङ्देनको रणनीति
राप्रपा महामन्त्री धवल स्वास्थ्य उपचारका लागि भारतमा रहेका छन् । उपचारका लागि भारतमा रहेको बेला पार्टीले जिम्मेवारी खोसेपछि विवाद चलेको मात्रै देखिन्न, यसमा नेताहरु प्रष्ट दुईधार बनेर विवेचना शुरु गरेका छन् । तर, लिङ्देनले आफ्ना विरोधीलाई तह लगाउने गरी अघि बढेका मात्रै छैनन, उनले धवललाई आन्दोलनको जिम्मेवारी दिएर राजनीतिक परीक्षण समेत गर्न खोजेको बताइन्छ ।
उसोतः आन्दोलनको उभार आउने देखिएमा स्थिति फरक निर्माण हुने समेत विश्लेषण राप्रपामा चलिरहेको छ । दुई नेताको विवादमा फाइदामा पुग्ने नेता बने रवीन्द्र मिश्र बनिरहेको चर्चा राप्रपामा व्याप्त छ ।
