News 24 Television
नागरिक सेवामा चुकेको सरकार, प्रचण्ड एक्लो चुनौति !  

काठमाडौं । मुलुकमा दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा एमाले सम्मेलित दुई तिहाईको शक्तिशाली सरकार छ ।  यो सरकारले चाहेमा जुनसुकै विषयमा कुनै पनि समय ‘एक्सन’ लिन सक्छ । 

जुन विफल हुने संभावना कमै हुन्छ । अहिलेको अवस्थामा प्रतिपक्षले नै सरकारमाथि अड्चन थापे रोकछेक गर्नसक्ने हैसियत राख्दैन । बरु सकारात्मक कार्यका लागि प्रतिपक्षले सरकारलाई साथ दिनसक्छ । तर वर्तमान सरकारले आफ्नो दुई तिहाइँको शक्तिलाई राष्ट्रि र जनताको हितका लागि उपयोग गर्न सकेको छैन । 

बाढी पहिरबोबाट अरबौँकौ भौतिक क्षति हुँदा सयौँको ज्यान गएको स्थिति छ भने कयौँ घरबारविहीन बन्न पुगेका छन् । बाढी पहिरोबाट सिर्जित परिस्थितबाट पुनःस्थापित हुन कतिपय नागरिक सरकारसँग सहयोग मागिरहेका छन् । 

तर सरकार भने पीडितहरुकोे आवश्यकता र अभावलाई पूर्ती गर्न सफल भइरहेको छैन । यो त केवल केन्द्रीय राजधानी काठमाडौमै एक पीडितले भोगिरहेको वेदना हो । तर मुलुकभर यस्तो पीडा सयौँ जनताले भोगिरहेका छन् ।

यसका अलाव दशैँका लागि घरजाने  हजारौँ यात्रुहरु सडक अवरुद्ध भएका कारण गन्तव्यमा पुग्न सकिरहेका छैनन् । 

बाढीले प्रभावित पारेका कतिपय बस्तीहरुमा दैनिक उपभोग्य वस्तुहरुकै अभाव हुने स्थितिको सृजना भइरहेको छ । तर सरकार भने प्राकृतिक विपत्तिलाई स्वभाविक मान्दै मन्द गतिमा काम गर्ने संकेत गरिरहेको छ । 

आफ्ना कामकारवाहीबारे विविध कोणबाट चर्चा गरिरहेपनि सरकार यो विपत्तिको पूर्वतयारी, उद्धार र राहत कार्यमा चुकेकै हो । जसले काँग्रेस–एमाले सम्मेलित दुई तिहाइँको शक्तिशाली सरकारको वजन जोखिरहेको छ । 

प्रतिपक्षीको बढ्दो सक्रियता 

काँग्रेस–एमाले सम्मेलित सरकार बन्नुअघि देखि नै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने गठबन्धनमाथि प्रश्न गर्दै आएको थियो । वर्तमान सरकारमाथि पनि माओवादीले भ्रष्टाचारी र विचौलियासँग जोडेर गम्भीर टिप्पणी गर्दै आएको छ ।

त्यस्तै बाढी र पहिरोले मुलुक विपत्तिमा पर्दाको मेसो पारेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आफ्नो सक्रियता बढाएका छन् । 

बाढी पहिरोले मुलुकभर क्षति पुर्याएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर थिए । यही अवस्थामा प्रचण्डले सर्वदलीय बैठक बोलाउने प्रयास पनि गरे । यद्यपि उनले सर्बदलीय बैठक भने बसालेनन् । 

त्यस्तै सरकारले नै बचाउन नसकिएको भनेर घोषणा गरेका व्यक्तिहरुलाई बचाउन सफल भएका चणिकलाल तामाङलाई प्रोत्साहन दिन पनि प्रचण्ड अग्रसर देखिए । प्रचण्डले सरकारले भन्दा पहिल्यै चणिकलाललाई भेटर बधाइ दिएका थिए ।

प्रचण्डले देख्दा सामान्य लाग्ने तर जनतालाई प्रत्यक्ष ध्यानाकर्षित गर्नेे विषयहरुमा पनि सक्रियता बढाउन खोजेको देखिन्छ । 

यसका अलावा प्रचण्ड नागरिकको सुरक्षा र पीडितहरुको अवस्थाबारे बुझ्ने विषयमा पनि अग्रसर देखिए । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले सुरुका दिन देखिनै पीडितहरुको उद्धार तथा राहत वितरणका लागि समेत पहल गरिरहेका छन् । 

यसलाई कतिपयले सत्ता पक्षको कमजोरीलाई टेकेर प्रचण्डले जनताको मन जित्ने प्रयास गरिरहेको टिप्पणी गरिरहेका छन् । तर जेहोस् जनसेवाको मामलामा प्रचण्डको यो सक्रियता दुई तिहाइको सरकारका लागि चुनैतिका रुपमा खडा भएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update