News 24 Television
ज्ञानेन्द्र शाहको भुटान भ्रमणको भूराजनीतिक अर्थ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गरेपछि राजावादी शक्तिहरु उत्साहित बन्न थालेका छन् । नेपालसँगको औपचारिक सम्बन्धमा खास प्रभाव नदेखिदा भएको पुर्वराजाको यो भ्रमणलाई भारतको पूर्वस्वीकृतिदेखि भूराजनीतिक दृष्टीले समेत अथ्र्याउन थालिएको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाह ४ दिने भुटान भ्रमण सकेर नेपाल फर्किएका छन् । पूर्वराजा शाहको भुटान भ्रमणलाई भुटानका राजा र प्रधानमन्त्रीले औपचारिक समारोहको रुपमा सामाजिक सञ्जालमा नराखेपनि यो भ्रमणले राजावादी शक्तिहरु भने उत्साहित बनिरहेका छन् । 

ज्ञानेन्द्रको भुटान भ्रमणले नेपालमा परिवर्तनका संकेतहरु देखा पर्न थालेको जिकिर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचार गरिरहेको छ । प्रतिनिधिसभाको पाँचौं दल राप्रपाले यसरी उत्सव मनाइरहेपनि राष्ट्रिय राजनीतिमा यसले ठूलो प्रभाव पार्ला ? चासो बढ्न थालेको छ । 

ज्ञानेन्द्रको भुटान भ्रमणको भूराजनीतिक अर्थ

पूर्वराजा ज्ञानेन्द्रले बेलाबेलामा असन्तुष्टी पोख्ने गर्छन् । पछिल्लो समय राजदरबार हत्याबारे समेत आफू र आफ्नो परिवारलाई जोडेकोमा चित्त दुखाउदै सार्वजनिक अभिव्यक्ति नै दिएका उनी सार्वभौमसत्ता सम्पन्न जनताले नै मुलुकको भविष्य निर्धारण गर्ने र दलबाट जनतामा निराशा छाएको दाबी गरिरहन्छन् । तर, उनको सक्रियताले कस्तो प्रभाव पार्ला ? यसको भुराजनीतिक प्रभाव कस्तो रहला ? लगायतका वियषमा भने प्रश्न उठ्ने गर्छ । 

ज्ञानेन्द्रको भुटान भ्रमणलाई भारतसँग जोडेर हेर्ने गरिन्छ । भारतले भुटानको परराष्ट्रनीतिमा समेत विशेष कदम चाल्ने भएकाले उनको भुटान भ्रमणलाई भारतसँग समेत जोडेर हेर्न थालिएको छ । भुटानले ज्ञानेन्द्रको भ्रमण भारतको पुर्वस्वीकृतिमा नै गराएको दाबी राजावादी दल राप्रपाले गरिरहेको छ भने भुटानमा ओछ्याइएको रेड कार्पेटलाई समेत विशेष प्रचार सामग्री बनाउन खोजिएको छ । 

हुनत नेपालमा भूराजनीतिक चलखेल तीब्र बनिरहेको र देशी विदेशी शक्तिले नेपालको परिवर्तन उल्ट्याउन खोजिरहेको चर्चा धेरै चल्ने गर्छ । यस्तोमा के ज्ञानेन्द्रको भ्रमणमा भारतको पनि हात छ ? यसमा खोजि भने शुरु भइसकेको छ । 

नेपाल भुटान सम्बन्ध

नेपाल भुटान सम्बन्ध भुटानी शरणार्थी प्रकरणदेखि खास राम्रो छैन । पछिल्लो समय नेपाल भुटानबीच उच्चस्तरिय भ्रमण समेत हुन सकेको देखिन्न भने भुटान र नेपालको सम्बन्धमा नयाँ विकास समेत भएको छैन । 

यस्तोमा भुटानले पुर्वराजालाई रेड कार्पेट विछ्याएर थप विवाद लम्ब्याउन खोजेको त होइन भन्ने शंका पनि छ । यद्यपी भुटानबारे भारतले धेरै विषय व्यवस्थापन गर्ने भएकाले यो विषय भारतसँग पनि जोडिन सक्ने खतरा उत्तिकै छ । 

नेपाल–भारतबीच देखिएको सीमा विवाददेखि थुप्रै मतभेदलाई भारतले पुर्वराजाको प्रयोगबाट सन्तुलनमा ल्याउन खोजेको त होइन भन्ने शंका समेत उब्जाएको छ । 

त्यस्तै पूर्वराजासँग एकदमै निकट भएका कोर राजावादीहरु यदि पूर्वराजाले भारतको प्रस्ताव निःसर्त मान्ने हो भने वर्तमान व्यवस्थामाथि नै चलखेल हुन सक्ने दाबी गर्छन् । 

सम्भवतः यही कारण पनि हुन सक्छ पूर्वराजाको कुनै पनि अभिव्यक्ति सार्वजनिक हुने बित्तिकै राजनीतिक दलका नेताहरु चर्को आलोचनामा उत्रिहाल्छन् । तर पूर्वराजाको पछिल्लो भुटान भ्रमणलाई नेपालले कसरी लिन्छ भन्ने प्रश्न र चासो भने जिवितै छ । 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update