काठमाडौं । प्रधानमन्त्री मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा निस्किन लागेका छन् । ओलीको चीन भ्रमणमा चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा सम्झौता हुने धेरैको अपेक्षा छ । तर, त्योभन्दा पहिले भारत भ्रमणको तयारीमा ओलीको सक्रियताले संसय मच्चाइदिएको छ ।
प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमणमा जाने गरि परराष्ट्रमन्त्री आरजु राणा देउवाको दौडधुप बढिरहेको छ । भ्रमणको पूर्वतयारीको जिम्मा कांग्रेस एमाले सम्मिलित राजनीतिक संयन्त्रले निर्णय नै गरेर आरजुलाई संयोजनको जिम्मा दिएको छ । तर, ओलीको चीन भ्रमणअघि भारत भ्रमणको तयारी तीब्र बन्न थालेपछि के बीआरआई सम्झौतामा हस्तक्षर होला ? चासो र आशंका व्यक्त हुन थालेका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई चीन भ्रमणको औपचारिक निमन्त्रणा प्राप्त भइसकेको छ भने भारतले पनि दबाब बढाएको छ । यस्तोमा ओलीले लिने निर्णयले नै यी भ्रमण कस्ता हुन्छन भन्ने ठेगान लाग्ने धेरैले तर्क गर्न थालेका छन् ।
चीन विच्किने सम्भावना
चीन अघि भारत जाने तयारीमा प्रधानमन्त्री ओलीले संयन्त्र परिचालन गरेपछि चीन क्रुद्ध बन्ने बताइन थालेको छ । भ्रमणको मिति तयार भएर सरकारी संयन्त्रहरुले भ्रमणको औपचारिक तयारी गरेपछि ओलीले खासखुस गर्दै भारत भ्रमण गर्न थाल्नुलाई चीनले सहज लिन सक्ने स्थिति बन्न नसक्ने स्थिति छ ।
भारत पनि नेपालमा आफ्नो प्रभाव देखाउन पहिलो भ्रमण अन्तिम समयमा अन्यत्रबाट हुन नसक्ने सन्देश दिन चाहन्छ । यस्तोमा ओलीले भारत भ्रमणलाई पहिलो बनाएका चीन विच्किने सम्भावना रहेको बताइन्छ । भारत भ्रमणको चर्चा चलेपनि प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई भने यस्तो प्रश्नको ठाडै अस्वीकार गर्छन् ।
बीआरआई सम्झौता
प्रचण्ड नेतृत्वको सरकारले नै बीआरआई फ्रेमवर्कमा सम्झौताको अन्तिम तयारी गरिसकेको थियो । तर, अन्तिम समयमा आएर चिनियाँ पक्षले नै केहि विषयमा राजनीतिक सहमति चाहिने भनेपछि सम्झौता पछिलाई धकेलिएको थियो ।
त्यसपछि ओलीको आसन्न चीन भ्रमणमा यो सम्झौताले मूर्तरुप लिने गरि तयारी चलेपनि सत्ता गठबन्धनको जटिलता र ओलीलाई भारत भ्रमणको दबाबले फेरि बीआरआई सम्झौता नहुनेतर्फ सोझिएको कुटनीतिज्ञहरुले बताउन थालेका छन् । तर, ओलीले जुन देशबाट पहिलो भ्रमण गरेपनि राष्ट्रिय एजेण्डा नै बनाएर समानताको आधारमा नेपालको दाबी पेश गर्न सके स्थिति सम्हालिने समेत कतिपयको तर्क छ ।
गठबन्धनको सकस
कांग्रेस एमाले गठबन्धनका कारण प्रधामन्त्री केपी ओलीको चीन भ्रमण फलदायी नबन्ने तर्क गरिदै आएका छन् । कांग्रेस बीआरआईअन्तर्गत ऋण स्वीकार गर्न नसकिने अडानमा देखिन्छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नै यस्तो अडानमा रहेको बेला आरजुले भ्रमणको संयोजनको जिम्मा पाउनुलाई समेत अर्थपूर्ण ठानिएको छ । चीनले केहि ऋण र केहि सस्तो ब्याजको अनुदानमा बीआरआई सम्झौताको प्रस्ताव गरेको छ ।
यसमा एमाले तयार नै देखिन्छ । तर, कांग्रेस राजी नहुनु र भारतले दिएको भ्रमणको निम्ता जबरजस्त मिसिदा अब बीआरआई पेचिलो बन्ने खतरा बढ्दै गएको छ ।
कांग्रेसको बीआरआईप्रतिको बुझाई र एमालेको बीआरआईप्रतिको लचकता नै गठबन्धनको समस्या बन्ने र अन्ततः सरकार नै तलमाथि हुने त होइन भन्नेसम्मका आशका पनि छन् । तर, ओलीको भारत भ्रमण र कांग्रेसको रणनीति सार्वजनिक नभएसम्म यसै भन्न सकिने स्थिति भने छैन् ।
