काठमाडौं । चुनावी गठबन्धन नगर्ने नेपाली कांग्रेसको रणनीति उपचुनावमा पुग्दा फेल भएको छ । चुनावी गठबन्धनले लोकतन्त्रको रक्षा हुन नसक्ने, पार्टीको जनमत पनि नजोगिने र मतदाताले आफ्नो निर्वाचन चिन्हमा मतदान गर्न नपाउने भन्दै रन्थनिएको कांग्रेस अन्ततः चुनावी गठबन्धनमा होमिएको छ । तर, चुनावी गठबन्धनबारे कांग्रेसले गरेको निर्णय अब के होला ?
कांग्रेसमा चुनावी गठबन्धन गर्नै नहुने विषय पेचिलो ढंगले उठ्यो । चुनावी गठबन्धनको विवादले तत्कालीन सत्ता गठबन्धनमा खटपट नै भयो ।
माओवादी केन्द्रसहितको चुनावी गठबन्धनबाट प्राप्त नतिजा र त्यसपछि बनेको सरकारको बेला नै कांग्रेसले लामो रस्साकस्सीपछि चुनावी गठबन्धन नगर्ने निर्णय ग¥यो । जसमा मुख्य भूमिका थियो, महामन्त्री गगन थापाको । थापाले २०८१ भदौ १७ गरेको केन्द्रिय समितिमा पेश गरेको प्रतिवेदनको भाषामा थोरै परिमार्जनसहित चुनावी गठबन्धन नगर्ने निर्णय गरियो ।
कांग्रेसले यस्तो निर्णय गर्नुमा महामन्त्री गगन थापाको ठूलो योगदान थियो । गगनले लामो समयदेखि चुनावी गठबन्धन गर्न नहुनेमा आवाज उठाइरहेका थिए । उनले प्रायः कार्यक्रममा चुनावी गठबन्धनको विरोध गर्ने र यसलाई बन्द गर्नुपर्ने तर्क गरिराख्थे । अझं, गठबन्धन गरिए कांग्रेस एक नरहने चेतावनी समेत दिन्थे ।
उसोतः चुनावी गठबन्धनबारे कांग्रेसको राजनीतिबाट राष्ट्रपति बनेका प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रिएलायान्स गरेर जाँदा लोकतन्त्र खतरामा जाने र कांग्रेसलाई पनि घाटा भएको जिकिर गरिरहेका पाइन्छन् ।
चुनावी गठबन्धनलाई रोक्ने कांग्रेसको निर्णय उपचुनावमा आएर असफल भएको स्थिति छ । उपचुनावमा पुगेपछि कांग्रेसले सत्तारुढ दल नेकपा एमालेसँग मिलेर चुनावमा होमिएपछि यो निर्णयबोर कांग्रेस के भन्ला भन्ने चासो समेत बढेको छ ।
कहाँ भयो गठबवन्धन ?
रुकुम पूर्व
माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिने रुकुम पूर्वमा कांग्रेस एमालेले चुनावी गठबन्धन गरेका छन् । पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष पदका लागि हुन लागेको उपचुनावमा एमालेलाई कांग्रेसले सघाउने भएको छ । उसोतः रुकुम पूर्वमा एमालेले रुख चुनाव चिन्ह लिएर उपाध्यक्ष र सूर्य चिन्ह लिएर वडाध्यक्षको निर्वाचनमा जानेछ ।
ओखलढुंगा र कैलाली
ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेले कांग्रेसलाई सघाउने भएको छ । दुबै जिल्लामा एमालेले जिसस प्रमुखका लागि उम्मेदवारी नै दिएको छैन् ।
कांग्रेसका उम्मेदवारलाई एमालेले मतदान गर्नेछ । यसरी हेर्दा दुबै जिल्लाको जिसस प्रमुख कांग्रेसले हात पार्ने सुनिश्चित भइसकेको छ ।
यसरी चुनावी गठबन्धन गरेको कांग्रेस र यस्तो निर्णय गराउन लागिपरेका महामन्त्री गगन थापाले अब दिने जवाफ कस्तो होला ? यसको समेत अपेक्षा गरिएको छ । यद्यपी पछिल्लो समय थापा पार्टी सभापति शेरबहादुर देउवा निकट बन्दै गएका छन् ।
आसन्न पार्टी महाधिवेशनमा देउवाको साथ लिन कस्सिएका थापाले देउवाले रुचाउने गठबन्धन संस्कृतिको विरोध गर्लान ? यो समेत रोचक विषय बनेको छ । तर, गगनकै प्रतिष्पर्धी अर्का महामन्त्री विश्वप्रकाश शर्मा उपचुनावको कमाण्डर तोकिएका छन् । जसले गगनको चुनावी गठबन्धन नगर्ने रणनीतिलाई रुकुम पुर्वबाट असफल गराइदिएका छन् ।
