काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको तयारी फितलो बन्दा यसको प्रभाव दुई मुलुकको सम्बन्धन विस्तारमा पर्ने त होइन भन्ने चिन्ता बढेको छ । ओलीले चीन भ्रमण गर्ने विषय किन चर्चा र चासोमा पर्न सकेन ?
प्रधानमन्त्री मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाने तयारी छ । भ्रमणको केहि सातामात्र बाँकी रहँदा समेत उनको भ्रमणको तयारी भने खास देखिन्न । हुनत प्रधानमन्त्री केपी ओलीले चीनभन्दा पहिले भारत भ्रमण गर्न सक्ने सम्भावना पनि उत्तिकै छ । तर, सार्वजनिक रुपमा ओलीमाथि भारत भ्रमणमा जाँदा राजनीतिक समस्या निम्तिन सक्ने स्थिति सिर्जना भएपछि उनले चीन भ्रमणलाई पनि महत्वकासाथ अघि बढाउन भने सकेका छैनन् । चीन भ्रमणका लागि भन्दै प्रदेश मन्त्रीहरुले विभिन्न माग राख्ने र भ्रमणको एजेण्डामा पार्ने मुद्दाहरुबारे पत्र नै बुझाउन थालेका छन् ।
तर, सरकारको नेतृत्व गरिरहेका ओली भने आफ्नो औपचारिक विदेश भ्रमणलाई व्यापक बनाउन सकेका छैनन् । जसले गर्दा उनको चीन भ्रमण देखाउनका लागि मात्रै हुने त होइन भन्ने चिन्ता समेत बढाएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणका लागि विज्ञ, परराष्ट्र मामलाका जानकार, सरकारी पूर्वउच्च अधिकारी, सरोकारवाला तथा संसदका विभिन्न समितिमा छलफल गरेर एजेण्डा तय गर्नुपर्ने भएपनि उनको यो भ्रमण नीजि जस्तो बन्ने खतरा बढेको छ । प्रधानमन्त्रीको चीन भ्रमणकै विषयमा छलफल गर्न बोलाइएको संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठक परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यस्तताका कारण स्थगित भनिनुले पनि भ्रमणको तयारी फितलो भइरहेको पुष्टि हुन्छ ।
कांग्रेसको अलमल
प्रधानमन्त्री ओलीको चीन भ्रमणको संयोजनको जिम्मा परराष्ट्रमन्त्री आरजु राणाले पाएकी छन् । उनले ओलीको भ्रमणको संयोजन कसरी गर्दैछिन भन्ने जानकारी उनीबाहेकलाई थाहा छैन । सार्वजनिक सरोकारको विषय भएपनि आरजुले यो भ्रमणलाई महत्वका साथ समय दिएको देखिन्न । हुनत आरजु यहि भ्रमणलाई केन्द्रमा राख्दै मंसिर १३ गते चीन जाने कार्यक्रम पनि तय भएको छ । तर, त्यो भन्दा अघि हुनुपर्ने गतिविधि शून्यप्रायः देखिएकाले ओलीको भ्रमण तयारी फितलो बन्दै गएको बताइन्छ । कांग्रेसले ओलीको चीन भ्रमणलाई बीआरआई सम्झौतासँग जोडेर हेरिरहेको छ ।
बीआरआई सम्झौता अनुदानबाहेक गर्न नसकिने बुझाईमा रहेको कांग्रेस एमालेले जसरी खुला रुपमा बीआरआईलाई ऋण र अनुदानको रुपमा स्वीकार गर्नेमा सहज देखिन्न । कांग्रेसको यही अडान र आशय बुझेका कारण पनि ओली आफैपनि भ्रमणलाई लिएर उत्साहित नदेखिएको चर्चा चल्न थालेको छ ।
बीआरआईको भाँजो
सत्तारुढ दल नेपाली कांग्रेस बीआरआईलाई अनुदानको रुपमा स्विकार गर्न कुनै समस्या नभएपनि ऋणको रुपमा स्वीकार गर्न नसकिनेमा सुरुदेखि नै दृढ छ । कांग्रेस पदाधिकारी नै यो निर्णयमा सहमत भएपछि निर्णय सार्वजनिक भएको छ ।
कांग्रेस यतिमै रोकिएको छैन् । अमेरिकी सहायता परियोजना एमसीसीलाई नेपालको संसदमा नै छलफल भएको भन्दै बीआरआईलाई सम्झौतामा लगिहाल्न तयार देखिन्न । यसको छनक परराष्ट्रमन्त्री आरजु राणाले दिदै आएकी छन् ।
यता एमाले भने बीआरआई परियोजनामा सकारात्मक छ । एमसीसी स्वीकार गरिसकेपछि बीआरआई किन अस्वीकार गर्ने भन्ने मनशाय पोख्नेमा देखिन्छ । अझं सभामुख देवराज घिमिरेले पनि बीआरआईलाई नेपालले सहज रुपमा लिएर स्वीकार गर्नुपर्ने तर्क गरिरहेका देखिन्छन् ।
एमालेका नेताहरु यतिबेला चीन भ्रमणमा छन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको जम्बो टोलीले चीनमा गरिरहेको भ्रमण र उनीहरुले दर्शाइरहेका सद्भावका विषय हेर्दा पनि एमाले चीनप्रति अनुग्रहित नै देखिन्छ । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको पूर्वसन्ध्यामा भएको यो भ्रमण समेत अर्थपूर्ण भएकाले सत्ता गठबन्धनभित्र बीआरआईलाई लिएर नै मतभेद हुँदा तयारी तीब्र बन्न नसकेको चर्चा चल्न थालेको छ ।
