News 24 Television
बीआरआईः नेपालका लागि चुनौति र अवसर 

काठमाडौं । चीनको बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआईमा सत्तारुढ कांग्रेस र एमाले विपरित ध्रुवमा छन् । आशन्न चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयनको योजनामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसको अडानका कारण पछि हटेका छन् । ऋणमा बीआरआई स्वीकार गर्नै नहुने कांग्रेसको अडानका कारण प्रधानमन्त्री ओलीको पनि बोली फेरिएको छ । 

आफ्नो भ्रमणको क्रममा ऋणको सर्तमा बीआरआई नस्वीकार्ने आशय ओलीले प्रकट गरिरहेका छन् । तर भ्रमणको मिति नजिकिदैँ जाँदा हुन सक्ने सम्भावित उलटपलटका बीच यदि बीआरआई कार्यान्वयनको चरणमा गइहाले यसमा नेपालले खेल्ने भूमिका कस्तो हुनुपर्छ ? 

नेपालले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईमा हस्ताक्षर गरेको सात वर्ष पूरा भइसकेको छ । तर यो समयावधिमा नेपालले आफ्नो भूमिका र बीआरआई कार्यन्वयनको स्पष्ट खाका तय गर्न सकेको छैन । 

पूर्वाधार विकास गर्दै जल तथा जमिनबाट विश्वभर व्यापारिक जालो विस्तार गर्ने उद्देश्य सहितको बीआरआई नेपालजस्तो भौगोलिक अवस्थिति भएको र आर्थिकरुपले कमजोर राष्ट्रका लागि अवसर र चुनौती दुवै हो । तर यसमा नेपालले कस्तो भूमिका खेल्छ त्यो महत्वपूर्ण हुन्छ ।

नेपालले बीआरआईमार्फ्त ठूलो पूर्वाधार विकास गर्न सक्ने सम्भावना छ । चीनले प्रस्ताव गरेको रेलमार्ग, राजमार्ग, र उर्जा परियोजनाहरू नेपालका लागि आर्थिक विकासका आधार बन्न सक्छन् । 

तातोपानी र रसुवागढी नाकाबाट चीनसँगको व्यापारलाई सहज बनाउन बीआरआई परियोजना सहयोगी हुन सक्छन् । 

अर्कोतर्फ, बीआरआईकै कारण हिमालयको कनेक्टिभिटी बढ्दै जाँदा नेपाल, दक्षिण एसिया र चीनबीचको व्यापारिक पुल बन्न सक्छ । 

यसले नेपालको आर्थिक उन्नती मात्रै होइन, क्षेत्रीय शक्ति सन्तुलनको कूटनीतिक खेलमा नेपाललाई महत्वपूर्ण स्थान पनि दिलाउन सक्छ । 

नेपाललाई चुनौति ! 

तर यति हुँदाहुँदै पनि बीआरआई कार्यन्वयनमा गए नेपालले धेरै चुनौतिहरुको सामना गर्नु पर्ने हुन्छ । बीआरआई अन्तर्गत विश्वका धेरै देशहरुले पूर्वाधार परियोजनाहरुका लागि ठूलो मात्रामा ऋण लिएका छन् । तर, ऋण समयमै तिर्न नसक्दा ती एसियाकै श्रीलंका, पाकिस्तान, म्यानमार, माल्दिभ्स सहित अन्य महादेशका धेरै देशहरु बीआरआईको ऋण जालमा फसेका छन् । 

त्यसैले बीआरआई अन्तर्गतको ऋण लिदाँ त्यसले बढाउने आर्थिक निर्भरताले नेपाल पनि समस्यामा फस्न सक्छ । बीआरआईका कारण नेपाल भूराजनीतिको चपेटामा पर्ने खतरा पनि उत्तिकै छ । 

भारत र चीनबीचको रणनीतिक महत्वमा रहेको नेपालको सम्बन्धमा बीआरआईकै कारण भारतसँग खटपट आउन सक्छ । हिमालय कनेक्टीभिटी बढाउने क्रममा उत्तरी क्षेत्रमा बनाइने ठूला परियोजनाहरुले हिमाली क्षेत्रमा वातावरणीय अवस्थितिमा असर पु¥याउन सक्छ । 

नेपालले खेल्नु पर्ने भूमिका ? 

-सबैभन्दा शुरुमा बीआरआईमा सहभागि हुँदा नेपालले आफ्नो राष्ट्रिय हितलाई सबैभन्दा माथि राख्नुपर्छ । 

 -नेपालले चीन र भारतसँग सन्तुलन कायम गर्दै आफ्नो स्वायत्तता सुनिश्चित गर्नुपर्छ । अहिलेको अवस्थामा भारतको संवेदनशीलतालाई बेवास्ता नगरी बीआरआई परियोजनामा सहभागि हुनुपर्छ । 

-नेपालले बीआरआईमार्फत् रेल र राजमार्गजस्ता पूर्वाधार परियोजना प्राथमिकता दिनुपर्छ । तर ऋणको दीर्घकालीन प्रभावको विश्लेषण गरेर मात्र । 

- ठूला परियोजनाहरू कार्यान्वयन गर्दा स्वदेशी जनशक्तिलाई उपयोग गरी स्वदेशी सीप, प्रविधि र उत्पादनको विकासमा नेपालले ध्यान दिएन भने नेपाल स्वतः आर्थिक भारमा पर्दै जानेछ । 

- हरेक परियोजनामा वातावरणीय मूल्यांकन र पारदर्शिताको ख्याल गर्न जरुरी छ भने त्यसले पु¥याउने सामाजिक तथा सांस्कृतिक अतिक्रमणका बारेमा पनि नेपाल अत्यन्तै चनाखो बन्नुपर्छ । 

चुनौतिसँगै अवसर हुने भएकाले पनि नेपालले बीआरआईलाई आफ्नो विकास यात्रा सफल बनाउन प्रयोग गर्न सक्छ । 

यसका लागि सावधानीपूर्वक योजना बनाउने र कार्यान्वयन गर्ने चीनसँगको सम्बन्धलाई आर्थिक विकासको स्रोत बनाउँदै भारतसँगको पुरानो सांस्कृतिक र भौगोलिक सम्बन्धलाई पनि मजबुत बनाउनुपर्छ । यस्तो हुन सकेमात्रै बीआरआई नेपालका बोझ होइन अवसर बन्न सक्छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update