News 24 Television
बेवारिसे बन्यो मृतकलाई सम्झिने ठाउँ, पुननिर्माणको सम्भावना कम 

काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को विमानहरू अन्तिम पटक नेपाली आकाशमा डिसेम्बर २०१४ मा देखिएको भएपनि पीआईए मेमोरियल पार्क भनेर चिनिने स्मारकले स्थानीय र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गथ्र्यो । तर, गत असोजको पहिरोले ‘मेमोरियल पार्क’ लाई पनि सम्झनामा मात्रै सीमित बनाइदिएको छ । 

यो स्थान गोदावरी नगरपालीका–६ मा रहेको ‘पीआईए मेमोरियल पार्क लेले’ हो । गत असोज ११ गतेसम्म यो सुन्दर पार्क थियो । तर, १२ गतेको पहिरोले खण्डहर बनाइदियो । पार्क प्रवेश गर्नासाथ स्वागत गर्ने जाइफुलका बोट र धुपिका रुखहरू सबै पहिरोले तहसनहस बनाएको छ । 

सेप्टेम्बर २८, १९९२ मा, पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को २६८ कल साइन भएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानस्थलबाट करिब १० नटिकल माइल दक्षिणमा रहेको भट्टेडाँडामा दुर्घटनामा परेको थियो । सो जहान दुर्घटनामा १२ देशका एक सय ५५ र चालक दलका १२ जना गरी एक सय ६७ जनाको मृत्यु भएको थियो । 

यो नेपालको इतिहासमा सबैभन्दा घातक उड्डयन दुर्घटनाहरू मध्ये एक हो । दुर्घटनास्थलबाट करिब १० किलोमिटर उत्तरमा पहाडको फेदमा पीआईएले मेमोरियल पार्क बनाएको थियो ।

सन् २०१२ देखि पीआईएले मर्मतसम्भारको लागि भुक्तान बन्द गरेर दुर्घटनाका पीडितका आफन्तहरूलाई जिम्मा लगाएको थियो । गत फागुनबाट भने गोदावरी नगरपालिका आफैले रेखदेख गथ्र्यो ।

पीआईए पार्कसँग १ सय ६७ जनाको मात्रै नभई टिकाभैरव लेलेका स्थानीयहरूको पनि सम्झना जोडिएको छ । पार्कमा शवहरू गाडिएको भएपनि त्यो क्षेत्र चिहान मात्रै नभई स्फूर्तिको केन्द्र पनि थियो । 

यो स्थान शान्त वातावरणको प्रतीक बनेको थियो । जहाँ स्थानीय बासिन्दा, पर्यटक र मृतकका परिवारजन शोक व्यक्त गर्न र प्रार्थना गर्न जान्थे । 

आफन्तलाई घुमाउनदेखि ड्राइ पिक्निक गर्नसम्म पीआईए पार्क उत्कृष्ट गन्तब्य बनेको थियो । यो पार्क दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली दिन र घटनास्थलको ऐतिहासिक महत्वलाई सम्झन निर्माण गरिएकाले पार्कभित्र दुर्घटनासँग सम्बन्धित जानकारी र यात्रुहरूको नाम उल्लेख गरिएको स्मारक थियो । 

पार्कमा प्रवेश गरेपछि जीवन्त हरियो घाँसले सजिएको बाटो र सिमेन्टका ‘वाक वे’ पहिरोपछि देखिन छाडेका छन् । प्रवेशद्वारदेखि अन्तिम स्मारकसम्म, एक सानो झुपडी आकारको कोठामा विभिन्न भाषाहरूमा सेतो ढुङ्गामा कुँदिएको पार्कबारे दिइएको संक्षिप्त जानकारी पनि आशंक रुपमा क्षति भएको छ । 

पर्क भित्र निर्माण गरिएका बगैंचा र प्रतिक्षालय पूर्णरुपमा क्षति भएका छन् । पार्क प्रवेश गर्दा पृथ्वी र आकाश बीचको सम्बन्धको प्रतीक जस्तो लाग्थ्यो । तर, गोदावरी नगरपालिकामा पहिरोका कारण अर्बौंको नोक्सान भएकाले पार्कको पुर्ननिर्माण तत्काल नहुने देखिन्छ । 

यो प्रकृतिको शान्तिलाई अँगाल्न, दिवंगतहरूलाई सम्मान गर्न र सम्झनाको सुन्दरतामा सान्त्वना दिने गन्तब्य पनि हो । 

यो पार्क मात्रै नभई हवाई क्षेत्रमा गर्नुपर्ने सुधारको सम्झना भएकाले पनि यसको पुर्ननिर्माणमा स्थानीय सरकार मात्रै नभई केन्द्र र प्रदेश सरकारहरूले पनि तादरुकता देखाउन आवश्यक छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update