News 24 Television
घन्टीघरमा पोखियो रास्वपाको आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गरेर पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै आएको छ ।

रविमाथि राज्य सयन्त्रमात्रै नभई सञ्चार क्षेत्रले पनि बलपू्वक फसाउने नियत राखेको भन्दै आक्रोश पोखेको रास्वपाले सरकारको नियतमाथि थप प्रश्न उठाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेको आरोपलाई थप जोडबलले उठाएको छ ।

एमाले कोशी प्रदेशका सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको कार्यालयको निर्णयलाई जोडेर रास्वपाले आफ्नो दलमाथि प्रतिशोध साँधिएको पुष्टी भएको जिकिर गरेको छ । 

रास्वपाले यस्तो जिकिर गर्दै सरकारले प्रतिशोध साँधेको आरोप लगाएको रास्वपाले रवि लामिछानेले सहकारीको ब्याज तिर्न भन्दै चेक काटेको विषयलाई समेत राज्यले सेटिङ मिलाएर सार्वजनिक गरेको दाबी गरेको छ । रविले सहकारीको ब्याज तिर्न चेक काटेको विषयलाई रास्वपाले खण्डन गर्दै राज्यशक्ति नै लागि परेर चौतर्फी हमला भएको दाबी गरेको छ । 

रास्वपाले रविको वचाउमा हिरासतमा रविले भनेका कुरा भन्दै लामो सन्देश समेत प्रवाह गरेको देखिन्छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले रविको तर्फबाट भन्दै सार्वजनिक गरेको भनाईमा समेत रविले खाली चेकमा हस्ताक्षर गरेर छाड्ने गरेको जिकिर गरिएको छ ।

कार्यकारी अध्यक्ष जिबी राईको निर्देशनमा भन्दै रविले काटेको चेकलाई समेत रास्वपाले प्रमाणको रुपमा स्वीकार गर्न नसकिने दलिल पेश गरेको छ भने रविले आफूमाथि सहकारी ठगीको झुठा मुद्दा लगाएर राज्यले दुख दिन खोजेको र निलो क्रान्ति फेर्नुपर्ने स्थिति आइलागेको भनेको उल्लेख गरिएको छ ।

शान्तिपूर्ण ढंगले गरिएको प्रदर्शन रविले नै रोक्न भनेको जिकिरसहित झाले सार्वजनिक गरेको सन्देशमा रविलाई उदृत गर्दै भनिएको छ, ‘सहकारीबाट ऋण लिने कुनै निर्णय कम्पनीले गरेको छैन । 

कार्यकारी अध्यक्ष एवम् लगानीकर्ता जिवी राईले ब्याज नलाग्ने ऋण लिएको ‘डिक्लेयर’ गरेका छन् । उनको निर्देशनमा कुनै चेकहरु काटिएको हुन सक्छ र त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला ।  

साथै, व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरुका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो । कतै दुरुपयोग पो भयो कि ? जे भए पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा समेत सहकारीबाट ऋण लिएको छैन, सहकारीको ऋणको सावाँ, ब्याज, किस्ता तिर्न भनी कुनै पत्र, सूचना प्राप्त भएको वा सार्वजनिक भएको जानकारी छैन । त्यसैले प्रस्तुत चेकबारे ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफ दिएको थिएँ ।’

सहकारीको साँवा ब्याज तिर्न रविले चेक काटेको भेटिएपनि थाहा छैन भन्ने शैलीलाई भने छाडिएको छैन । रविले यस्ता चेकका सपोर्टिङ डकुमेन्ट गर्नुपर्ने जिकिर गरेका छन भने ती चेकहरुले पनि सहकारी ठगी पुष्टी नहुने जिकिर गरेका छन् । तर, अनुसन्धानको क्रममा रहेको बेला सूचना धमाधम चुहिनु र नियमित रुपमा मिडियामा सार्वजनिक हुनुलाई भने उनीहरुले प्रतिशोध साँध्न राज्य लागेको अर्थमा बुझेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update