काठमाडौं । सामाजिक सुरक्षा कोषको प्रभावकारीता बढाउनका लागि सरकारले नयाँ उपायहरुको खोजी तीब्र पारेको छ । मानव जीवनलाई सहज र सुविधा सम्पन्न बनाउन कोष सहयोगी हुने भन्दै सरकारले यसको उपयोगिताबारे जनतालाई आवद्धताको अपिल समेत गरेको छ ।
सामाजिक सुरक्षा कोषको सातौं वार्षिकोत्सव मनाइरहँदा सरकारले सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रबाट १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भएको बताएको छ ।
वैदेशिक रोजगारमा जाने अथवा स्वदेशमा रहेका १२ लाख ५० हजार श्रमिकहरु औपचारिक तथा अनौपचारिक श्रमिकहरुसहित १७ लाख ९४ हजार सात सय ४० श्रमिकहरु कोषमा आवद्ध भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध वैदेशिक रोजगारीमा रहेका श्रमिकको हकमा श्रीमान–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरुले समेत स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था गरेको जनाएको छ । यस्तै, सामाजिक सुरक्षा कोषका श्रमिकले जम्मा भएको रकम पूर्वाधार विकास र उत्पादनशिल क्षेत्रमा लगानी गर्नपर्नेमा निजी क्षेत्रले जोड दिएको छ ।
निजी क्षेत्रले यस्तो जिकिर गर्दै गर्दा सरकारले भने वैदेशिक रोजगारीका श्रमिकलाई बैंकले ऋण नदिँदा समस्या निम्तिएको बताइरहेको छ ।
यता, अर्थमन्त्री विष्णु पौडेलले भने गदानमा आधारित सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको दाबी गरेका छन् ।
सरकारले सामाजिक सुरक्षा कोषलाई वृहत्तर ढंगले अघि बढाउनुपर्ने दाबी गरिरहेका बेला प्रधानमन्त्री केपी ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् ।
सरकारले भव्यतापूर्वक सामाजिक सुरक्षा दिवस मनाएपनि यसको प्रभावकारीता र श्रमिक आवद्धतामा केहि जटिलताहरु भने देखिन्छन् । सरकारले यसलाई जनमैत्री बनाउदै योगदानको कदर गर्ने विषयलाई प्रष्ट पार्न सकेमा यसको प्रभावकारीता अझैं बढ्नेमा शंका छैन ।
उसोतः कोषले विभिन्न क्षेत्रमा गरेर १ खर्ब बढिको लगानी गरिसकेको छ भने योगदानकर्तालाई ११ अर्बमाथिको दाबी भुक्तानी गरिसकेको छ ।
