News 24 Television
लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर प्रचण्डले हप्तैपिच्छे  खबर पठाउँछन् : गगन थापा

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसलाई हप्तामा एक पटक प्रधानमन्त्री बनिदिन आग्रह गर्ने गरेको बताएका छन् । बिहीवार कीर्तिपुरको उपनािर्वचनमा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले हप्तामा एक पटक काँग्रेसलाई प्रधानमन्त्री बन्न आग्रह गर्ने गरेको थापाकाे दाबी छ । उनले नेपाली काँग्रेस इमान्दारितापूर्वक वर्तमान सरकारलाई तीन वर्षसम्म अघि बढाउन चाहेको बताए । सरकार तलमाथि गर्ने नभएर आफूहरु परिणाम दिनेगरी काम गरिरहेको उनकाे भनाइ छ ।

थापाले भने, ‘हाम्रो दुश्मन कोही पनि छैन । न प्रचण्ड हाम्रो दुश्मन न त केपी ओली हाम्रो दुश्मन हो । हामी अहिले केपी ओलीसँगै सरकारमा छौँ । हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छाैँ । किनकी हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौँ । हामी परिणाम दिन चाहन्छौँ । अहिले भर्खर प्रचण्डले माथि आएर बोलेर जानुभएछ । प्रचण्डले भर्खर भनेर जानुभयो । यो यो कारणले गर्दा सरकार बदलियो । नेपाली काँग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक काँग्रेसलाई खबर पठाउनु हुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्यो । यो खबर पठाउने काम पहिला अर्कैले गर्दथ्यो । काँग्रेस संसदको सबैभन्दा ठूलो पार्टी हो अहिले पनि । उपद्रो गर्ने हो, चलखेल गर्ने हो भने सरकार तलदेखि माथि लैजाने संख्या काँग्रेससँग छ । प्रधानमन्त्री बन्न नसक्ने भएर हामीले प्रचण्ड र ओलीलाई प्रधानमन्त्री मानेका होइनौँ । यो बेलामा देशलाई स्थिर सरकार दिनेकुरा महत्वपूर्ण हो ।’ 

महामन्त्री थापाले सबै दलहरू एक भएर बेरोजगारी, गरिबीको बिरुद्धमा लड्न आवश्यक रहेको समेत बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update