News 24 Television
बीआरआईमा अलमलसँगै आरजुको चीन यात्रा  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीकै शिलशिलामा परराष्ट्रमन्त्री आरजु राणा देउवा विहीबार चीन प्रस्थान गरेकी छन् । राणा नेपालको परराष्ट्रमन्त्री भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणको रुपमा भारत जाने तयारीमा थिए । त्यही तयारीका लागि ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारत पठाए । परराष्ट्रमन्त्री भएपछि पहिलो भारतको औपचारिक भ्रमण गरेकी आरजुलाई भारतले निकै सम्मान ग¥यो । 

त्यही भ्रमणको क्रममा आरजुले भारतसँगको सम्बन्ध राम्रो बनाइन् । तर यो भ्रमणमा पनि प्रधानमन्त्री ओलीले भारतको औपचारिक निम्तो पाएनन् । प्रधानमन्त्री भएपछि आफ्नो पहिलो भ्रमण भारतकै गर्ने पटक पटकको प्रयास सफल नभएपछि ओलीले चीन भ्रमण गर्ने तयारी गरेका हुन् । चीन भ्रमणको मिति तय भइसकेपछि पनि यहि बीचमा भारत भ्रमणमा जाने हल्ला पनि चलेको थियो । तर त्यो पनि हल्लामै समीत भयो । 

चीन भ्रमणका क्रममा ओलीले बीआरआई सम्झौता गर्ने तयारी गरे पनि प्रमुख सत्ता सहयात्री दल नेपाली कांग्रेस बाधक बनिदियो । पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरुसँग पनि चीन भ्रमणबारे छलफलका गरेका ओली चीनसँग कुनै पनि ऋण सम्झौता नगर्ने निश्कर्षमा पुगेको कांग्रेस नेताहरुको बुझाइ छ । 

कांग्रेसको दबाबका कारण बीआरआईमा सम्झौता गर्ने अवस्था नबनेपछि प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धीविहिन हुने देखिएको छ । पूर्ववर्ती सरकारको पालामा कांग्रेस नेता प्रकाशशरण महत परराष्ट्रमन्त्री भएकोबेला चीनसँग बीआरआईमा सहमति भएको थियो । तर यतिबेला कांग्रेसकै यो विषयमा बाधक बनेपछि एमाले पंक्ति चिन्तित छ । 

चिनियाँ पक्षले पठाएको बीआरआईबारेको प्रस्तावमा सत्तारुढ कांग्रेस र एमालेबीच सहमति जुटिसकेको छैन । चीनका आयोजना तथा सहयोगका कार्यक्रमहरु बीआरआई अन्तरगत नै हुने चिनियाँ पक्षले प्रष्ट पारिसकेको छ । तर अनुदानको कार्यक्रम मात्रै स्वीकार गर्न कांग्रेसले दिएको दबाबले प्रधानमन्त्री ओली अझैसम्म पनि अनिर्णित छन् । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीकै शिलशिलामा विहीबार चीन प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग शुक्रबार सिचुआन प्रान्तको छेन्दु सहरमा द्विपक्षीय भेटवार्ता गर्नेछिन् । तर सत्तारुढ प्रमुख दुई दलबीच नै साझा धारणा बन्न नसक्दा परराष्ट्रमन्त्री राणाको चीन भ्रमण अर्थहिन बन्ने भएको छ । वर्षौदेखि भुराजनीतिक चेपुवा पर्दै आएको नेपालले दुवै छिमेकी मुलुकको सम्बन्ध मजबुत बनाउँदै नेपाल र नेपालीको हितमा काम गर्नु जरुरी छ । 

परराष्ट्रमन्त्री राणाको पहिलो भारत भ्रमणले जसरी सफलता पाएको थियो, त्यसरी नै राणाले चीनसँग आफ्नो कस्तो कुटनीतिक क्षमता प्रस्तुत गर्छिन्, प्रतिक्षाको विषय बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update