काठमाडौं । सरकारका मन्त्रीहरुको कामकारबाही प्रति प्रधानमन्त्री केपी शर्मा ओली झोक्किएका छन् । मन्त्रीहरुले जनअपेक्षा अनुसार डेलीभरी दिन नसकेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र सचिवहरुलाई नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।
सरकारको काम नागरिकले महशुष गर्नेगरी हुने पर्ने बताउँदै प्रधानमन्त्री ओलीले काम गर्न नसक्ने मन्त्री तथा सचिवहरुलाई पद मात्रै नओगट्न चेतावनी समेत दिएका छन् ।
बुधार प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारका मन्त्री र सचिवहरुलाई काम गर्न नसक्ने भए पदमा बसिरहन नहुने भन्दै चेतावनी दिएका छन् । सरकारका उपलब्धिहरु नागरिकका व्यवहारमा देखिनु पर्ने भन्दै समीक्षा र बैठकले मात्रै केही नहुने जिकिर पनि प्रधानमन्त्री ओलीको छ । अब मन्त्री र सचिवहरुले के गर्ने भन्ने ठोस योजना आफुलाई चाहिने पनि ओली बताएका छन् ।
ओलीले मन्त्री र सचिवहरुलाई हिम्मतिलो तरिकाले अगाडि बढ्नु पर्ने बताउँदै तल्लो वर्गसम्म कसरी लाभ दिन सकिन्छ ? बन्द भएका उद्योगहरु के गर्नेे ? हामीले चलाउन सक्दैनौँ भने चलाउन सक्नेलाई चलाउन किन नदिने ? परिणाम नदिने र प्रभावकारी नहुने अनावश्यक संरचनाहरु किन राख्ने ?
भन्दै मन्त्री तथा सचिवलाई प्रश्च गरेका छन् । प्रधानमन्त्री ओलीले परिणाम दिनेगरी काम गर्न कडा निर्देशन दिएपनि उनको क्याबिनेटका मन्त्रीहरुको शैली हेर्दा शंका गर्नु पर्ने ठाउँ प्रशस्तै छ । मन्त्रीहरु सुरुवातदेखि नै एकदमै धीमा र परिणाम दिन सक्ने जस्ता देखिएनन् ।
ओली नेतृत्वको मन्त्रीहरुको काम हेरौं
प्रधानमन्त्री ओली नेतृत्वमा नेपाली कांग्रेसबाट नेतृत्व गर्दै उपप्रधान सहित सहरी विकास मन्त्री बनेका प्रकाशमान् सिंहले मन्त्री बनेदेखि नै काम चलाउ बाहेकका त्यस्तो कुनै योजना ल्याउन नसकेका छैनन् । मन्त्री सिंहले उपत्यकाको फोहोर व्यवस्थापनका लागि न त गतिलो योजना अगाडि बढाउन सकेका छन्, न वर्षात्मै बर्सेनि डुबानमा पर्ने र गर्मीमा धुल्लाम्मे हुने सडक निर्माणमा नै चासो देखाएका छन् ।
बोली फेरेका गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकको काम गराईबाट पनि प्रधानमन्त्री ओली सन्तुष्ट नरहेको बताइन्छ । खासगरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनमा मन्त्री लेखकले तत्परता नदेखाएको प्रधानमन्त्रीको बुझाई छ । यसबाहेक अहिले भइरहेका घटनाहरुमा पनि गृहमन्त्रीको कमाण्ड फितलो देखिएको छ । पछिल्लोपटक राहदानी विभाग ह्याकरको कब्जामा पुग्दा करिब एक सातादेखि नागरिकले भोगिरहेको हैरानीले पनि गृहमन्त्रीलार्य गिज्याइरहेको छ ।
बोल्न नजान्ने सञ्चारमन्त्री र सरकारका प्रवत्ता
सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो समय दिएको अभिव्यक्ति विवादित छ । उनी कहिले उनले प्रहरी प्रमुखको जिब्रो थुत्नु पर्ने त कहिले काठमाडौं महानगरपालिकाको मेयरलाई त्यो को हो भन्ने खालका अभिव्यक्ति दिदै आफुलाई मात्रै होइन, सरकारलाई नै बदनाम बनाइरहेका छन् । अहिले सञ्चारमन्त्रीको उपलव्धि के भन्दा त्यही जथाभावी बोल्ने भन्नु पर्ने अवस्था छ ।
नागरिक ठगिदाँ पनि रमिते बनिरहेका उड्डयन मन्त्री
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री प्रसाद पाण्डेको प्रस्तुति पनि सम्झनालायक छैन । कांग्रेसबाट मन्त्री बनेका पाण्डेलाई उनकै पार्टीका सांसद राजेन्द्र बजगाईंले नै करोडौं भ्रष्टाचार गरेको आरोप लगाएका थिए । यता अन्तराष्ट्रिय उडानका टीकटहरु डब्बलभन्दा बढिले मूल्य वृद्धि हुँदा पनि मन्त्री पाण्डे रमिते मात्रै बने । हवाई भाडा प्रकरणले पनि मन्त्रीको पाण्डेको साख ह्वात्तै गिरेको छ ।
सहकारी मन्त्रीको आफ्नै पारा
सहकारी बचतकर्ताको अरबौं रकम झ्वाम पारेका सहकारी ठगहरुलाई कार्वाहीका निम्ती पहल गर्ने र जति सक्दो बचत रकम फिर्ता गर्न लाग्नु पर्ने मन्त्री हुन् सहकारी मन्त्री बलराम अधिकारी । तर उनी मन्त्री हुन् कि होइनन् धेरैलाई थाहै छैन । नागरिकको अर्बौ रुपैयाँ हिनामिना भइरहँदा आवश्यक पहल थालेका भए मन्त्री अधिकारीको हाइहाई हुन्थ्यो । तर जे काम प्राथमिकताका साथ गर्नुपथ्र्यो त्यही नगरेपछि मन्त्री अधिकारी निरीह देखिएका छन् ।
व्यवसायीका प्यारा मन्त्री
धेरैपटक मन्त्री बन्नेमा कीर्तिमान नै बनाइसकेका श्रममन्त्री शरदसिंह भण्डारी मेनपावर व्यवसायी पोस्ने मन्त्रीका रुपमा परिचित छन् । अहिलेसम्म १३ पटक मन्त्री बनिसकेकाले उनलाई पटके मन्त्री पनि भनिन्छ । आफु मन्त्री रहेकै बेला दक्षिण कोरियामा सीपयुक्त कामदार पठाउने जिम्मेवारी मेनपावर कम्पनीलाई दिएर आफैलाई आलोचनाको खाडलमा हाल्ने काम उनले गरेका छन् ।
परिवर्तनको आशा न्यून
माथि भनिएका केही मन्त्रीहरु उद्धाहरण मात्रै हुन् । प्रधानमन्त्री ओलीले जति चिच्याएर परिणाम खोजेपनि हालका मन्त्रीबाट उनले सोचेजस्तो परिणाम आउने भनेको कागती रोपेर सुन्तला फलाउन खोज्नु जस्तो मात्रै हो । हालका मन्त्रीहरुमध्ये सस्तो लोकप्रियता बढि तर थोरै सुधारका प्रयासहरु गरेर स्वास्थ्यमन्त्री प्रदिप पौडेलले भने आफुलाई केही सक्रिय बनाएका छन् । ओलीकै गृह जिल्ला झापाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका देवेन्द्र दाहाल त्यस्ता मन्त्रीह हुन् जसलाई जनताले सडकमा पाइरहेकाके सास्तीको खासै चासो छैन ।
प्रधानमन्त्री ओली साच्चिकै परिणाममुखी काम गर्न चाहन्छन् भने उनले काम गर्न नसक्क्ने मन्त्रीहरुलाई तुरुन्तै पदच्यूत गर्नैपर्छ, नत्र शूरुमै केही गर्लान् भन्ने खासै आशा नगरिएका यी मन्त्रीहरुका कारण जनतामा छाएको निराशा झन बढ्ने देखिन्छ ।
