काठमाडौं । तत्कालिन दश वर्षे सशस्त्र जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड यतिबेला स्थानीय तहको उपनिर्वाचनको शिलशिलामा आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउन देश दौडाहा गरिरहेका छन् । इतिहासकै उत्कृष्ट ब्यवस्था भनी प्रचण्डले दाबी गरिरहँदा उनीसँगैका युद्धका सारथि मोहन वैद्य भने वर्तमान राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्नेमा जोड दिइरहेका छन् ।
दशवर्षे सशस्त्र संघर्ष हुँदै २०६३ सालमा शान्ति प्रक्रिया हुँदै सत्ता राजनीतिमा उदाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री बनिसके ।
२०६४ सालमा देशकै ठूलो पार्टीको हैसियतमा प्रधानमन्त्री बनेका प्रचण्ड पछिल्लो पटक कमजोर अवस्थामा छन् । पार्टीको शाख पनि क्रमशः गिर्दै गएको छ । तर पनि संसदको तेस्रो दलको हैसियतमा रहेको माओवादी सत्ता राजनीतिकै वरिपरि घुमिरहेको छ । संसदको तेस्रो दलको संख्यालाई जादुमयी भन्दै आएका प्रचण्ड ८४ को निर्वाचन अघि नै सत्ताको दाउमा देखिन्छन् ।
दुई ठूला दल कांग्रेस र एमालेबीचको सहकार्य लामो समय नजाने र फेरि पनि त्यो अवसर आफूले पाउने उनले विभिन्न ठाउँमा अभिब्यक्ति नै दिँदै आएका छन् । सत्ता गुमेको रापलाई उनी चुनावी एजेण्डा बनाउने रणनीतिमै छन् ।
तत्कालिन सशस्त्र संघर्षबाट शान्ति प्रक्रिया हुँदै संसदीय ब्यवस्थामा रमाउँदै आएका प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफू अडिग बताइरहँदा उनकै तत्कालिन सहयात्री मोहन वैद्य भने वर्तमान ब्यवस्थाकै खिलापमा उभिरहेका छन् ।
मुलुकको अस्थिर सरकार, मुलधारका भनिएका राजनीति दलका नेताहरुको चरित्र तथा मुलुकको बेथिति र विसंगतिका कारण आम नागरिकमा पनि निराशा पैदा भएको छ । जसका कारण क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकुल बनिरहेको बताएका छन् ।
मुलुकमा भूराजनीतिक चेपुवामा पर्दै गएको भन्दै वैद्यले साम्राज्यवादी र प्रतिक्रियावादीहरुले मुुलुकलाई संकटको डिलमा पुर्याएको बताइरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचनको माध्यामबाटै जनमत बटुलेर आगामी ८४ सालको निर्वाचनमै ठूलो शक्ति बनाउने रणनीतिमा छन् ।
पछिल्लो पटक सरकारको नेतृत्व गरिहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको पुनः छानबिन अगाडि बढाएकै कारण सत्ताच्यूत हुनुपरेको भन्दै प्रचण्डले जनता रिझाउने तयारीमा छन् । तर एउटै स्कुलिङबाट आएका वैद्यहरु भने वर्तमान ब्यवस्थाकै खिलापमा जाने गरी आगामी बाटो तय गर्न लागिरहेका छन् ।
उनी विभिन्न साना समूहहरुसँगको एकतापछि विहीबारदेखि एकता महाधिवेशनबाट पार्टीको आगामी कार्यदिशा तय गर्न लागिपरेका छन् ।
