News 24 Television
भैरहवा विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने : मुख्यमन्त्री आचार्य

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनको लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।

बिहीवार लुम्बीनीमा भएको ‘लुम्बीनीमा लगानी : अवसर र चुनौती’ विषय कार्यशाला गोष्टीमा  बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनको लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताएका हुन् । उनले केही सरकारी कर्मचारीले सरकारको नीतिभन्दा बाहिर गएर विमानस्थल सञ्चालन गर्न नसकिने भने पनि सरकार विमानस्थल सञ्चालनमा पछाडि बताए ।

केन्द्र सरकारले श्रमिकको स्वास्थ्य परीक्षण, भिषा र श्रम स्वीकृत लुम्बीनीबाट गर्ने वातावरण तत्काल मिलाउन जरुरी भन्दै उनले प्रदेश सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिबद्ध रहेको पनि बताए । प्रदेश सरकारले स्वास्थ्य परीक्षण, श्रम स्वीकृति र भिसा स्वीकृतिका लागि सम्बन्धित निकायहरुमा पहल गर्ने प्रतिबद्धता जनाए । उनले लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको पनि बताए।

मुख्यमन्त्री आचार्यले भने, ‘सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिवद्ध छ । नेपाल सरकारले विमानस्थल सञ्चालनको लागि केही काम तत्काल अगाडि बढाउन जरुरी छ । सरकारले भैरहवाबाट स्वास्थ्य परिक्षण तत्काल अगाडि बढाउनुपर्छ । श्रम स्वीकृत लुम्बिनीबाट गर्न जरुरी छ । भिषा लगाउने काम पनि लुम्बिनीबाट गर्न जरुरी छ । तीन काम लुम्बीनीबाट सञ्चालन हुने हो भने यात्रुहरुको कमी हुँदैन । नेपाल सरकारले तत्काल गर्नुपर्छ । त्यसको लागि सम्बन्धित निकायहरुमा पहल प्रदेश सरकारले गर्ने प्रतिवद्धता गर्दछु । लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार तयार छ । निजी क्षेत्रलाई लगानी सहजिकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर छ । प्रदेश सरकारले लगानीको वातावरण बनाउँछ । लगानीको लागि नीतिगत र कानूनी रुपमा समस्या परेको छ भने कुन कानून संशोधन गर्दा लगानीमैत्री हुनसक्छ । हामी कानून संशोधन गर्न तयार छौं । कानूनहरु बाधक छन् भने संशोधन गर्न तयार छौं । तर लगानी गर्ने उद्योगी व्यवसायीहरु दिल खोलेर लगानी गर्न आउन आग्रह गर्दछु । पछिल्लो समय उद्योगी व्यवसायीहरु उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिन्छ । लगानी शेयर बजारमा केन्द्रित हुन थालेको छ यसले देश विकास हुन सक्दैन ।’

उनले लुम्बीनी प्रदेशमा लगानी गर्ने उद्योगी व्यवसायीहरु दिल खोलेर लगानी गर्न आग्रह गरे । उनले पछिल्लो समय उद्योगी व्यवसायीहरु उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिएको भन्दै शेयर बजारमा केन्द्रित लगानीले देश विकास हुन नसक्ने दाबी गरे । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update