News 24 Television
भैरहवा विमानस्थलबारे फेरि रडाको, महानिर्देशकलाई यस्तो चेतावनी !

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय विवादमा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिएको अभिव्यक्तिका कारण विमानस्थल सञ्चालनमा फेरि तनाव सिर्जना हुने त होइन भन्ने चिन्ता बढेको छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले विभिन्न विदेशी विमान कम्पनीहरुले उडान भरिरहेका छन् । नियमित उडान अवतरण हुन थालेपछि भैरहवामा खुशीयाली नै छाएको छ । तर, यात्रुको संख्या भने उल्लेख्य रुपमा बढ्न सकेको छैन् । 

संघीयताको मर्मअनुसार केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्नेमा असहज स्थिति सिर्जना भइरहेकाले पनि भैरहवा विमानस्थलबाट यात्रुको चाप बढ्न सकेको देखिन्न । तर, अत्यावश्यक सेवा र विदेश यात्राका निम्ति आवश्यक सबै कामहरु भैरहवाबाटै हुन सकेमा भने उडान अवतरण दिगो बन्नेमा शंका छैन् । यद्दपी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने विवादास्पद अभिव्यक्ति दिएका छन् । 

विमानस्थल चल्न नसक्ने भन्दै उनले अहिले विमान कम्पनीहरुलाई भैरहवामा जबरजस्ती पठाएको र त्यो कसरी भयो भन्ने राम्ररी थाहा भएको जिकिर गरे । 

अधिकारीले यसरी गैरजिम्मेवारपूर्वक अभिव्यक्ति दिए पनि उनी निसन्देह आफ्नो भनाई राखिराख्ने व्यक्तित्व भएका व्यक्ति हुन् । महानिर्देशकको यस्तो अभिव्यक्तिप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भने आक्रोश पोखेका छन् । 

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्ने र यो राष्ट्रको गौरवको आयोजना भएपनि कर्मचारी लेभलको मान्छेले निराशा छर्ने भन्दै उनले आक्रोश पोखे । मुख्यमन्त्री अधिकारीले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सबै किसिमका काम गर्न सरकार तयार रहेको समेत बताए । 

सरकारले विमानस्थलको संख्या थप्नेक्रमलाई निरन्तरता दिनेमै संकेत गरिरहेको छ । सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने बताइरहेको छ भने पोखरा र भैरहवामा निर्मित विमानस्थल सञ्चालनका समस्या पनि उस्तै देखिन्छन् । 

अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर मर्मत गर्नेक्रम चलिरहेको छ । काठमाडौंमा हवाई चाप अत्यधिक हुने गरेको छ । तर, सरकारले राष्ट्रिय गौरवका आयोजना भन्दै निर्माण गरेका दुई विमानस्थलले विजनेस नपाउदा देखिएको आक्रोशलाई सरकारी कर्मचारीले नै निराशा पोखेपछि यो विषय गम्भीर बन्ने देखिन्छ । 

विवाद र प्रदीप अधिकारी

तत्कालीन पर्यटनमन्त्री सुदन किरातिले महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका थिए । तर, उनले स्पष्टीकरण नै नदिइ सरकारी निकायलाई नै अटेरी रवैया देखाएका थिए । 

मन्त्री किरातिले उड्डयन सुरक्षामा लापरबाही गरेको, प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्टाउने सरकारको नीतिलाई चुनौती दिएको, पोखरा विमानस्थलमा परीक्षण उडान गराएर प्रतिवेदन प्राप्त नगरी एअरबस ३२० विमानलाई उडान गर्न दिएको, त्यहाँको धावनमार्गको उचाइ कम हुँदा पूर्वतर्फको छिनेडाँडाको उचाइ १० मिटर बढी काट्नुपरेको भन्ने लगायतका विषयमा मन्त्रीको निर्णयानुसार अधिकारीसँग गएको असार ११ गते जबाफ मागिएको थियो । तर, जवाफ दिनुको सट्टा उनी सेटलमेन्ट गर्नतर्फ लागेका थिए, भने आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको भन्दै मन्त्रीलाई जवाफ नदिने आशयको व्यहोरासहितको जवाफ दिएका थिए । 

कारबाहीको मुखैमा पुगेका उनले राजनीतिक शक्ति केन्द्रको सहयोगमा पद जोगाएका थिए । यसरी तालुकदार मन्त्रीलाई नै हैरान पार्ने गरेका अधिकारीले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबारे दिएको सरकारी निर्णयविरुद्धको अभिव्यक्ति कारबाहीको अस्त्र बन्ला ? धेरैले चासोका साथ यो विषयलाई हेरेका छन् । 

उसोतः ११ औं तहमा हुँदा नै १२ औं तहका ६ जनालाई पछि पार्दै उनी महानिर्देशक बनेका हुन् । तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले उनलाई नियुक्ति दिलाएका हुन् । त्यो बेला माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगाएतको सरकार थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update