काठमाडौं । सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रवार करिब ६ घण्टा बयान लिइएको छ । कास्की प्रहरीको हिरासतमा रहेको लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा बयान लिन बिहिवार काठमाडौँ ल्याइएको हो ।
गत कात्तिक २ गते काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट सहकारी ठगी आरोपमा पक्राउ गरी काँस्की पु¥याएका रास्वपा सभापति रवि लामिछाने थप बयानका लागि अहिले काठमाडौँमा छन् ।
बिहिवार काठमाडौँ ल्याइएका लामिछानेलाई शुक्रवार करिब ६ घन्टासम्म काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको छ । कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपलनमा काठमाडौँ जिल्ला अदालतका पक्राउ पुर्जी जारी भएपछि बयानका लागि काठमाडौँ ल्याइएका लामिछानेलाई ३ दिनसम्म यही राखिनेछ ।
रविमाथि अनुसन्धान नै अनुसन्धान
सहकारी ठगीबाहेक लामिछानेमाथि काँस्की प्रहरीले संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान गरिरहेको छ । काठमाडौँ ल्याउनु अघि उनलाई बयानका लागि कात्तिक २७ गते रुपन्देही पनि लगिएको थियो । रुपन्देहीमा बयान सकिएपछि रविलाई काठमाडौँ ल्याइएको हो ।
चितवनबाट समेत पक्राउ पुर्जी जारी भएका कारण उनलाई काठमाडौँको बयान सकिएपछि चितवन पनि लैजाने प्रहरीको तयारी छ । चितवनको सहारा सहकारीबाट पनि गोर्खा मिडिया नेटवर्कमा रकम लगिएको संसदीय विशेष छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।
रविविरुद्ध मंसिर ७ गते चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । प्रहरीले उनलाई काठमाडौँको बयानपछि कास्की लगेर पूनः चितवन लैजाने तयारी गरेको छ ।
पर्सामा पनि अनुसन्धान जारी
पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको पनि बचत रकम गोर्खा मिडिया नेटवर्कबाट दुरुपयोग भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख थियो । अहिले यसै बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साले पनि अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले न्यूज २४ सँगको कुराकानीमा केही प्रमाण जुटाउन प्रहरी लागि परेको भन्दै केही दिनमै अदालतमा आरोपितहरु विरुद्ध पक्राउ पुर्जीका लागि अदालत जाने बताए ।
पुस पहिलो हप्ताभित्रै मुद्दा चलाउनु पर्ने
रवि लामिछानेमाथि सहकारी ठगि, संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा अनुसन्धान गरिरहेको प्रहरीले पुस पहिलो हप्ता भित्र अनुसन्धान सकाई मुद्दा दर्ता गरिसक्नुपर्छ । रवि लामिछाने कार्तिक २ गते पक्राउ परेपनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक छविलाल जोशी बञ्जाडे असोज ६ गते नै पक्राउ परेका थिए ।
संगठित अपराधमा ६० दिन र सम्पत्ति सुद्धिकरणमा ९० दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न सक्छ । रवि अघि नै जोशी असोज ६ गते नै पक्राउ परेकाले यो अनुसन्धानमा जोशी पक्राउ परेकै मितिदेखि गणना हुने हुँदा सबै अनुसन्धान सकाएर प्रहरीले पुस पहिलो हप्ता भित्रै मुद्दा फाइल गर्नुपर्छ ।
कास्कीबाट छुटेपनि छुट्दैनन् लामिछाने
प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता भएपछि थुनछेक बहस हुन्छ । थुनछेक बहसमा लामिछानेलाई जेल बाहिरै रहेर मुद्दा लड्न दिने कि जेलभित्रै राख्ने भन्ने विषयमा केन्द्रित हुन्छ ।
न्यायाधीशले धरौटीमा छाड्ने आदेश गरे उनी त्यहाँबाट धरौटिमा छुट्न सक्छन् तर पनि लामिछाने भने हिरासत मुक्त हुन भने गाह्रो छ । उनलाई कास्कीको सरकारी वकिलको कार्यालयले रूपन्देहीलाई अनुसन्धानका लागि भनेर पठाउन सक्छ । त्यपछि रुपन्देहीमा सुप्रिम सहकारीको ठगीको विषयमा थुनछेक बहस हुन्छ ।
त्यहाँबाट पनि छोडिए उनी काँस्कीबाट रुपन्देही आए जस्तै गरि अनुसन्धान भै रहेका र बयानका लागि पुगेका अन्य जिल्लाहरुमा पनि रविलाई लगिनेछ । जहाँ–जहाँ बयान हुन्छ, त्यहाँ–त्यहाँ थुनछेक बहस हुने कानूनका जानाकारहरु बताउँछन् ।
लामिछानेका वकिल के भन्छन् ?
हिरासतमा रहेका लामिछानेकातर्फमा बहस गरिरहेका बरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे भने सरकारले प्रहरी लगाएर लामिछाने माथि प्रतिसोध साँधिरहेको बताउँदै अदालतबाट लामिछानेले न्याय पाउने दाबी गरे ।
काँस्की प्रहरीले संगठित अपराध, सहकारी ठगी र सम्पत्ति सुद्धिकरणमा अनुसन्धान गरिरहेको र अन्य जिल्ला सहकारी ठगिमा अनुसन्धान गरिरहेको बताउँदै लामिछाने काँस्कीबाट धरौटिमा रिहाई भएमा अन्य जिल्लामा हिरासतमा राखिरहन नपर्ने अधिवक्ता घिमिरेको तर्क छ ।
सहकारी प्रकरणमा हिरासतमा रहेका लामिछाने माथिको अनुसन्धान मसिनो गरी भै रहेको छ भने उनी आफुमाथि लागेका आरोपहरुमा निर्दोष रहेको दाबी गर्दै आइरहेका छन् ।
