News 24 Television
सत्ता उलटफेर हुनेबारे प्रचण्ड–गगन जुहारी

काठमाडौं । सरकारबाट बाहिरिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्री बन्न हप्तामा एक पटक आग्रह गर्ने गरेको कांग्रेस महामन्त्री गगन थापाले दाबी गरेका थिए । तर प्रचण्डले भने सरकार परिवर्तनका लागि कांग्रेससँग कुनै पहल नगरेको बताएका छन् । 

दुई दिन अगाडि कीर्तिपुरको उपनिर्वाचन लक्षित कांग्रेसको सभामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई प्रधानमन्त्री बन्न हप्तामा एक पटक आग्रह गर्ने गरेको बताएका थिए । 

थापाले कांग्रेसको दुश्मन प्रचण्ड–ओली दुवै नभएको भन्दै अहिले ओलीसँगै काग्रेस सरकारमा भएको र इमान्दारितापूर्वक तीन बर्ष संगै लैजाने र स्थिर सरकार दिनेकुरा महत्वपूर्ण रहेको बताएका थिए । 

कांग्रेस महामन्त्री समेत रहेका थापाले प्रचण्ड सरकार ढलाउने खेलमा लागेको पनि आरोप लगाइरहेका छन् । सत्ता भन्दा बाहिर माओवादी बस्न नसक्ने उनको टिप्पणी छ । तर माओवादी अध्यक्ष प्रचण्डले भने आफुले सरकार परिर्वतनका लागि कुनै कुरा नगरेको दाबी गर्छन् । कांग्रेसका महामन्त्री गगन थापाले सफेद झुट बोलेको प्रचण्डको भनाई छ । 

माओवादी अध्यक्ष दाहालले सरकार ढाल्ने खेलमा आफु नलागेको बताए पनि केहि माओवादी नेताहरुले भने कांग्रेस–एमाले गठबन्धनको सरकार लामो समय नजाने बताउने गरेका छन् । केहि समय अगाडि माओवादी केन्द्रका प्रवक्ता समेत रहेको अग्नि साप्कोटाले पनि सरकार लामो समय नजाने बताएका थिए । 

गगन थापाले माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसले प्रधानमन्त्री खाइदिनु पर्याे भन्दै हप्ता हप्तामा सुचना पठाउने गरेको भनी चुनावी सभामा दिएको अभिब्यक्तिले उनी रुष्ट छन् । थापाको अभिब्यक्तिको प्रचण्डले खण्डन मात्र गरेका छैनन्, थापामाथि निम्छरो टिप्पणी गरेका छन् । 

प्रचण्डले थापाको अभिब्यक्तिलाई झुट बताए पनि उनी आफैले पनि केहि अघि मात्रै आफूहरुसँग भएको ३२ सिट जादुमयी सिट रहेको भन्दै सरकार परिवर्तन हुन सक्ने संकेत गरेका थिए । 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update